Tuesday, August 19, 2014

नलेखिएका दोर्जी

कुम्भराज राई
‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा, गम्केर बजाउ खैँजडी झम्केर नाच मुजुर...’
जनकवि केशरी धर्मराज थापाले गाएको यो गीत सुन्दा छाती धक्क नफुल्ने नेपाली कमै होलान् । नेपाल र नेपालीको पहिचान मात्रै नभएर संसारकै गौरव सगरमाथा विश्वको शीर पनि हो । अझै यो शीरमा चढ्न सफल पहिलो आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारी त इतिहास नै हुन् । तर दुःखको कुरा हामीले गर्व गरेजति तथ्य छैन इतिहास । जतिबेला सगरमाथा आरोहण गरेर नेपाल र नेपालीलाई खुशी बनाएका थिए । तिनै पहिलो आरोही तेन्जिङले पछि भारतीय नागरिकता लिए । आफूलाई भारतीय भने । अहिले उनका सन्तान सबैले आफूलाई भारतीय नागरिक नै भन्न रुचाउँछन् । 


दोश्रो नेपाली आरोही नवाङ गोम्बु र आङकामी शेर्पा पनि तेन्जिङकै बाटो हिँडे । कुन बाध्यता या रहरले उनीहरु विदेशी नागरिक बने त्यो उनीहरु नै जानुन् तर चौथो आरोही फू दोर्जी शेर्पा भने नेपाली भएरै सगरमाथा चढे अनि नेपाली भएरै मरे । जसको इतिहास अलिखित छ । न उनको नाममा कुनै गीत नै गाइयो ।

खुम्जुङ १, सोलुखुम्बुका फूदोर्जीले सन् १९६५ मा भारतीय सेनाको आरोहण टोलीबाटै पहिलो पटक आरोहण गरेका थिए । भारतीय सेनाका लेफ्टिनेन्ट कमा.एम.एस.कोहली को नेतृत्वमा २१ सफल आरोही मध्येका एक हुन फूदोर्जी । जसलाई पटकपटक भारतले नागरिकता सहित सरकारी सुविधा दिने प्रलोभन दियो । भारतको तत्कालीन प्रतिष्ठित पद्वी ‘अर्जुन’ पद्कबाट सम्मान पनि गरिए । तर उनले आफूलाई नेपाली रहनुमै गर्व गरे ।
राजा महेन्द्रबाट पदक ग्रहण गर्दै फू दोर्जी 

उनलाई तत्कालीन राष्ट्रपति सर्भेपाल्ली राधाकृष्ण र प्रधानमन्त्री लालबहादुर शास्त्रीले सम्मान गरेका थिए । नेपालको तत्कालीन श्री ५ को  सरकार राजा महेन्द्रले उनलाई ‘नेपालश्री’ पद्कले सम्मान ग¥यो । उनी पछि १९६९ मा जापानी आरोहण दलसँग पुनः सगरमाथा आरोहण गर्ने क्रममा दिवंगत भए । उनका एक छोरा मिङमा दोर्जी हाल अमेरिकामा छन् । छोरी दावा फुटी सोलुखुम्बुकै लुक्लामा होटल व्यवसाय संचालन गरिरहेकी छन् ।

‘हामी सानै छँदा बुवा बित्नुभयो ।’ दावा फुटी सम्झन्छिन्, ‘हामीले थाहा पाए अनुसार इन्डियाले बुवालाई धेरैपटक आफ्नो नागरिक बनाउने कोशिस गर्दा पनि बन्नुभएन । म नेपाली नै भएर जन्मिएँ नेपाली नै भएर मर्छु भन्नुहुन्थ्यो ।’ तरपनि भारत सरकारले दिलाईदिएको छात्रवृत्तिमा दावाफुटीले सेन्ट मेरिज स्कूलहुँदै स्नातक तह सम्मको अध्ययन गरिन् । अझै पनि भारत सरकारले विभिन्न कार्यक्रममा फू दोर्जीलाई सम्झेर उनका परिवारका सदस्य बोलाई बेलाबेलामा सम्मान गर्ने गर्छन् । तर नेपाल सरकारले फू दोर्जीलाई बिर्सिएको दावा फुटीको गुनासो छ ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष आङ छिरिङ शेर्पाका अनुसार हालसम्म कति आरोहीले कतिपटक सगरमाथा आरोहण गरे यकिन तथ्यांक छैन । तै पनि कम्तिमा सगरमाथा आरोहीको संख्या ४ हजार ४ सय भन्दा माथी छ । जसमध्ये ५० प्रतिशत नेपाली र त्यसमा पनि शेर्पा छन् । आरोहण भने ७ हजार पटक भन्दा बढी भईसकेको छ । एउटै आरोही पटकपटक चढ्ने गरेकोले पनि आरोही कम आरोहण संख्या बढी देखिएको हो ।
‘आफू चढेको दाबी गर्ने धेरै छन् ।’ आङ छिरिङ भन्छन्, ‘तर यसको पुष्ट्याईँ गर्ने आधार थोरै भएकोले यकिन गर्न सकिने अवस्था छैन ।’ उनले त्यतिबेला नेपाली नागरिकताको आवश्यकता नहुने भएकोले पनि तेन्जिङ, नवाङ गोम्बु र कामी लगायतले भारतीय नागरिकता लिएर उतै बसेको हुनसक्ने अनुमान गरे । ‘तर जहा“सम्म फू दोर्जीको कुरा छ, उनी नेपाली नागरिक बनेरै मर्ने पहिलो आरोही हुन् भन्नेमा शंका छैन ।’ उनले थपे ।

यो वास्तविकतालाई बुझेर फेरी जनकवि केशरीले तेन्जिङको नाममा गाएको गीतको एउटा यो अन्तरा चै फू दोर्जीको नाममा सुम्पने पो हो कि !
‘डाँफे चरी आएर पंख खोली नाचे हुन्, नेपाल छोरो पाएर गौरीशंकर हाँसे हुन्
उँभो चुली कैलाश पानी पिउनै पाएन, स्वर्गको शीर छुनलाई हार कत्ति खाएन
धन्य वीर बहादुर अवतार तैँले लिएको, नामको छोरो दुवै दिन बाँच्न जन्म लिएको’

कान्तिपुर

No comments: