खालिङ केन्द्रद्धारा २ करोड बराबरको एकीकृत बस्ती योजना कार्यन्वयन
केन्द्रले चालु आर्थिक वर्ष २०७०÷०७१ भित्र जग्गा प्रत्येक शेयर सदस्य व्यक्तिहरुको नाममा नामसारी गरिसक्ने लक्ष्य लिएको छ ।
काठमाडौं । समग्र किरात खालिङहरुको छाता संगठन किरात खालिङ राई उत्थान संघ
केन्द्रीय कार्यसमितिले एकीकृत बस्ती योजना कार्यन्वयनमा ल्याएको छ ।
केन्द्रले पहिलो चरणमा काठमाडौं जिल्लाको साङ्ला गाविसमा अवस्थित साढे २२
रोपनी जग्गा खरिद गरी योजना कार्यन्वयनमा ल्याएको हो । उक्त योजना दुई करोड
रुपैयाँ भन्दा बढि लागतमा सम्पन्न हुने अनुमान गरिएको केन्द्रीय सचिवालयले
जनाएको छ । सचिवालयकाअनुसार आफ्नो जातीय पहिचान कायम गर्न, धार्मिक तथा सांस्कृतिक पक्षको संरक्षण र संवद्र्धन गर्नका लागि यस्तो अवधारणा अघि सारिएको हो । प्राप्त जानकारीअनुसार उक्त जग्गा खरिद गर्नका लागि अहिलेसम्म ५७ जनाले शेयर हालेका छन् । शेयर सदस्यहरुले प्रतिव्यक्ति ४ लाख रुपैयाँको दरले रकम संकलन गरेका छन् । सोही रकमभित्र प्रत्येक शेयर सदस्यहरुले एउटा घडेरी, आवश्यक पार्किङ, बाटोको उपयोग गर्न पाउने र बाकी रकम स्वेच्छिक सहयोगको रुपमा रहने व्यवस्था गरिएको छ । केन्द्रले चालु आर्थिक वर्ष २०७०÷०७१ भित्र जग्गा प्रत्येक शेयर सदस्य व्यक्तिहरुको नाममा नामसारी गरिसक्ने लक्ष्य लिएको छ ।
एकीकृत वस्तीको अवधारणाअन्र्तगत सबै खालिङहरुलाई समेट्न योजना विस्तारको तयारी समेत भइरहेको बताइएको छ । यस योजना कार्यन्वयनको लागि विभिन्न चरणमा छलफल बहस कार्यक्रम आयोजना गरिएको थियो । खालिङ वस्तीको बीचमा सार्वजनिक स्थलको रुपमा राखिने र खालिङ संस्थाको केन्द्रीय कार्यलय हुनेछ । उक्त परम्परागत शैलीमा तर व्यवस्थित रुपमा बस्ती बसाल्ने र पछि पर्यटकलाई आकर्षित गर्न होमस्टे कार्यक्रमसमेत सञ्चालन गर्ने योजनामा समेटिएको छ ।
आर्थिक प्रतिवेदन सार्वजनिक
यसैबीच केन्द्रअन्तर्गतको निर्माण समितिले शनिबार राजधानीमा एक समारोहको आयोजना गरी एकीकृत बस्ती योजनाको आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा केन्द्रीय अध्यक्ष रामरतन खालिङ तथा अतिथिमा महासचिव अर्जुन खालिङ, सल्लाकार रामप्रसाद खालिङ, सागर चन्द्र राई, पूर्वअध्यक्ष विषण खालिङ, जिमी राई उत्थान समाज सोलुका कोषाध्यक्ष बखतबहादुर खालिङ, सोलुखुम्बु काठमाडौं पत्रकार समाजका अध्यक्ष प्रकाश खालिङ, चित्रकार अर्जुन खालिङ, बुद्धिजिवी अगमकुमार खालिङ, संगीतकार पविधन खालिङलगायतको उपस्थिति रहेको थियो ।
निर्माण समितिका अध्यक्ष लाखबीर खालिङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कोषाध्यक्ष सौमान खालिङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सहसचिव उदास खालिङले योजनाको बारेमा तयार पारिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रम निर्माण समितिका सचिव भुवानसिंह खालिङले सञ्चालन गर्नुभएको थियो ।