Thursday, September 4, 2014

खालिङ विद्यार्थीका लागि रु. एक लाख ३० हजारको छात्राबृत्ति

शिखर पोष्ट रिपोर्टर
काठमाडौं, भदौ १९ । किरात खालिङ राई उत्थान संघअन्तर्गतको विदेशशाखा युएई शाखाले एसएलसी परिक्षामा सर्वोत्कृष्ठ अंक प्राप्त गर्ने खालिङ विद्यार्थीमध्येबाट एक जना छात्र र एक जना छात्रा लाई ६५÷६५ हजारको दरले छात्राबृत्ति प्रदान गर्ने भएको छ । उक्त छात्राबृत्ति सामुदायिक विद्यालयबाट एसएलसीमा सहभागि भई उत्कृष्ठ अङ्क प्राप्त गर्ने छात्र र छात्रा खालिङ विद्यार्थीको लागि घोषणा गरिएको हो ।

माध्यामिक तहसम्मका विद्यार्थीहरुमा शैक्षिक क्षेत्रप्रति हौसला, प्रेरणा र मनोबल बढाउनुका साथै उच्च शिक्षामा सहयोग पुगोस भन्ने हेतुले उक्त छात्राबृत्तिको स्थापना गरिएको किरात खालिङ राई उत्थान युएई शाखाले केन्द्रीय कार्यसमितिलाई जानकारी गराएको छ । युएई शाखाका अध्यक्ष अम्बर खालिङ र सचिव शुक्रराज खालिङद्वारा हस्ताक्षरित जानकारी पत्रमा यो छात्राबृत्ति आउँदा शैक्षिक सत्रमा लागु हुने उल्लेख गरिएको छ ।
यो छात्राबृत्तिले दुरदराजमा रहेका खालिङ विद्यार्थीको पठनपाठन र शैक्षिक स्तर उकासोस् भन्ने आफुहरुको चाहाना रहेको युएई शाखाका सचिव शुक्रराज खालिङले बताउनुभयो । छात्राबृत्ति प्राप्त गर्ने छात्रा÷छात्र दुवैजनालाई विद्यार्थी खालिङ भित्रकै हुनुपर्नेछ, दुवै जना विद्यार्थी सरकारी वा सामुदायिक विद्यालयबाट एसएलसी परिक्षामा सहभागि भएको हुनुपर्ने र परिक्षामा प्राप्त अंक बराबर भएमा सोही तोकिएको रकमलाई विभाजन गरी प्रदान गरिने छ । 

युएई शाखाको यो कार्यलाई किरात खालिङ राई उत्थान संघ केन्द्रीय कार्यसमितिले स्वागतयोग्य रहेको ठहर गर्दै यस्तो कदम चालेकोमा दुवई शाखाप्रति विशेष धन्यावाद ज्ञापन गरेको छ । यो छात्राबृत्ति केन्द्रीय कार्यसमितिको रोहबरमा प्रदान गरिने छ । संघले यो छात्राबृत्ति वितरण गर्नको लागि देशभर व्यापक रुपमा प्रचार प्रसार गर्ने निर्णयसमेत गरेको छ ।

केन्द्रीय कार्यसमितिले पनि छुट्टै शैक्षिक अक्षयकोष स्थापना गरेको छ । संघले उक्त अक्षयकोषबाट हरेक वर्ष एसएलसीमा उत्कृष्ठ अङ्क ल्याई उतीर्ण खालिङ विद्यार्थीहरुलाई छात्राबृत्ति प्रदान गर्दै आएको थियो ।

No comments: