काठमाडौं, भदौ २४ । आन्तरिक उडान भर्ने वायुसेवा कम्पनीहरूले दसै र तिहारका लागि ३५ प्रतिशत टिकट बुकिङ गरिसकेका छन् । हिन्दूहरूको मुख्य पर्व दसैंमा काठमाडौंबाट बाहिर जाने यात्रुको चाप बढी हुने भएकाले टिकट शतप्रतिशत बुकिङ हुन्छन् । तर, यो वर्ष बन्द–हड्तालजस्ता कार्यक्रम नभएकाले र टिकट शुल्क बढेकाले अघिल्ला वर्षजस्तो बुकिङ नभएको विमान कम्पनीहरूले बताएका छन् ।
हाल दसैंकेन्द्रित टिकटतर्फ यती र बुद्ध एयरले सुगम क्षेत्रका लागि तथा सीता, तारा, गोमा एयरले दुर्गम क्षेत्रका लागि टिकट बुकिङ गराइरहेका छन् । दसैं र तिहारका लागि १ महिनाअघिदेखि नै जहाजको टिकट बुकिङ सुरु भइसकेको बुद्ध एयरका सिनियर कार्यकारी प्रबन्धक रुपेश जोशीले बताए । “दसैं र तिहारकेन्द्रित टिकटमा हाम्रो ३० देखि ३५ प्रतिशत बुकिङ सकिएको छ,” उनले भने । गत वर्षजस्तो बन्द–हड्ताल नभएकाले जहाजको टिकट बुकिङ गर्नेको संख्या भने केही घटेको उनले बताए । बुद्धले टिकट बुकिङलाई हेरेर मात्र उडान थपघट गर्छ । जोशीका अनुसार दसैंका बेला विराटनगर र भद्रपुरमा यात्रुको बढी चाप हुने गरेको छ ।
यतीले पनि ३५ प्रतिशतभन्दा बढी टिकट बुकिङ भइसकेको जनाएको छ । विगत वर्षजस्तो उच्च बुकिङ भने नआएको कम्पनीको भनाइ छ । बन्द र हड्ताल घटेको र धेरै ठाउँमा सडकको पहुँच पुगेकाले पनि बुकिङ अपेक्षाकृत नभएको हो । यतीले दसैंका बेला काठमाडौंतर्फ आउने यात्रुका लागि भने विशेष छुट प्याकेज ल्याउने जनाएको छ ।
केही समयअघि आयोनले जहाज भाडा बढाएकाले पनि बुकिङमा केही प्रभाव परेको वायुसेवा कम्पनीहरूले जनाएका छन् । आयोनले इन्धन भाडा बढेको भन्दै भैरहवाका लागि तल्लो सीमाअन्तर्गत १ हजार ७ सय २३ मा र इन्धन शुल्कबापत १ हजार ६ सय ५० रुपैयाँ जोडिने गरी भाडा बढाएको थियो । त्यस्तै, नेपालगन्जका लागि न्यूनतम भाडा २ हजार ७ सय २८ र इन्धन शुल्क २ हजार ३ सय ५० रुपैयाँ, पोखराका लागि १ हजार ३ सय २८ र इन्धन शुल्क १ हजार ३ सय ५० रुपैयाँ तोकिएको छ । सिमराका लागि ९ सय इन्धन शुल्कमा न्यूनतम हवाई भाडा ७ सय ५४ र बढीमा १ हजार ३ सय ४० रुपैयाँको सीमा तोकिएको छ ।
यसैबीच, दसैं र तिहारमा यात्रु चापलाई केन्द्रित गर्दै यातायात व्यवासायीले असोज पहिलो साताबाट टिकट बुकिङ खुला गर्ने भएका छन् । काठमाडौंबाट बाहिरिने देशभरका यात्रुलाई केन्द्रित गरी बुकिङ खुला गर्ने तयारी भएको राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले जानकारी दिए ।
karobar dainik
No comments:
Post a Comment