Tuesday, August 19, 2014

पर्यटन मजदूर बन्दैछन् करोडपति

३ भदौ, सोलुखुम्बु । तामाखानी सोलुखुम्बुका डिल्ली मगर पर्यटन भरियाको रुपमा खुम्बु क्षेत्र पुगे । त्यहाँ पर्यटन भरिया, होटल कामदारलगायतको मजदुरी गर्नुभएका शेर्पा अहिले स्याङबोचे विमानस्थल नजिक घर तथा होटल मालिक भएका छन् ।

स्याङबोचे विमानस्थलमा हेलिकोप्टर उडानको चाँजोपाँजो मिलाउने काममा कहलिएका मगर कामदारबाट खुम्बुमा करोडपति मालिक बनेका हुन् । खुम्बुमा अन्यत्रबाट आएकालाई जग्गा किन्न समस्या हुने भएपनि खुम्बुकै युवतीसँग विवाह गरेपछि उनले त्यहाँ घडेरी किन्न सम्भव भएको हो । उनी भन्छन- ‘भरियाबाट सङ्घर्ष गरंे अहिले राम्रो छ ।’

त्यस्तै धादिङका दिल थापामगर १९ वर्ष अघि होटल कामदारका रुपमा नाम्चे आएका हुन् । करिब नौ वर्ष त्यसरी काम गरेपछि उनी आफैले होटल चलाउन थाले । उनी यतिखेर स्याङबोचेस्थित खुम्बु माउन्टेन भ्यु लज, नाम्चेभित्रै होटल एभरेस्ट र नेस्ट गरी तीन होटलका सञ्चालक छन् ।

काभ्रे तिमालका राम लामा पनि ११ वर्षअघि खुम्जुङ- ६ देबुचेमा काम गर्न आएका थिए । चार वर्षयता उनी स्योमारेमा हिमालयन लन्च स्पट चलाइरहेका छन् । सिजनमा राम्रै कमाइ हुने उनको भनाई छ ।

यी तीन जना प्रतिनिधि पात्र हुन् । खुम्बु क्षेत्रमा कामदार मालिक बनेका निकै उदाहरण छ । ‘कम्तीमा दुई दर्जन जतिले कामबाट कमाएको पैसाले आफैँ होटल चलाउन थालेका छन्’ व्यवसायी डिल्ली मगरले भने । यस क्षेत्रमा घरजग्गा किन्न नपाइने भएकाले भाडामा घरजग्गा लिएर होटल चलाउनुपर्छ अथवा त्यतैका युवतीसँग विवाह गरेमा उनीहरूको नाममा किन्न पाइन्छ ।

चौरीखर्क नाम्चे र खुम्जुङ गाविसलाई खुम्बु क्षेत्र भनिन्छ । यस क्षेत्रमा कम्तीमा हजारभन्दा बढी होटल छन् । लुक्ला, चौरीखर्क घाट, ठाडो कोसी, फाक्दिङ, राङदिङ, टोकटोक, बेंकर, मोन्जो, जोरसल्ले, नाम्चे, खुम्जुङ, स्याङबोचे, पाङबोचे, स्योमारे, दिङबोचे, फेरिचे, थुक्ला, लबुचे हुँदै गोरक्सेपसम्मनै होटल रहेका छन् ।

होटल व्यवसाय सुरुवात गर्ने शेर्पा समुदाय भए पनि विस्तारै उनीहरू राजधानी र युरोपतिर जान थालेपछि जिल्लाको अन्य गाविस तथा बाहिरी जिल्लाबाट आउने कामदार आफैँ मालिक बन्न थालेका हुन् ।

‘पर्यटकीय क्षेत्र भएकाले होटल व्यवसाय गर्न चाहनेका लागि खुम्बु क्षेत्र राम्रो सम्भावना बोकेको ठाउँ हो, त्यसैले यहाँ सामान्य तलबमा काम गर्न आउने कामदार करोडपति बन्न थालेका उदाहरण धेरै छन्’ खुम्जुङका दोर्जी शेर्पाले भने । यसरी विभिन्न क्षेत्रबाट आउने थुप्रै कामदार खुम्बुमा मालिक बनेका छन् भने धेरैले उतै वैवाहिक सम्बन्ध पनि गाँसेका छन् । रासस

No comments: