Saturday, November 1, 2014

सगरमाथा आरोहण अभियानमा लागेकी पत्रकार कल्पना महर्जन अस्पताल भर्ना

प्रकाश खालिङ
काडमाडौं, कात्तिक १५ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्ने अभिलासाका साथ सगरमाथा आरोहण अभियानमा लागेकी पत्रकार कल्पना महर्जनको स्वास्थ्यमा गम्भिर असर देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

 अभियानअन्तर्गत सोलुखुम्बुको मेरापीक (६७०० मि.) आरोहण गर्ने क्रममा विरामी परेपछि उनी अस्पताल भर्ना भएकी हुन् । मेरापीक आरोहणमा जाने क्रममा उनको स्वास्थ्यमा गम्भिर असर देखिएपछि शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई बी एण्ड बी अस्पतालमा भर्ना गरिएको थियो । 

कल्पनाकी श्रीमान् दिलभक्त महर्जनका अनुसार मेरापीक जाने क्रममा टोल्के भन्ने ठाउँबाट करिब ५ घण्टा हिडेपछि उनी विरामी परेकी हुन् । त्यहाँबाट शेर्पाहरुले बोकेर टोल्के भन्ने ठाउँमा ल्याई त्यहाँबाट शुक्रबार डाइनेस्टी हेलीकोप्टरबाट लुक्ला ल्याइयो र त्यसपछि लगत्तै गोमा एयरबाट काठमाडौं ल्याइएको थियो ।

वि एण्ड बीमा भेन्टिलेटर प्याक भएको कारणले गर्दा त्यहाँबाट सुमेरु अस्पताल, धापाखेलमा रिफर गरिएको हो । अहिले सुमेरुको आइसीयुमा राखेर उनको उपचार भइरहेको छ । कल्पनाको उपचारमा संलग्न डाक्टरका अनुसार उनको छातिमा इन्फेक्सन भएको छ ।

उनको फोक्सोमा पानी जमेको हुन सक्ने र त्यसको कारणले टाउँकोमासमेत समस्या आएको हुन सक्ने देखिन्छ । यो समाचार तयार पार्दासम्म उनको टाउकोको सिटी स्क्यान गर्ने काम भइरहेको छ ।

कल्पनालाई माथि जानुअघिदेखि नै सामान्य रुघाखोकी लागेको हुनाले चिसोले एकैचोटी समातेको र हाइअल्टीच्यट पनि लागेपछि एकैचोटी असर देखिएको हो । कल्पना गत कात्तिक ९ गते लुक्ला पुगेका थिए । उनी एटलान्ट माउन्टेनरिङ एण्ड टे«किङ प्रा.लि.बाट फ्रेन्स गु्रपसँगै मेरापीक चढ्न त्यसतर्फ गएकी हुन् । 

यसैबीच, नेपाल पर्यटन पत्रकार मञ्च (टीजेएफ–नेपाल)ले एक प्रेस विज्ञप्ती जारी गरी मञ्चका कार्यसमिति सदस्यसमेत रहेका पत्रकार कल्पना महर्जनको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

No comments: