शिक्षा/स्वास्थ्य


त्रिविका विद्यार्थीले अब उत्तरपुस्तिका हेर्न पाउने

काठमाडौं,भदौ २३–त्रिभुवन विश्वबिद्यालयले विद्यार्थीलाई उत्तरपुस्तिका हेर्न दिने भएको छ । सुचनाको हक अन्तर्गत विद्यार्थीलाई उत्तरपुस्तिका हेर्न दिन सर्वोच्च अदालतले परमादेश दिएको तीन बर्षपछि त्रिविले नियम बनाउने तयारी थालेको हो ।
सूचनाको हकअनुसार यसअघि एसएलसी दिने विद्यार्थीले नतिजा चित्त नबुझे उत्तरपुस्तिका हेर्ने व्यबस्था भएको थियो । नियम संशोधन गरेपछि त्रिविका विद्यार्थीले पनि उत्तरपुस्तिका हेर्न पाउनेछन् । त्रिविको सोमबार बस्ने सभाबाट नियम संशोधन गराएर विद्यार्थीलाई उत्तरपुस्तिका हेर्न दिइने भएको छ । त्रिविको नियम संशोधनका विषयमा सबै सभासद्हरुलाई प्रस्तावसमेत पठाएको छ । त्रिवि प्राध्यापक संघका अध्यक्ष तथा त्रिविसभा सदस्य रामेश्वर उपाध्यायले नियम बनाएर उत्तरपुस्तिका हेर्न दिने निर्णय भएको बताए । उनले भने,‘सर्वोच्च अदालतले उत्तरपस्तिका हेर्न आदेश दिएको थियो,त्यसैका आधारमा त्रिविबाट नियम बनाएर सो व्यबस्था लागु गर्ने विषयमा प्रस्ताव आएको छ ।’
नेपालमा सूचनाको हकलाई संबैधानिकरुपमै मौलिक हकको रुपमा स्थापित गरिएको छ । संविधानमै सुनिश्चित गरिएपछि नेपालमा सूचनाको हकसम्बन्धी ऐन,२०६५र नियमावली २०६५ बनिसकेको छ ।यही सूचनाको हक अन्तर्गत शंकरदेव क्याम्पसका बिद्यार्थी केशवराज रेग्मी बिबिएस प्रथम बर्षको परिक्षाको नतिजा चित्त नबुझेपछि १५ भदौ २०६५ मा अदालत गएका थिए भन्दै आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

No comments: