सानालाई ऐन ठूलालाई चैन
प्रकाश खालिङ
काठमाडौं, असोज ५। अन्यायपूर्ण तरिकाबाट मारिएका आफ्नो प्यारो छोरोको लास व्यवहारिसे हुन नदिनको लागि हप्तौसम्म न्यायको भीख माग्दै हिड्नु जो कसैको लागि कल्पनाभन्दा बाहिरको कुरा हो । तर, यस्तै पीडादायक नियती खेपीरहेका छन् ४२ वर्षीय हस्तबहादुर राईले ।सोलुखुम्बु जिल्ला बुङ गाविस वडा न. १ निवासी हस्तबहादुर राईको छोरो रामकमल राईलाई गत भदौ ३१ गते काठमाडौंमा बसले ठक्कर दिएर मारेको थियो । सामाखुशीस्थित तलेजु भवानी पेट्रोल पम्पअगाडि विपरित दिशाबाट आइरहेको बा ३ ख २६२८ नम्बरको मध्यउपत्यका यातायातले ठक्करबाट साइकलमा रहेका रामकमलको घटनास्थलमै मृत्यु भयो । दृर्घटनामा आफ्नो छोरोको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै छैटौ दिनसम्म निरन्तर प्रशासन धाइरहेका छन् पीडित पक्ष । तर त्यसको सम्बोधन अहिलेसम्म भएको छैन ।
क्षतिपुर्तिको लागि पीडक (मध्यउपत्यका यातायात) पक्ष र पीडित (मृतक रामकमल परिवार) पक्षबीच पटक पटक छलफल भयो । क्षतिपुर्तिस्वरुप पीडित हस्तबहादुरले रु. २० लाख क्षतिपुर्ति भराउन माग पेश गरेको छ । तर पीडक पक्षले त्यसको ठाडै अस्वीकार गर्दै क्षतिपूर्तिस्वरुप ५ लाख र किरिया खर्च २५ हजारमा मिल्न दबाब दिइरहेको छ ।
पीडित पक्षले घटनाको प्रकृतिलाई हेरेर मानवीय र व्यवहारिक हिसाबले आफुले क्षतिपुर्ति माग गरेको बताइरहेको बेला पीडक पक्षले भने त्यो भन्दा माथिकानुनमा नभएको तर्क गरिरहेको छ । समितिले समस्या समाधान गर्न नसकेको कारण गाडि मालिकलाई सार्वजनिक गर्न पीडित पक्षले माग गरिरहेको छ तर त्यसको लागि न समितिले पहल गरेको छ नत प्रहरी प्रशासनले नै । सोही कारणले अहिलेसम्म पनि मृतक रामकमलको लास व्यवहासिरे अवस्थामै छ ।
मृतक रामकमलको बुवा हस्तबहादुरको पेशा साहुँको भारी बोक्ने हो । उनले यो पेशा अंगालेको लामो समय वितिसकेको छ । उनले साहुको भारी बोकेरै आफ्नो परिवारको गर्जो टारिरहेका हुन् । पाँच छोरा र तीन छोरीसहित हस्तबहादुरको जम्मा १० जनाको परिवार हो । रामकमल जेठा छोरा हुन् । छोरो रामकमलको मृत्युको खबर उनले भदौ ३१ गते नै सगरमाथाको आधाशिविरतर्फ भारी पु¥याउने क्रममै सुने । छोराको खबर सुनाउने फोनको रिङ बज्दा उनी साहुको अजंग भारी बोकेर जंगलमा हिडिरहेका थिए । जंगलको ठाउँ भएको हुनाले खबर सुन्नासाथ उनले आफुले बोकिरहेको भारी बिसाइराखेर फर्किने अवस्था पनि थिएन । केही समयको हिडाइपश्चात घर भएको ठाउँमा भारी विसाइराखेर उनी तल झरे र भोलीपल्ट असोज १ गते काठमाडौंमा बस्ने आफ्नो गाउँलेको सहयोगमा उनी काठमाडौं आए । १ लाख ५० हजारमा हेलिकोप्टर चार्टर गरेर काठमाडौं आइपुगेका हुन् । उनी काठमाडौं नआइपुगुन्जेलसम्म प्रहरीले घटनाको जाहेरीसमेत लिन मानेको थिएन ।
कुराकानीको क्रममा भावकु मुद्रामा हस्तबहादुरले भने ‘काठमाडौं शहर सुनेको मात्रै हो । हेलिकोप्टर आकाशमा उडेको देखेको थिए । तर आफ्नो छोरोको यो हालत हेर्न त्यही हेलिकोप्टर चढेर त्यही सुनेको काठमाडौं आउनु प¥यो । यस्तो दुख त आजसम्म भोगेको पनि थिइन । यस्तो पीडा कसैलाई नहोस् ।’ उनले आफुले अनावश्यक रुपमा क्षतिपूर्ति नमागेको बताए । मैले आवतजावतमा लागेको, गाउँसम्म लास लैजाने र हाम्रो संस्कारअनुसार मेरो छोरोको अन्त्यष्टिको लागि मागेको खर्च दिनुपर्छ भनेको हो । उनकै अनुसार यसरी मरेको मान्छेको विधिअनुसार दाहसंस्कार गर्नका लागि ३ लाखसम्म खर्च हुन्छ । उनले आफ्नो छोरोको लास गाउँ नै लान चाहान्छन् ।
सोताङको विरेन्द्रज्योति उच्च माद्यामिक विद्यालयमा कक्षा ९ मा पढ्दै गरेका १७ वर्षीय रामकमल घरको जेठा छोरा हुन् । गरिब परिवार भएकोले स्कुल विदा भएकोबखत साहुको भारी बोकेर आफ्नो कापीकलमको जोहो गर्ने र सकेकोसम्म मिलाएर भाइबहिनीहरुको कापीकलम किन्न सहयोग गर्ने गर्थे । विदामा शहर हेर्ने रहर पूरा गर्न काठमाडौं आएको डेढ महिना वित्दानवित्दै उनी गाडिको लापरबाहीको सिकारमा परे । रामकमलको दशै मनाउन लागि घर फिर्कने योजना थियो । प्राप्त जानकारीअनुसार उनले घर फर्कनको लागि सल्लेरी यातायातमा असोज १० गतेको टिकटसमेत काटिसकेका थिए ।
घटनापछिको छ दिन
दुईपक्षीय कुरा नमिलेपछि प्रहरी प्रशासनको रोहबरमा मिलाउन आग्रह गरियो । तर, प्रहरी प्रशासनले पनि आफुहरु यस विषयमा बोल्न नमिल्ने बतायो । त्यसपछि पीडित पक्षले पटक पटक आफ्नो माग पूरा गराउन पहल गरेपनि अहिलेसम्म त्यसको सम्बोधन हुन सकेको छैन । घटना भएको आज ६ दिन भइसक्यो । घटना भएको दोस्रो दिन मध्यउपत्यका यातायातको तर्फबाट आएका दुई जना प्रतिनिधिसँग पीडित पक्षले क्षतिपूर्ति भराउन आग्रह ग¥यो । भोली मिलाउने भनेर टा¥यो ।
भोलीपल्ट फेरी अर्कै दुई जना प्रतिनिधि आए । उनीहरुले पाँच लाख भन्दा माथि एक सुका पनि दिन नसकिने भन्दा बाहेक बोलेनन् । उनीहरुले समितिको बैठक बस्दै छ भोली नयाँ कुरा आउछ भनेर ढाटे । भोलीपल्ट गाडि साहुँ ल्याउने र क्षतिपूर्ति भराउने सहमतिमा प्रहरी प्रसाशन, पीडक पक्ष र पीडित पक्षबीच एक प्रकारको सहमति भयो । चौथो दिनसम्म आइपुग्दा सम्बन्धित निकायले केही गर्न नसकेपछि गाडि मालिकलाई सार्वजनिक गर्न माग गर्दै दबाव दियो । तर प्रहरीले त्यसमा साथ दिन आलटाल ग¥यो । मालिक खोज्नु आवश्यक नभएको तर्क राख्यो प्रहरी प्रशासनले ।
पीडित पक्षलाई क्षतिपूर्ति दिलाउनको लागि खालिङ, कुलुङ, जिमीलगायतको संस्था तथा जिल्लाका सभासद, नेताहरुले आआफ्नो ठाउँबाट पहल गरिरहेको छ । हारगुहार माग्ने क्रममा सोलुखुम्बुका सभासद् बलबहादुर केसीले महाराजगञ्ज प्रहरी बृत्तका डिएसपी सानुराम भट्टराईलाई भेटेर यो विषयमा सहजताको भूमिका निर्वाह गरिदिन आग्रह गर्नुभयो । भोली पल्ट (पाँचौं दिन)को विहान ११ बजेसम्म गाडि मालिकलाई उपस्थित गराउने बचन दिएपछि झिनो आशासहित पीडित पक्ष फर्कियो । तर त्यस दिन पनि यातायात समितिको प्रतिनिधि हो भन्दै दुई जना व्यक्ति आए । तीनैसँग पनि वार्तामा बस्ने काम भयो तर उनीहरुले अघिल्लो दिनकै कुरा दोहो¥याएपछि समस्या झन् थपियो ।
पीडित पक्ष अब गाडि मालिकसँगै कुरा गर्नुबाहेक अरु विकल्प छैन भन्ने निष्कर्षमा पुग्यो । त्यही माग गर्ने क्रममा जम्मा भएका पीडित पक्षमाथि प्रहरीले उल्टै विभिन्न बाहानामा दमन गर्ने प्रयास अघि बढायो । सार्कको बैठक भएकोले सवारी छ भन्दै पीडित पक्षको केही व्यक्तिलाई पक्राउ गरी थुन्ने कामसम्म ग¥यो प्रहरीले । पाँचौ दिनमा सभासद्द्वय बलबहादुर केसी र गोपाल गिरीलगायतको टोलीले यस विषयलाई मिलाउन पहल अघि बढाए । तर कुनै निष्कर्ष निक्लेन । गाडि मालिकलाई झिकाइदिनको लागि चक्रपथमा जाहेरी दिन खोज्दा जाहेरीसमेत लिएन प्रहरी ।
कसरी भयो दुर्घटनाः
प्रत्यक्षदर्शीको बयानअनुसार उक्त घटनामा बसको गल्ति छ । घटनाका प्रत्यक्षदर्शी सामाखुशीमा अवस्थित ग्यारेजमा कार्यरत आत्माराम पाण्डेकाअनुसार उक्त घटना ५ बजेको विहानी मिर्मिरेमा भएको हो । पाण्डे उक्त घटना घटिसकेपछि चालकलाई समाएर लाइसेन्स लिने व्यक्ति हुन् । आफ्नै बाटोमा साइकलमा आइरहेका रामकमल राईलाई उक्त बसले अनसाइडमा गएर ठक्कर दिएको थियो । पाण्डेकाअनुसार अगाडि गुडिरहेको ट्याक्सीलाई ओभरट्याक गर्न खोज्दा बस अनियन्त्रित भएर गाडि माथिल्लो साइडमा पुगेर साइकललाई ठक्कर दिएको हो । चालकलाई समाएर लाइसेन्स लिएको केही समयपछि प्रहरी आएको थियो । प्रहरी आएपछि चालक र उसको लाइसेन्स प्रहरीलाई जिम्मा दिएका थिए । प्रहरी आएपछि त्यही चालकलाई गाडि चलाउन लगाइयो र टाटा मोवालको गाडिमा लास लगियो । त्यसपछि क्षतिपूर्तिको लागि प्रक्रिया अघि बढाइयो । घटनास्थलको प्रकृतिको स्थलगत अध्ययन गर्दा करिब एक सय मिटरदेखि नै बे्रकको डाम देखियो ।
समस्या झन् समस्याः
घटनास्थलबाट उठाएर टिचिङसम्म ल्याइएको लास अहिले पनि व्यहारिसे अवस्थामै छ । पीडित पक्षले उचित क्षतिपूर्ति र गाडि मालिकलाई सार्वजनिक नगरेसम्म लास नबुझ्ने अडान लिएको छ । यस विषयमा प्रहरी प्रशासनसँग जिज्ञासा राख्दा कानुनी प्रक्रिया अघि बढिरहेको उत्तर आउने गरेको छ । ‘गाडि चालक समाएर हिरासतमा राखिएको छ’ डिएसपी सानुराम भट्टराईले भने–‘गाडि पनि प्रहरीको नियन्त्रणमै छ । हामीले आफ्नो कुरा तर्फबाट अनुसन्धान गरिरहेका छौं ।’ लास उठेको छैन कहिलेसम्म समस्या समाधान हुन्छ भन्ने प्रश्नको जवाफमा यो विषय पीडित र पीडक पक्षको जिम्मेवारीमा रहेको उनको तर्क छ ।

No comments:
Post a Comment