Tuesday, August 12, 2014

पहिरो पीडितलाई राहत वितरण गर्ने कार्य अव्यवस्थित

प्रकाश खालिङ
सिन्धुपाल्चोक, २७ साउन । सिन्धुपाल्चोक जिल्लाको मांखा, राम्चे र टेकनपुर गाविसमा गत श्रवान १७ गते गएको पहिरोका पीडित र विस्थापितहरुको लागि राहत दिनेहरुको ओइरो लागिरहेको बेला राहत वितरण कार्य व्यवस्थित हुन नसकेको पाइएको छ । नेपाल पर्यटन पत्रकार मञ्च (टीजेएफ–नेपाल)को टोलीले पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकनबाट यस्तो निष्कर्ष निकालेको हो ।

विभिन्न क्षेत्रबाट संकलित उक्त राहत लामसाँघु भन्ने ठाउँबाट वितरण गर्ने काम भइरहेको छ । राहत संकलन तथा वितरण केन्द्र लामासांघुमा भेला भएका पीडित परिवारले सरकारबाट खासै सहयोग नपाएको गुणासो गरेका छन् । राहत वितरणको क्रममा सोर्सफोर्ससमेत हावी हुन थालेको र राहत वितरणमा नातावाद कृपावाद लागु भइरहेको स्थानीयको आरोप छ । वास्ताविक पीडितहरुले पाउनुपर्ने राहतको उचित रुपमा वितरण गर्न नसकेको अधिकांशको गुणासो छ ।  हालसम्म एक सय १४ जनाले राहत उपलब्ध गराइसकेको छ । राहतस्वरुप संकलित रकम सोमबारसम्ममा ३१ लाख  १५ हजार रुपैयाँ पुगेको छ ।



सरकारले प्रति मृतक ४० हजारको दरले किरिया खर्च दिने निर्णय गरेपछि राजनीतिक दल, सरकारी एवं गैरसरकारी संस्था तथा व्यक्तिगत हिसाबले राहतस्वरुप नगद र जिन्सी सहयोग उपलब्ध गराउने क्रम तीब्र रहेको छ ।सोमबार मञ्चका अध्यक्ष शिव अधिकारीको नेतृत्वमा काठमाडौंबाट गएको २१ सदस्यीय टोली राहत वितरण गर्ने स्थान लामासांघु पुग्दा हरेक निकायका प्रतिनिधि एवं पीडितहरुको उपस्थितिले सो ठाउँ भरीभराउँ थियो । राहत वितरण गर्न पीडित पक्षको नाम दर्ता गराउने, दर्ता भइसकेको नामावली स्वीकृत गर्ने र स्वीकृत भइसकेको नामावलीअनुसार राहत उपलब्ध गराउने व्यवस्था मिलाइएको थियो । तर, नामावली दर्ता गर्ने ठाउँमा आपसी झगडा भइरहेको दृष्य देखियो ।

नामावली दर्ता गर्ने स्थानमा एक अधवैसे महिला बच्चा काखी च्यापेर उपस्थित भइन् । उनी भन्दै थिइन् ‘म पनि पीडित हुँ । मेरो नाम अस्ति पत्रिकामा पनि आएको थियो । राहत लिनको लागि आएको ।’ ती अधवैसे आइमाईले त्यत्ति कुरा भन्न पाउँदानपाउँदै जुरुम्मै उभिएका केही व्यक्तिहरु एकाएक कराउन थाले । यो मान्छे अहिलेसम्म गाउँमा नदेखेको र नचिनेको भन्दै कडा स्वरमा कराए । उनीहरुबीच आपसमा भनाभन भइरहेको थियो । कोही भन्दै थिए ‘यो मान्छे त यो गाउँको होइन ।’ आपसमा भनाभन चर्किन थालेपछि सबैलाई हटाउँदै त्यहाँका एक कर्मचारीले ती आइमाइलाई सोध ‘यो गाउँको तपाईले चिनेको एक दुई जना मान्छेको नाम भन्नुस त ? तर ती आइमाइले कसैको नाम भन्न सकेनन् । अन्तत राहत नदिने भए नदेन भन्दै त्यहाँबाट पन्छिए । त्यस्तै खाडि चौरमा मागेर जीविको चलाउने सन्तबहादुर विकलाई स्थानीय गाविस सचिवको सिफारिसमा घटनामा मृत्य भएकाले पाउने सरह राहत उपलब्ध गराइएको छ ।

राहत वितरण गर्ने स्थानमा देखिएको यो त प्रतिनिधि घटना मात्रै हो । यो घटनाबाट पहिरोका वास्ताविक पीडितहरुको उचित पहिचान गर्न नसक्दा बाहिरका मान्छे पीडित बनेर राहत लिने प्रयास गरिरहेको बुझ्ना गाह्रो छैन । ‘ती आइमाइ जस्ता थुप्रै व्यक्ति आफु पहिरो पीडित भएको भन्दै राहत माग्न आइपुग्छन’ त्यहाँका एक कर्मचारीले भने–‘तपाई यही गाउँको हो भने केही प्रमाण दिनुस् भन्दा सबै चीज पहिरोले पुरिएर लगेको छ कसरी देखाउने भन्छन् । यहाँ को पीडित भन्ने कुरा नै पहिचान गर्नै समस्या परिरहेको छ ।’

तर, यता सम्बन्धित निकायले भने राहत वितरणलाई तीब्र रुपमा अघि बढाइरहेको दाबी गरेको छ । सञ्चारकर्मीहरुसँगको भेटघाटमा जिल्ला प्रमुख अधिकारी गोपाल पराजुलीले पहिरोमा परेकाहरुको खोजी कार्य तीब्र रुपमा अघि बढिरहेको बताउँदै पहिरो पीडित र विस्थापितहरुको पहिचान गरी राहत वितरण गर्ने कामलाई तीब्रता दिइएको बताउनुभयो । उहाँले राहतका लागि संकलन भएको रकमको अभिलेखीकरण गर्ने बताउँदै संकलित राहत रकम बास्ताविक पीडितका लागि खर्चिने बताउनुभयो । उहाँले पीडितहरुको पहिचान गर्ने काम प्रभावकारी रुपमा सञ्चालन भइरहेको बताउँदै पीडितहरुलाई छिटो भन्दा छिटो राहत उपलब्ध गराउन आफुबाट कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
उक्त घटनाबाट विस्थापित हुनेको संख्या ४ सय ७६ र कुल मृतक तथा बेपत्ताको संख्या १५६ रहेको छ । हालसम्म घटनामा ३३ जनाको शव भेटिएको छ भने १ सय २३ जनालाई स्थानीय प्रशासनले मृत घोषणा गरेको छ । जसमध्ये ११ जना आन्तरिक पर्यटक रहेको जिल्ला प्रमुख अधिकारी पराजुलीले जानकारी दिनुभयो । अहिलेसम्म निकालिएको तथ्यांकअनुसार पहिरोबाट माथिल्लो भेगको १ सय १३ घर बगाएको छ भने तल्लो क्षेत्रको १८ वटा घर डुबानमा परेको छ । सोमबारसम्म किरिया खर्च बुझिलिने १ सय ४३ जना, घर क्षति बुझिलिनेको संख्या ३ जना र राहत सामाग्री बुझ्नेको संख्या ४ सय ५९ परिवार रहेका छन् । सामान्य र गम्भिर गरी जीवत उद्धार गरिएको संख्या २७ रहेको छ ।

नेपाल पर्यटन पत्रकार मञ्च (टीजेएफ–नेपाल)ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सोमबार पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको हो । टोलीमा राष्ट्रिय दैनिक पत्रिका, टेलिभिजन र पर्यटन पत्रकारहरुको सहभागिता रहेको थियो ।



http://www.ratopati.com/2014/08/12/158342.html/
http://www.onlinekhabar.com/2014/08/178549/
http://www.rastriyakhabar.com/?p=8159


No comments: