Wednesday, July 9, 2014

किरात राई पत्रकार संघद्वारा ‘पत्रकारिता पुरस्कार’ स्थापना

काठमाडौ, असार २६ । किरात राई पत्रकार संघ केन्द्रीय कार्यसमितिले ‘किरात राई पत्रकार संघर्षशील पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । कृषि विशेषज्ञ मदन राईले दिनुभएको एक लाख रुपैयाको अक्षयकोषबाट संघले पुरस्कार स्थापना गरेको हो ।
नेपालको कृषि तथा विकासको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आउनुभएको राईले बुधबार संघको केन्द्रीय कार्यसमितिलाई अक्षयकोष स्थापनाको लागि एक लाखको चेक हस्तान्तरण गर्नुभयो । संघका अध्यक्ष राजेश चाम्लिङ राईलाई चेक हस्तान्तरण गर्दै कृषिविज्ञ राईले समाजिक सेवाका लागि काम गर्ने आफ्नो चाहना अनुरुप संघलाई अक्षयकोषको लागि रकम प्रदान गरेको बताउनुभयो ।

उहाँले कोषको स्थापनाले पत्रकारिताबाट समुदायको विकासको लागि योगदान गर्ने किराती राई पत्रकारहरुलाई विशेष हौसला प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । संघका अध्यक्ष चाम्लिङले पुरस्कार स्थापनाका लागि अक्षयकोष रकम प्रदान गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्दै यसले पत्रकारिता क्षेत्रमा क्रियाशिल किराती राई पत्रकारहरुको प्रतिभा र हौसला बृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

संघका संस्थापक अध्यक्ष गणेश राईले दुई चार वर्ष दुःख गरेर भएपनि देशमै केहि गर्नेभन्दा वैदेशिक रोजगारीका लागि विदेशिने मनोविज्ञान बढिरहेको बेला सिमित स्रोतको भरमा पत्रकारिता गर्ने व्यक्तिहरुको लागि पुरस्कार पेशामा टिकिरहने माध्यम बन्न सक्ने बताउनुभएको थियो । अक्षयकोषबाट प्राप्तहुने बार्षिक ब्याजबाट प्रत्येक वर्ष एक जना किराती राई समुदायलाई पुरस्कृत गरिने बताईएको छ ।


No comments: