काठमाडौं । नेपालको पर्वतीय पर्यटकीय पहिचानलाई विश्वसामु परिचित गराउन सर्वोच्च शिखर सगरमाथासहितका हिमशिखरको विस्तृत विवरण (प्र्रोफाइल) निर्माण गरिने भएको छ । नेपालमा पहिलोपटक सरकारीस्तरबाटै पर्वतारोहणका लागि खोलिएका ३६२ र पर्वतारोहणका लागि खुला गर्न सम्भाव्य भनी पहिचान गरिएका १६५ हिमशिखरको सम्पूर्ण विवरण संलग्न भएको फोटोसहितको प्रोफाइल निर्माण गर्न लागिएको हो । हिमशिखरहरूको प्रोफाइल निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७० पुस १७ गते पर्यटनसचिवको संयोजकत्वमा मुख्य समिति गठन गरेको थियो । त्यसैगरी, नेपाल पर्वतारोहण सङ्घका अध्यक्षको संयोजकत्वमा उपसमिति र सिमाविद् बुद्धीनारायण श्रेष्ठको संयोजकत्वमा हिमाली पर्यटनसँग सम्बन्धित विशेषज्ञ सहितको प्राविधिक समिति गठन गरेको थियो ।
उपसमितिले नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठको संयोजकत्वमा ६ सदस्य भएको कार्यसमूह गठन गरी २०७१ वैशाखदेखि कार्य प्रारम्भ गरेको छ । उपसमितिले आधारभूत सहयोगी सामग्री सङ्कलन गरी हालसम्म ११५ सीट नक्सा टोपोग्राफिकल म्यापको भिक्टोर डेटाको आधारमा काम अघि बढाएको जनाएको छ । विश्वका पर्यटकहरूलाई नेपालका हिमशिखरबारे सबैखाले जानकारी उपलब्ध गराउन पहिलोपटक विस्तृत प्रोफाइल बनाउन लागिएको छ । पाँच हजार मिटरभन्दा अग्ला हिमालको प्रोफाइल तस्बिर र तथ्याङ्क सहितको विवरण नेपाली, अङ्ग्रजी र स्थानीय भाषामा राखिनेछ ।
प्रोफाइलमा कुन हिमाल कति दुरीमा छ, त्यहाँ जान के कति समय लाग्छ, सम्बन्धित हिमाल आरोहणका लागि लाग्ने स्वदेशी तथा विदेशी आरोहण शूल्क (सलामी दस्तुर), वैकल्पिक मार्ग, ती हिमालको उचाइ दुरी अहिलेसम्म कतिले आरोहण गरे, आरोहण गर्नेक्रममा कति दिवङ्गत भए तिनको सम्पूर्ण विवरण राखिनेछ । त्यसैगरी कुन हिमाल नेपाल–चीन सिमानामा पर्छकी नेपाल–भारतको सिमानामा पर्छ, कुन हिमाल कुन क्षेत्रबाट कति दुरीमा खिचिएको छ, भौगोलिक अवस्थितिसहितको विवरण राखिनेछ ।
नेपालको पर्वतीय पर्यटन, साहसिक पर्यटन र ट्रेकिङ पर्यटनलाई प्रवद्र्धन गर्न हिमशिखर प्रोफाइलले महत्वपूर्ण भूमिका खेल्ने बताउँछन् प्रोफाइल निर्माण समितिका प्राविधिक संयोजक बुद्धिनारायण श्रेष्ठ । उनले नेपालमा पर्यटकीय प्रवद्र्धन र साहसिक पर्यटन प्रवद्र्धन गर्न तथा नेपाली हिमालबारे विश्वका पर्यटकलाई तथ्यपरक जानकारी प्रवाह गर्न उपयोगी हुने बताए ।
हिमशिखरको प्रोफाइल निर्माणले नेपालका हिमशिखरको सम्पूर्ण विवरण अनलाइन इन्टरनेटमार्फत विश्वमा सहजै जानकारी पाउन सकिने भएकाले नेपालको विश्वमा पहिचान र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने देखिन्छ । यसअघि नेपाल पर्वतारोहण सङ्घले २१ वटा हिमालको संक्षिप्त विवरण समेटिएको प्रोफाइल बनाएको थियो । विश्वका १४ वटा अग्ला हिमालमध्ये नेपालमा मात्रै आठवटा हिमाल छन् भने नेपालमा १९ भन्दा बढी पर्वत शृंखला छन् ।
यसै सन्दर्भमा नेपालका हिमालहरूको प्रोफाइल निर्माणमा सरोकारवाला संस्था तथा विज्ञहरूबाट आवश्यक सुझाव लिन नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले आज यहाँ एक अन्तरक्रियाको आयोजना ग–यो । कार्यक्रममा सहभागी विज्ञहरूले नेपालको पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने हिम शिखरहरूको प्रोफाइल निर्माण गर्दा हिमाली पर्यावरणको वातावरण संरक्षणलगायतका विषयलाई समेटिनुपर्ने सुझाएका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री भीमप्रसाद आचार्यले हिमशिखरको प्रोफाइल निर्माण पर्यटन क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि महत्वपूर्ण हुने उल्लेख गरे । उनले नेपालका हिमाललाई मेचीदेखि महाकालीसम्म ग्रेट हिमालय ट्रेलको रुपमा घोषणा गरी क्रमश खुला गर्दै जाने सरकारको नीति भएको उल्लेख गर्दै हिमालसहित अन्य प्राकृतिक, ऐतिहासिक, धार्मिक स्थलहरूको पहिचान गरी पर्यटन प्रवद्र्धन गर्न जरुरी भएको उल्लेख गरे ।
फरक प्रसङ्गमा मन्त्री आचार्यले नेपालमा पर्यटन प्रवद्र्धनका लागि दुई अन्तर्राष्ट्रिय विमानस्थल (पोखरा र भैरहवा) को निर्माण प्रक्रिया अघि बढाइएको तथा बारा एयरपोर्टलाई यही आर्थिक वर्षभित्र निर्माण प्रक्रिया सुरु गरिने जानकारी दिए । उनले पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्नुको विकल्प नरहेको उल्लेख गर्दै नेपाल पर्यटन बोर्डमा देखिएको समस्या चाँडै समाधान गरिने बचन दिए ।
मन्त्रालयका सचिव रञ्जनकृष्ण अर्यालले हिमशिखरको विस्तृत विवरण समेट्ने प्रोफाइलको निर्माणले विदेशी पर्यटकलाई नेपाली हिमालहरूका बारेमा अध्ययन गर्न र बुझ्न सहयोग पुग्ने र यसले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । पूर्वमन्त्रीद्वय हिसिला यमी र याङ्कीला शेर्पाले नेपालको पर्यटन प्रवद्र्धनको महत्वपूर्ण संस्था नेपाल पर्यटन बोर्डमा देखिएको समस्या समाधान गरिनुपर्नेमा जोड दिए ।
हिमशिखर प्रोफाइल उपसमितिका संयोजक एवम् एनएमएका अध्यक्ष आङ्छिरिङ शेर्पाले पर्वतीय पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्न प्रोफाइल निर्माणले सहयोग पुग्ने बताए ।

No comments:
Post a Comment