Saturday, July 12, 2014

पर्यटन क्षेत्रको आम्दानी ४५ अर्ब भन्दा उकालो

पर्यटन क्षेत्रबाट चालू आर्थिक वर्ष ०७०/७१ मा साढे ४५ अर्ब रुपैयाँभन्दा बढी आम्दानी हुने प्रक्षेपण गरिएको छ । बिहीबार सार्वजनिक आर्थिक सर्वेक्षणमा चालू वर्ष पर्यटनबाट ४५ अर्ब ४६ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको हो ।
चालू वर्षको पहिलो ८ महिनामा ३० अर्ब ४३ करोड रुपैयाँ आम्दानी भइसकेकाले सोही अनुपातमा वृद्धि भएमा साढे ४५ अर्ब रुपैयाँ आम्दानी हुने अनुमान छ ।आव ०६९/७० मा ३४ अर्ब २१ करोड रुपैयाँ आम्दानी भएको थियो, जुन आव ०६८/६९ मा को तुलनमा ११ प्रतिशतले बढी हो । सो आवमा ३० अर्ब ७० करोड रुपैयाँ आम्दानी थियो ।     

आर्थिक वर्ष ०७०/७१ को प्रथम ८ महिनामा पर्यटन क्षेत्रबाट आर्जित विदेशी मुद्राको अनुपात कुल विदेशी मुद्रा आर्जनको अनुपातमा ४५ प्रतिशत, कुल वस्तुु निर्यातबाट प्राप्त विदेशी मुद्रा आर्जनको अनुपातमा २०.४ प्रतिशत छ । २०६९ पुसदेखि २०७० पुस सम्ममा जम्मा ७ लाख ९७ हजार ७ सय ५९ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए, जुन संख्या २०६८ पुस देखि २०६९ पुससम्मको भन्दा ०.७ प्रतिशतले घटेको थियो । 

०६७ पुस देखि २०६८ पुसको अवधिमा नेपाल आउने पर्वतरोहण दलको संख्या २ सय ५९ रहेकोमा यो संख्या २०६९ पुसदेखि २०७० पुसको अवधिमा घटेर २ सय ५२ दल भएको छ भने सोही अवधिमा पर्वतारोही संख्या १ हजार ९ सय ५१ बाट वृद्धि भई २ हजार ४ सय ५५ पुगेको छ । पर्वतरोहण क्षेत्रबाट गत वर्ष २३ करोड ८ लाख २१ हजार रुपैयाँ आम्दानी भएकोमा यस वर्ष वृद्धि भई ३४ करोड ८ लाख २१ हजार रुपैयाँ पुगेको छ । 

पर्यटकको बसाइ १० वर्षदेखि स्थिर 
नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको बसाइ ओसत बसाइ दर १२ दिन मात्र छ । उक्त अवधि विगत १० वर्षदेखि स्थिर रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । ०६९ पुसदेखि २०७० पुससम्मको तथ्यांकअनुसार पर्यटकको बसाइ अवधि १२.६ दिन मात्र छ । 

पर्यटक आगमनका उत्कृष्ट ५ मुलुक 
पर्यटक आगमनलाई देशगत विश्लेषण गर्दा २०६९ पुसदेखि २०७० सम्मको अवधिमा सबैभन्दा धेरै पर्यटक नेपाल आउनेमा भारत पहिलो स्थानमा रहेको सर्वेक्षणमा उल्लेख  छ, जसमा नेपालमा भारतबाट कुल पर्यटक सख्याको २३ प्रतिशत, चीन ११.२ प्रतिशत, श्रीलंका ७.५ प्रतिशत, अमेरिका ७.३ प्रतिशत, बेलायत ४.७ प्रतिशत छन् । उक्त ५ मुलुक विगत १० वर्षदेखि उत्कृष्ट ५ मा रहँदै आएका छन् ।

No comments: