Monday, July 14, 2014

आदिवासी जनजातिका निम्ति विनियोजित साढे २ करोड फ्रिज

काठमाडौं । आदिवासी जनजातिहरुको विकास एवं उत्थानका लागि विनियोजन गरिएको साढे दुई करोड रकम फ्रिज भएको छ । नेपालका आदिवासी जनजातिको उत्थानका लागि राज्यले स्थापना गरेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको नाममा आर्थिक वर्ष २०७०÷०७१ का लागि विनियोजन भएको कुल १४ करोड रुपैयाँमध्ये साढे २ करोड रुपैयाँ फ्रिज भएको हो । 

 
सरकारले यस वर्ष आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई पूँजीगततर्फ ११ करोड ४० लाख र चालु खर्चतर्फ प्रशासनिक २ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको थियो । आर्थिक वर्ष २०७०÷०७१ को वार्षिक कार्यक्रमहरुमध्ये प्रतिष्ठानको कार्यालय भवनका लागि जग्गा खरिद तथा भवन निर्माणका निमित्त छुट्टाइएको बजेट २ करोड २० लाख रुपैयाँ समयमै काम हुन नसक्दा फिर्ता जाने निश्चित भएको छ ।

उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषद्को १२आंै बैठकको उद्घाटन समारोहमा गणेशमान सिंहको नाममा समावेशी भवन बनाउने बताएका थिए । आइतबार अर्थमन्त्रीले बजेट भाषणमा पनि समावेसी भवनका लागि बजेट विनियोजन गर्ने बताएको छ । यस भवनमा सबै जनजातिहरुको कार्यालय रहने भन्दै मिनी संङ्ग्रहलाय समेत बनाउने योजना भएको प्रतिष्ठानले भन्दै आएको थियो ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष झकबहादुर थापा मगरले १२ तलासम्मको भवन निर्माणका लागि यही राष्ट्रिय बजेटमा पार्ने आश्वासन स्थानीय र अर्थ मन्त्रालयका अधिकारीबाट आएको बताएका छन् । ३० देखि ४० करोड रुपैयाँसम्मको बजेट प्रतिष्ठानको भवन निर्माणका लागि आगामी आर्थिक वर्ष २०७१÷०७२ को बजेटमा  आउने आश्वासन पाएको उनले जानकारी दिए ।

प्रतिष्ठानमा कर्मचारीको दरबन्दी ५२ जना भएता पनि हाल ४८ जना मात्र कर्मचारी रहेको प्रतिष्ठानले जनाएको छ । दुई जना फस्ट क्लास अफिसर र दुई जना सेकेण्ड क्लास अफिसर गरी ४ जना कर्मचारी नियुक्त हुन बाँकी छ । फस्ट क्लास अफिसरको मासिक तलब २९ हजार छ भने सेकेण्ड क्लास अफिसरको मासिक तलब २५ हजार रहेको प्रतिष्ठान स्रोतले बताएको छ ।  उक्त ४ जना कर्मचारीको वार्षिक तलब झण्डै १२ लाख ९६ हजार रुपैयाँ वर्सेनि फ्रिज हुने गरेको छ ।
प्रतिष्ठानको योजना शाखाका निर्देशक दिवस राईले ४८ जना कर्मचारीले प्रतिष्ठानको काम धानेको बताए । यसैगरी, युवा जागरण कार्यक्रम, नेतृत्व विकास कार्यक्रम, जनचेतना कार्यक्रमजस्ता शीर्षकमा विभिन्न संघ र समुदायले ६० प्रतिशत बजेट लाने तर ४० प्रतिशत जति रकम लिन नआउने समस्या प्रतिष्ठानमा वर्सेनि देखिन्छ । कार्यक्रम गर्ने भन्दै रकम झिक्ने तर कार्यक्रम पूरा नगर्ने संघ संस्था एकाध भए तापनि वर्सेनि बजेट फ्रिज हुने यो शीर्षक पनि प्रमुख रहेको छ । यो रकम पनि ठूलो भएको अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०६९÷०७० मा पनि ४० लाख रुपैयाँ फ्रिज भएको थियो ।

No comments: