काठमाडौं । संविधान सभाको आजको बैठकमा धारणा राख्ने अधिकांश सभासद्ले जातीय र क्षेत्रीय आधारमा भन्दा पनि नेपालको आफ्नै मौलिकताका आधारमा सङ्घीय प्रणालीको विकास गर्नुपर्नेमा जोड दिएका छन् । तत्कालीन राज्यको पुनःसंरचना र राज्यशक्तिको बाँडफाँट समितिको प्रारम्भिक मस्यौदामा भएका सहमति वा असहमतिको निक्र्योलसम्बन्धी प्रतिवेदन एवम् सोसम्बन्धी पूरक प्रतिवेदनमाथि भएको छलफलमा भाग लिँदै सभासद्हरुले सङ्घीयताका नाममा मुलुकलाई विखण्डन गर्न नहुने भन्दै केन्द्रिकृत राज्यलाई विकेन्द्रित गरी विभिन्न जातमा विभाजन गर्न नहुनेमा जोड दिए ।
छलफलमा भाग लिँदै सभासद् शेरबहादुर देउवाले अघिल्लो पटक संविधान बन्न नसक्नाका कारण सङ्घीयता नै भएको तर्क गर्दै संविधानसभाको निर्वाचनमा जनताका सामु गरेको कबुलबमोजिम बहुपहिचानमा आधारित प्रदेश निर्माण गर्नुपर्नेमा जोड दिए । आफूले आफँैलाई असफल बनाउने तवरले प्रदेश निर्माण गर्न नहुनेमा जोड दिँदै उनले पछाडि परेका आदिवासी जनजाति, कर्णालीका जनतालाई सेवा प्रदान गर्न सङ्घीय प्रणालीको विकास गर्नु पर्ने बताए । थोरैभन्दा थोरै प्रदेश बनाउनुपर्नेमा उनको जोड थियो ।
सभासद् युवराज ज्ञवालीले कुनै पनि मुलुकको अन्ध नक्कल गर्नेभन्दा आफ्नै विशिष्टतामा सबैले अपनत्व गर्ने गरी सङ्घीय प्रणाली स्थापना गर्नुपर्नेमा जोड दिँदै बहुपहिचानमा आधारित सात प्रदेश नै बढी वैज्ञानिक रहेको बताए ।सभासद् हरिबोल गजुरेलले पहिचानका पाँच आधार र सामथ्र्यका चार आधारलाई बेवास्ता गर्न नहुनेमा जोड दिँदै आन्तरिक राष्ट्रिय एकतालाई सबल बनाउनका लागि सङ्घीयता आवश्यक रहेको धारणा राखे ।
No comments:
Post a Comment