Monday, June 9, 2014

आदिवासी जनजाति अधिकार सुनिश्चित गर्न सञ्चार अभियान शुरु (फोटो फिचर)

 काठमाडौं, २६ जेठ । नया संविधानमा आदिवासी जनजातिका अधिकार सुनिश्चित गर्न अभियान शुरु गरेको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको नेतृत्वमा शुभारम्भ कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता इन्द्रबहादुर गुरुङले मुख्य राजनीतिक दलहरु पहिचानका मुद्दाबाट पछि हटिरहेको अवस्थामा आन्दोलनको विकल्प नरहेको बताए । जनजाति नेताहरुले पार्टीका मुख्य गैर आदिवासी जनजाति नेता र पार्टीको धारणा बोल्ने गरेको बताए । 

कार्यक्रममा एमाओवादीका नेता वर्षामान पुनले अहिले मुख्य दलले उठाएको बहुपहिचान, बहुजातीय राज्य पुनःसंरचनाको मुद्दामा पहिचानबाट राज्य पुनःसंरचना गर्न समेत दलहरु तयार नरहेको बताए । जनजातिको मुद्दामा सडक आन्दोलन निर्णायक भएपनि बौद्धिक बहस बिना आन्दोलन सफल नहुने बताए । आदिवासी जनजातिमाथी राज्यको सोंच र स्वभाव र संस्कार नै विभेदकारी रहेको स्पष्ट पार्दै आदिवासी जनजाति संघसंस्थाले गर्ने हरेक आन्दोलनमाम आफ्नो साथ र पूर्ण समर्थन रहने प्रतिबद्धता ब्यक्त गरे । पार्टीका नेताले सधैं जातीय मुद्दालाई लिएर अघि बढ्न नसक्ने भएकाले यसका लागि ठोस र निर्णयक आन्दोलन आदिवासी जनजाति संस्थाले नै गर्नुपर्ने पुनले स्पष्ट पारे । 
नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्रकुमार कुमालले अव जनजातिको आन्दोलन उत्कर्षमा पुग्ने भएकाले कापी र कलम लिएर आन्दोलनका समाचार लेख्न तयार रहन आग्रह गरे । नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरले आदिवासी जनजाति पत्रकारहरुमाझ जनजातिका अधिकार र मुद्दाका विषयमा सुसूचित गराउने बताए । कार्यक्रममा फोनिजका सल्लाहकार खिम घलेले पत्रकारको भूमिका सूचनालाई दर्शक श्रोतासम्म पु¥याउने माध्यममात्र भएकाले एक्टरको भूमिका जनजाति नेता तथा संघसंस्थाले नै गर्नुपर्ने बताए । 
कार्यक्रमका अध्यक्ष तथा  फोनिज अध्यक्ष डण्ड गुरुङले संचार अभियानलाई निरन्तरता दिने क्रममा संघसंस्थाको भूमिका र अभियान अपरिहार्य रहेको बताए । कार्यक्रममा ‘नया“ संविधानमा आदिवासी जनजाति अधिकारका लागि सञ्चार अभियान’ का संयोजक मोहनसिं तामाले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमको उद्घाटन आदिवासी जनजातिको पहिचान बोकेको सांस्कृतिक ढोल, झ्याम्टा लगायत बजाएर सामूहिक रुपमा  गरीएको थियो ।

No comments: