Thursday, June 26, 2014

सेभेन समिट्स विमेन टिमद्वारा माउन्ट डेनाली सफलआरोहण

सेभेन समिट्स विमेन टिमले उत्तरी अमेरिकाको सर्वोच्च शिखर माउन्ट डेनालीको सफल आरोहण गरेका छन् । समूहका चार सदस्य चुनु श्रेष्ठ, आशा कुमारी सिंह, निम डोमा शेर्पा र पेमा डिकी शेर्पा र क्यामराम्यान आङ छिरिङ लामाले डेनालीको ६ हजार १ सय ९४ मिटर अग्लो चुचुरोमा बुधबार स्थानीय समयअनुसार दिउँसो १ः४५ बजे पुगी नेपालको झन्डा फहराएका थिए ।

पुजन आचार्य, माया गुरुङ, र शैली बस्नेतले भने स्वास्थ्य तथा अन्य व्यवस्थापनका कारण चढ्न सकेनन् ।  मौसम निकै प्रतिकूल भएकाले समूहले ५ दिन १४ हजार फिटमा अवस्थित क्याम्प १४ मा बस्नु परेको थियो । शिखर आरोहणको दिन पनि हावा र हिउँका कारण लो भिजिबिलिटी भएको शैलीले बताइन् । 
आरोहणपपछि समूह विभिन्न महत्वपूर्ण अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी भइरहेको छ । क्यानडाको टोरोन्टोमा हुन गइरहेको लायन्स क्लबको अन्तर्राष्ट्रिय सम्मेलनमा उनीहरुलाई वक्ताको रुपमा आमन्त्रण गरिएको छ । त्यसपछि अमेरिकाको स्टेट डिपार्टमेन्टले आयोजना गरेको एक हप्ते टुरमा सामेल उनीहरु हुनेछन् भने वासिङटन डीसी र लस एन्जेलसमा सरकारी उच्च तहका भेटघाट र मिडियासँगको अन्तक्र्रियामा पनि भाग लिनेछन् ।
सात महादेशका सात अग्ला हिमाल चढ्ने अभियानमा लागेको यो समूहको यो छैठौं हिमाल हो । आगामी पुस यिनले आफ्नो अभियानको अन्तिम हिमाल, अन्टार्कटिकाको माउन्ट भिन्सन म्यासिफ चढ्नेछन् । त्यसपछि सेभेन समिट्स सात महादेशका सात शिखर चढ्ने विश्वकै पहिलो महिला समूह हुनेछ ।

No comments: