Sunday, May 4, 2014

मेडिकल ट्रष्ट स्थापनार्थ आनन्द कार्की एकल साँझ हुँदै

काठमाडौं, बैशाख २१ । मेडिलकल ट्रष्ट स्थापना गर्ने उद्देश्यले गायक आनन्द कार्कीको एकल साँझ आयोजना गरिने भएको छ । गाउँले इन्टरटेन्मेन्ट प्रा.लि.ले सो कार्यक्रम आयोजना गर्न लागेको हो । 

जमलस्थित नाँचघरमा आउँदो जेष्ठ १२ गते सञ्चालन हुन लागेको एकल साँझमा गायक कार्कीको बेजोड प्रस्तुति रहने छ । गाउँले इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक बलबहादुर खालिङकाअनुसार सो अवसरमा गायक कार्कीले करिब डेढ दर्जन गीत सुनाउने छन् । देश विदेशमा दर्जनौं पटक सुनिएका गायक कार्कीले कार्यक्रममा आधुनिक, फिल्मी गीत र गजल सुनाउने तयारी गरिरहेका छन् । 

कार्यक्रम बेलुकी चार बजेबाट सुरु हुनेछ ।  उक्त साँझबाट संकलित रकमबाट वाकु प्रतिष्ठान नेपाल मेडिकल ट्रष्ट स्थापना गरिने गाउँले इन्टरटेन्मेन्टले जनाएको छ । उक्त कार्यक्रमको न्युज पार्टनरको रुपमा शिखर पोष्ट रहेको छ भने अरनिको टेलिभिजनले कार्यक्रमको प्रत्यक्ष प्रशारण गर्नेछ । 

गायक कार्कीले हालसम्म नेपाली र विभिन्न भाषाका ५ सय भन्दा बढि गीत रेकर्ड गराईसकेका छन् भने १४ वटा सोलो एल्बम निकालिसकेका छन् । ‘यि हल्लाहरु हुन्, ‘फेरि तिम्रो याद आयो’, ‘म तिमी बिना मरिहाल्छु नी’ जस्ता गीत कार्कीका केही चचिर्त गीतहरु हुन् ।

No comments: