सोलुखुम्बु, २२ बैशाख । पर्यटक र उनीहरुका सहयोगीले खचाखच हुनुपर्ने सोलुखुम्बुका होटलहरु अहिले सगरमाथा आरोहीहरुका सामानले भरिएका छन् । हिमपहिरोमा परेर १३ जना पथप्रर्दशको ज्यान गएपछि सगरमाथा आधार शिविर नजिकका होटल र लजमा आरोहीका बन्दोबस्तीका सामान भरिभराउन छन् ।
सगरमाथा आरोहणका लागि गएका दलले आरोहण रद्द गरी अर्को पटकका लागि थन्काउदा आधार शिविर नजिकको गोरप्सेप तथा लबुचेका होटलहरु सामानले भरिएका हुन् । महिना दिनसम्म आधार शिविरमा आवश्यकपर्ने खाद्यान्न र आरोहणका लागि आवश्यकीय उपकरण बोकेर फिर्ता ल्याउँदा झनै खर्चिलो हुने भए पछि सम्बन्धित आरोहण दलले आधार शिविर नजिकै थन्काएका हुन् । ३१ आरोहण दलका सामान थन्काउने प्रशस्त ठाउँ नहुँदा व्यवस्थापन गर्नसमेत गाह्रो भएको आरोहण दलका पथप्रदर्शकहरु बताउँछन् । आरोहणको सिजनको शुरुवातमै हिमपहिरोमा पथप्रर्दशकले ज्यान गुमाएपछि सामान खपत नहुँदा थन्क्याएर राख्न ठूलो कोठाको आवश्यक भएको आरोहीहरु बताउँछन् ।
‘कतिपय आरोहण दलका आरोहीहरु आउने क्रममा थिए, उनीहरुको सामान आधार शिविरमा मात्र आइपुगेको थियो, त्यसैले सामानले पनि धेरै ठाउँ ओगट्ने भएपछि ठाउँ पाउनै गाह्रो भयो ।’ आरोहण सहयोगी ङमिा जाङबु शेर्पाले भने । सामान थन्काउने ठाउँको अभावमा एकअर्कामा साटिने, हराउने र टुटफुट हुने सम्भावनासमेत बढेको उनीहरु बताउँछन् । कतिपय खाद्य पदार्थको उपभोग्य मिति सकिने हुनाले त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेमा धेरै समस्या भएको पथप्रदर्शक साजन कुलुङले बताए ।
आरोहणका लागि आवश्यकीय उपकरण तथा बस्दोबस्तीका सामान अर्को मौसमका लागि काम लाग्ने भए पनि खाद्यान्न तथा उपभोग्य सामानको उपभोग्य म्याद गुजि्रने हुँदा यसले समस्या निम्त्याउने आरोहीको भनाइ छ । आरोहीले लगेका ती खाद्य सामग्री आधा मूल्यमा बिक्री गर्न चाहँदासमेत स्थानीय होटलहरुले किन्न नमानेको उनीहरु बताउँछन् । यस मौसममा सकिएपछि अब आफूहरुको व्यापार पनि अर्को मौसममा मात्र हुने भएकाले त्यो सामान किन्न नसक्ने व्यवसायीहरुले बताएका छन् ।
No comments:
Post a Comment