Sunday, April 6, 2014

अनिश खालिङ राईको जिवन रक्षार्थ कुटनीतिक पहल सुरु

काठमाडौ, चैत्र २३ - अनिश खालिङ राई बचाऊ अभियान समितिले युएई दुबईमा मृत्यदण्ड सजाय सुनाइएका खलिङ राईको जीवन रक्षार्थका लागि कुटनीतिक पहल सुरु गरेको छ । समितिले आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अदालतबाट तोकिएको ब्लडनी संकलन कार्य बन्द गरी कुटनीतिक पहल सुरु गरिएको घोषणा गरेको हो ।  

समितिका संयोजक नारदकुमार राईले अदालतले तोकेको आवश्यक रकम उठिसकेको र अनिशलाई सकुशल स्वदेश फर्काउन कुटनीति पहल सुरु गरिएको जानकारी दिए । 'अदालतले तोकेको ब्लडमनी उठाउने काम सम्पन्न भइसकेको छ,' राईले भने, 'कुटनीति र कानुनी पाटोलाई प्रभावकारी रुपमा अघि बढाउनका लागि नेपाल सरकारको तर्फबाट तुरुन्तै पहल हुनुपर्दछ ।'


अभियान समितिले अहिलेसम्म प्रधानमन्त्री सुशील कोइराला, परराष्ट्र मन्त्री महेन्द्र पाण्डे र श्रम राज्यमन्त्री टेकराज गुरुङलाई भेट गरी अनिशलाई सकुशल स्वदेश फिर्ता ल्याउन आग्रह गरेको छ । 'सरकारले यसअघि मृत्युदण्ड सुनाइएका डोल्मा शेर्पालाई बचाउन चारलाख रुपैयाँ सिडमनी उपलब्ध गराएको थियो, त्यसै अनुसार अनिशलाई पनि सरकारले ब्लडमनी प्रदान गर्ने आशा राखेका छौं,' संयोजक राईले भने ।

यसैबीच, अनिशको जीवन रक्षार्थ युएई दुबईमा संकलित २५ लाख रुपैयाँ रकम उमेर राई, संखुवासभा समाज बेलायतमा संकलित ११ लाख ५४ हजार भरत कुमार राई र वाम्बुले राई समाज बेलायतमा संकलित ४५ हजार रुपैयाँ गणेश राईले अभियान समितिका संयोजक नारदकुमार राई र अनिशकी श्रीमती रबिता राईलाई हस्तान्तरण गरेका छन् ।

दुबई अदालतले ब्लडमनीका रुपमा करिब ८६ लाख रुपैयाँ माग गरेको छ । स्वदेश र विदेशबाट उठेको रकम बढी भएपनि त्यसलाई पारदर्शी राख्ने समितिले प्रतिवद्धता जनाएको छ । 'अनिशलाई सकुशल उद्धार गरी नेपाल अवतरण गरुन्जेलसम्म जति खर्च हुन्छ, बाँकी रकम लेखा परीक्षण गरेर सार्वजनिक गर्नेछौं,' अभियानका सञ्चार संयोजक प्रकाश खालिङले भने, 'उभि्रएको रकम अनिशजस्तै विदेशमा आपतविपतमा परेकालाई सहयोग अक्षयकोष निर्माण गर्ने सोचाइ रहेको छ ।'

संखुवासभा मत्स्यपोखरी-३ निवासी अनिश खालिङ राई २०६८ सालमा घरेलु कामदारका रुपमा दुबईमा कार्यरत थिए । उनलाई सहकर्मी पाकिस्तानी नागरिकले यौनदुर्व्यवहार गरेको र त्यसको प्रतिकार गर्ने क्रममा तिनको मृत्यु भएपछि त्यही आरोपमा त्यहाँको अदालतले अनिशलाई मृत्यदण्डको सजाय सुनाएको थियो ।

No comments: