Wednesday, April 9, 2014

जनयुद्धका ती रोमाञ्चक दिन

 डा. बाबुराम भट्टराई
तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा २०५२ फागुन १ गतेदेखि २०६३ मंसिर ५ गतेसम्म सञ्चालित सशस्त्र जनयुद्ध नेपाली इतिहासमा चीरकालसम्म उल्लेखित भैरहने युगान्तकारी परिघटना हो । त्यो महान क्रान्तिकारी प्रक्रियामा प्रत्यक्ष संलग्न भएका दशवर्ष नौ महिना, अर्थात् ३,९३० दिन, मेरो जीवनका पनि सबैभन्दा महत्वपूर्ण र रोमाञ्चक दिन हुन् । गोलाबारुदको छाँयामुनि विताएका भूमिगत जीवनका ती दिन सम्झदा अहिले पनि शरीर रोमाञ्चित भैरहन्छ । ती संघर्षमय र तीब्रगतिका दिनको सबै फेहरिस्त अहिले संभव छैन । तर केही घटना र परिवेश मनमस्तिष्कमा निरन्तर तरंगित भैरहन्छ । जनयुद्धमा संलग्न शीर्षस्थ नेतृत्वमध्ये म सार्वजनिक रुपमा सबैभन्दा बढी चिनिएको हुनाले भूमिगत जीवन मेरा निम्ति सबैभन्दा कठिन र जोखिमपूर्ण थियो । जहाँ गए पनि बच्चाबच्चासम्मले चिन्ने खतरा ! जनयुद्ध शुरु हुनुभन्दा दुई दिन पहिले मात्र म काठमाडौं छोडेर नयाँ कार्यक्षेत्र पश्चिमाञ्चलको नेतृत्व सम्हाल्न पोखरातिर लागेको थिए । त्यतिवेला हामीले स्याङ्जाको एउटा विकट गाउँमा पार्टी र युद्धको केन्द्रीय कमाण्ड कार्यलय राख्ने सोचेका थियौ । तर सशस्त्र गतिविधि शुरु भएको दुई महिना जति पछि वोध भयो तत्काल देशभित्र एउटै ठाउँमा स्थिर भएर नेतृत्व सुरक्षित रहन सक्दैन । त्यसपछि हामीले देशभित्र र बाहिरका विभिन्न ठाउँहरुमा सेल्टर परिबर्तन गरिरहने नीति अपनायौं । तत्कालीन महामन्त्री र पछि अध्यक्ष क. प्रचण्ड र म प्रायः एउटै इलाकामा तर वेग्लावेग्लै घरमा रहन्थ्यौ दश बर्षमा करिब २५–३० सेल्टर परिबर्तन भएछन् । अर्थात् करिब ४-५ महिनामा नयाँ सेल्टर !

प्रत्येक ठाउँ र सेल्टरमा रहँदाका रमाइला अनुभव र अनुभूति छन् । प्रत्येक ठाउँमा नयाँ नाउँ, नयाँ पेशा र नयाँ परिचय बनाउँदा कहिले काँही आफै झुक्किन पुग्ने ! देशभित्र भन्दा देश बाहिर बस्न झन् गाह्रो र खतरापूर्ण ! देशभित्र आफ्नै सशस्त्र जनमुक्ति सेनाको सुरक्षा घेराभित्र बस्न पाइन्थ्यो भने बाहिर जाँदा पूरै रामभरोसे ! क. किरण, क. राम कार्कीलगायतको गिरफ्तारीले त्यसै खतराको घण्टी बजाइरहन्थ्यो । तैपनि हामी कहिले विश्वविद्यालयको प्रोफेसर, कहिले एनजिओकर्मी, कहिले व्यवसायीको भेषमा छक्याउने कोशिश गथ्र्यौ । क. हिसिला यमि र मेरो कार्यक्षेत्र प्रायः फरकफरक हुनाले हामी फरकफरक ठाउँमा नै बस्थ्यौं । एक दुई महिना भेट भैरहन्थ्यो । एक ठाउँमा घरबेटी महिलाले हाम्रो सम्बन्धबारे शंका गरिछन् । क. हिसिलालाई लुकाएर राखेकी कान्छी श्रीमती पो हुन् कि भन्ने शंका गरेर सोधी पनि हालिछन् त्यो सुनेर हामी निकै हाँसेथ्यौ ।
देशभित्र चाहि सुरक्षा घेरा निकै टाइट हुन्थ्यो । निश्चित सम्पर्कको जिम्मेवार मान्छे बाहेक अरुलाई हाम्रो वास्तविक परिचय थाहा हुन्नथ्यो । कमसेकम हामीलाई त्यस्तै लाग्दथ्यो ! २०६१ को माघमा रुकुमको लावाङमा भएको पोलिटव्यूरो बैठकले क. हिसिला, क. दिनानाथ र मलाई राजनीतिक कारणले कार्वाही ग¥यो । हामी रोल्पाको खरीवोट नजिकैको सेल्टरमा फक्र्यौ । राति सुरक्षामा खटिएका साथीहरु आएर धुरु धुरु रोए ! किन रोएको भनेर सोध्दा अधिकांश रुकुम र सल्यानका ती कामरेडहरुले अत्यन्त भावविह्ल हुँदै भने –“हामी त स्कुलमा पढ्दा पढ्दै तपाईको नाम सुनेर जनयुद्धमा लागेका, तर अब तपाईलाई कारवाही भएपछि हामी पनि यो आन्दोलनलाई छोड्छौ । ” हामीले त्यसो गर्न हुन्न भनेर सम्झायौ । पछि थाहा लाग्यो, ती कतिपयले जनयुद्ध छोडेर हिंडेछन् ।


जनयुद्धमा प्रायः नीति र योजना निर्माण तथा राजनीतिक कमिसारको भूमिका निर्वाह गर्ने तर प्रत्यक्ष फौजी कार्वाहीमा संलग्न हुनु नपर्ने भएकाले हामीलाई प्रत्यक्ष शारीरिक जोखिम र क्षतिको अनुभव भएन । परन्तु तत्कालीन राज्यपक्षको सेनाका निशाना र घेराबन्दीका केही निकटका रोमाञ्चक अनुभव रहे । एक पटक रोल्पाको मिरुलको सेल्टरमा सेनाको हेलिकप्टरले बमबर्षा ग-यो तर बम केही पर खस्यो र कुनै क्षति भएन । अर्कोपटक पूर्वी पाल्पाबाट स्याङजा, पर्वत, गुल्मी, प्यूठान हुँदै रोल्पातिर जान लाग्दा गुल्मीको इन्द्रेगौडामा शाहीसेनाले घेरावन्दी ग-यो । त्यहाँबाट उम्केर हामी वाग्लुङतिर लाग्यौ । त्यहाँ पनि हेलिकप्टरबाट बमवर्षा हुन थालेपछि हामी रातारात गुल्मीको रिडी हुँदै पश्चिम पाल्पा पुग्यौ । रिडी नजिक पुग्दा बाटै मुनि ठूलो विष्फोटको आवाज आयो । हामीले अब साच्चिकै घेरावन्दीका प¥यौं भन्ने ठान्यौ । पछि थाहा भयो – नजिकै मसानघाटमा पोलिदै गरेको लासको टाउको पो पड्किएको रहेछ ! यो २०६० साल दशै ताकाको कुरा हो ।
एक पटक हामी बुटवलतिरबाट नारायणगढतिर आउँदै थियौ । दाउन्ने नजिक शाही सेनाको चेकिङमा प¥यौं । जति चेहरा लुकाउन खोज्दा पनि चिनि हाले । अब खेल खतम भयो भन्ने लाग्यो । तर संयोगवश सेनामा कार्यरत एकजना आफ्नै नजिकका नातेदार परेछन् । उनले नचिने झै गरेर छोडिदिए । धन्न जोगियो ! अर्को पटक मोटरसाईकलमा पाल्पाबाट पोखरा आउँदै थियौ । स्याङजाको गल्याङ नजिक मोटर साइकल पल्टेर मेरो दाहिने हात भाँचिन पुगेछ । पोखरामा एक जना विश्वासिला डाक्टर कहाँ उपचार गरियो । त्यहाँ कार्यरत एकजना स्वास्थयकर्मीले बढी उत्साहित भएर गोपनियता खोलिदिएछन् । हामी पोखराबाट नारायणगढ, बुटवल हुँदै गोरखपुरतिर लाग्यौ । तर अर्को दिन हामी जुनजुन सेल्टरमा बस्दै गएका थियौ, ती ठाउँमा गुप्तचरहरु सोधखोज गर्दै पुगेछन् । धन्न ती मित्रले केही ढिलो गरेर पोल खोलिदिएकाले बाँचियो !

बाह्र बुँदे समझदारी र २०६२÷६३ को संयुक्त जनआन्दोलन पछि २०६३ जेठमा तत्कालीन सरकार र नेकपा (माओवादी)बीच युद्धविराम सम्झौता भयो । असार दुई गते कास्कीको सिक्लेसबाट अध्यक्ष क. प्रचण्ड र म तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलासँग हेलिकप्टरमा बालुवाटार आयौ । त्यसदिन सम्पन्न आठ बुँदे सहमति नै वास्तवमा नेपाली शान्तिप्रक्रियाको आधारशिला थियो । जसको जगमा टेकेर २०६३ मंसिर ५ गते बृहत शान्तिसम्झौतामा हस्ताक्षर भएको थियो र जनयुद्धको विधिवत समापन भएको थियो ।

बृहत शान्ति सम्झौताका कतिपय महत्वपूर्णपक्ष अझै कार्यान्वयन हुन बाँकी नै छन् । खासगरी सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता खोजविन आयोग गठन, वैज्ञानिक भूमिसुधारको कार्यान्वयन, संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण आदि कार्याभार पूरा नभएसम्म शान्ति प्रकृया पूरा भएको मानिने छैन । त्यतिवेलासम्म जनयुद्धमा प्रत्यक्ष संलग्न हामीहरुको अन्तस्करण पनि घोचिरहने छ ।

जनादेश साप्ताहिक

No comments: