Tuesday, April 22, 2014

सगरमाथा आरोहण जारी राख्ने पर्यटन व्यवसायीहरुको भनाइ

काठमाडौं, ९ बैशाख । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण नियमितरुपमै जारी रहने आरोहण सम्बद्ध संस्थाहरूले जनाएका छन् । यही वैशाख ५ गते १३ जनाको ज्यान जाने गरी आएको हिमपहिरोपछि आरोहणमा गएका पथप्रदर्शक धमाधम फर्किन थाले भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि सर्वत्र यसप्रति चासो बढेको छ ।


समाचारमा आएजस्तो हल्ला सत्य नभएको र आरोहण अनुमति लिएका आरोही दलले आरोहण गर्नकै लागि अहिले सगरमाथा आधार शिविरमा रहेका छन् ।

हिमाल आरोही सङ्घका अध्यक्ष वाङ्चु शेर्पाले भने- आरोहण कार्यलाई कसैले रोक्न सक्दैन, आरोहण दलका टोली नै फर्के भने कसैको केही लाग्दैन । घटनापछि अहिले बीचमा केही साना टोली फर्केका छन् तर ठूला टोलीले त्यस्तो निर्णय गरिसकेका छैनन् ।
दुर्घटनापछि अहिले सबै आरोही सगरमाथाको आधार शिविरमा जम्मा भएको बताइएको छ । दुर्घटना भएको भन्दा छ हजार ५०० मिटरमाथि १५/१६ जना आरोही रहेको र तिनीहरू पनि आजै आधार शिविर उनले बताए । शेर्पाका अनुसार अहिले सगरमाथा आरोहणका लागि आधार शिविर क्षेत्रमा  शेर्पा, विदेशी आरोही गरी करिव तीन हजार ५ सय जना पर्खेर बसेका छन् भने करिव एक हजार ५ सय जना फर्किसकेका छन् ।

घटनामा मृत्युभएकालाई ४० हजार रकम दिएकामा सरकारलाई धन्यवाद दिँँदै अध्यक्षले भने- यो अलि अपुग भयो, त्यसमा केही वृद्धि गरी परिवार र बालबच्चालाई शैक्षिक तथा रोजगारीमा लगाइदिए राष्ट्रिय सम्पत्ति हुने थियो ।  पीडित परिवारको असाध्यै विचल्ली छ ।

सगरमाथाको घटना प्राकृतिक प्रकोप भएकाले संसारका कुनै पनि वैज्ञानिकले रोक्न नसक्ने र यसमा कसैको दोष नभएको उनले बताए ।

यसअघि सन् १९७३/७४ मा गएको हिमपहिरोमा २० जनाको मृत्यु भएको थियो । त्यसताकाको पहिरो सामान्य थियो तर यसपटकको पहिरो अहिलेसम्मकै भयानक हो । बीचमा एक दुई जना मात्र मर्ने गरेका थिए । सन् १९९६ मा यस्तै दुर्घटना हुँदा आठ जना विदेशीको मृत्यु भएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७०/७१ को साउन महिनादेखि चैत मसान्तसम्म २६० वटा पर्वतारोहण दलले हिमाल आरोहणको अनुमति प्राप्त गरेका छन् । यसमा सगरमाथामा मात्र ३१ वटा दलले अनुमति प्राप्त गरेका छन् ।

सगरमाथा क्षेत्रको पर्वतारोहण संसारका धेरै मानिसको रुचि र चाखको विषय भएकाले यसलाई थप सुरक्षित, विश्वसनीय र आकर्षक बनाउन सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रतिबद्धता जनाएको छ ।

मन्त्रालयले हाल भएको दुःखद् घटनाबाट प्राप्त अनुभवको समेत उपयोग गरी सुरक्षितरुपमा आरोहण गतिविधि सञ्चालन गर्न शेर्पा, सरदार, उच्च क्षेत्रका कामदार, सहयोगी र पर्वतारोहण व्यवसायीलाई आग्रह गरेको छ ।

सगरमाथा, ल्होत्से र नुप्त्से हिमालको आरोहण मार्गमा पर्ने खुम्बु आइसफलको करिब पाँच हजार ९०० मिटरको उचाई -क्याम्प एक नजिक) मा गत बैशाख ५ गते बिहान हिमपहिरो गएको थियो ।

हिमपहिरोमा परी यस वर्षको वसन्त ऋतुको आरोहणका लागि तयारी गर्न गएका शेर्पा पथप्रदर्शक, उच्च हिमाली कामदार र सहयोगी व्यक्ति छ जनाभन्दा बढी घाइते भएको, तीन जना हराइरहेका र १३ जनाको निधन भएको थियो ।
सिबी अधिकारी/रासस

No comments: