Monday, April 21, 2014

सगरमाथा आरोहण नगर्ने निर्णय, सरकार चुप

शिखर पोस्ट रिपोर्टर 
काठमाडौं, ८ बैशाख । सगरमाथा आरोहीका सरदार तथा शेर्पाहरुले यसबर्ष सगरमाथा आरोहण नगर्ने निर्णय गरेका छन । सम्पूर्ण आरोहीलाई पेन्सनको व्यवस्था गर्नुपर्ने, आरोहणका क्रममा मृत्यु हुनेका परिवारका बालबच्चालाई निशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने, आरोही सहयोगीको जीवन बिमा बढाएर २० लाख रुपैयाँ पुर्याउनुपर्ने लगायतका  विभिन्न १२ बुँदे माग अघि सार्दै आईतबार उनीहरुले यस्तो निर्णय गरेका हुन । सहयोगीले आरोहण त्याग्ने निर्णय गरेपछि महँगो रोयल्टी तिरेर आरोहणमा आएका विदेशी पर्यटकलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा समस्या उत्पन्न भएको छ। 

आरोहण त्याग्ने वा नत्याग्नेबारे आधार शिविरमै लामो बहस भएको थियो। बैठकमा सहभागी आरोहण सहयोगीका अनुसार विदेशी पर्यटकले भने चुचुरोतर्फ जानुपर्ने दबाब दिएका थिए। नेपाली सहयोगीहरूले भने यस्तो अवस्थामा माथि जान नसक्ने अडान लिएका थिए। सरकारले भने यसको औपचारिक पुष्टि गरेको छैन। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन महाशाखाका अधिकृत तिलक पाण्डेका अनुसार आरोहण सहयोगीको त्यस्तो कुनै निर्णयको जानकारी आइसकेको छैन। सहयोगीहरूले भने आआफ्ना कम्पनीलाई निर्णयबारे जानकारी गराइसकेका छन्।

सगरमाथामा शुक्रबार गएको हिमपहिरोमा परी १२ जनाको मृत्यु भएको थियो भने ४ जना हराईरहेका छन् । यस वर्ष एक नेपाली र ३० विदेशी दलका तीन सय ३४ जना आरोहीले सगरमाथा चढ्ने अनुमति लिएका छन्।


No comments: