मिहेनतले सफलता दिलाउँछ । जसले संघर्ष गर्छ, उसको जीवन जहिले पनि सफल नै हुन्छ । निरकुमार (निरु) खालिङ राईले त्यसलाई प्रमाणित गरेर देखाउनुभएको छ । सफल पर्यटन व्यवसायीको रुपमा राष्ट्रिय स्तरको पहिचान बनाइसक्नुभएका राई एडभेन्चर जिइओ टे«क्स एण्ड एक्स्पीडिसनका प्रबन्ध निर्देशक हुनुहुन्छ । वि.सं. २०१६ साल मंसीर १६ गते नरबहादुर राई र कविमाया राईको कोखबाट भुटानमा जन्मिनुभएका राईको स्थाई घर भने सोलुखुम्बु जिल्लाको बासा गाविस वडा नं ६ मा पर्छ । आफ्नो बुवाआमाले भुटानलाई कर्मथलो बनाएर बसोबास गर्ने क्रममा उहाँ जन्मिनुभएको हो । तर उहाँ जन्मेको ६ महिनाकै उमेरमा सपरिवार नेपाल फर्र्र्किनुभयो । उहाँका बुवा एक्लो छोरा हुनुहुन्थो । निरुका फुपू र फुपाजु भुटानसम्मै लिन आएपछि २०१६ मा सपरिवार नेपाल फर्किनुभएको थियो । निरुको बाल्यकाल अत्यान्तै कष्टकर एवं संघर्षपूर्ण तरिकाले बित्यो ।
भुटानबाट आएपछि झण्डै दुई दशक त्यही बासाको कुनाकन्दरासँगै उठबस गर्नुभयो उहाँले । यसबीचमा उहाँले थुप्रै संघर्षका घडिहरु पार गर्नुप¥यो । बुवा र आमाले गाउँ छाडेपछि खेतिपाति राम्रो हुन सकेन । उहाँहरु गाउँ फर्किंदा सबै लगाथिङ्ग र भाताभुङ्ग भइसकेको थियो । घरबासको अवस्था नाजुक भईसकेको थियो । उहाँका हजुरबा र हजुर आमा पनि पहिल्यै बितिसक्नुभएको थियो । उहाँकै शब्दमा भन्दा उहाँहरु गाउँ फर्किदा गाउँमा रहेका जमिन र घरमा भएका भाँडाकुँडाहरुसमेत थिएन । ‘कहाँ कसले लग्यो त्यो त खोजी गरिएन’ शिखर पोष्टसँग कुराकानी गर्दै उहाँले भन्नुभयो ‘ठूलो परिवार भएका कारण बाउँबाजेको सम्पतिहरु पनि रित्तिदै गयो । बिस्तारै खान लाउनको समेत समस्या हुन थाल्यो । ऋण थपिदै गयो । त्यसैकारण स्कुल पढ्ने अवसर मलाई भएन ।’
अवसरको खोजी गर्दै जाने क्रममा वि.स. २०३६ सालमा उहाँ काठमाडौं छिर्नुभयो । उहाँका दिदि बहिनी १० जना थिए र दाजुभाइ जम्मा ४ जना । आफ्ना सन्तान मासिने क्रम तिब्र भएपछि उहाँका बुवाआमाले भाकल गर्नुभएको रहेछ । दोलखाको भिमसेनथानको बुवा आमाले गरेको भाकल फुकाउन आउनुभएको थियो । साथमा उनको ठुली आमाको छोरा पनि । हिडेरै सिन्धुपाल्चोकको लामसाँघुसम्म आउनुभयो । फर्किदा नुन बोकेर ल्याउने भनेर हिडेको तर त्यहाँबाट जिन्दगीकै गन्तव्य मोडियो । संयोग कस्तो मिल्यो भने त्यहाँ ११ जना बिदेशी पर्यटकहरु घुम्न भनेर आएकाहरुसँग भेट भयो । उनीहरुलाई ट्रेकिङका लागि पोर्टर चाहिने रहेछ । उहाँले त्यही विदेशीको भारी बोकेर फर्किनुभयो । पोर्टरको रुपमा लुक्लासम्म पुग्दा उहाँमा टे«किङप्रति एक प्रकारको मोह बसिसकेको थियो । त्यस गु्रपका सरदार आङछयोतार शेर्पाले पनि उहाँको ईमान्दारीतालाई मन पराए र काठमाडौं बोलाए । शेर्पाबाट १० रुपैयाँ बस भाडा लिएर घर फर्किनुभएका निरुले त्यत्तिखेरै कुक बन्ने सपनासम्म देख्न थालिसक्नुभएको थियो ।
त्यसपछि निरुलाई सपनाको काठमाडौं छिर्ने ढोका त खुल्यो तर, उहाँको चाहानाअनुसार चाडै काठमाडौं आउने वातावरण घरबाट मिलेन । उहाँले परिवारमा बारम्बार काठमाडौं आउने अड्डी कस्न थाल्नुभयो । निकै लामो समयको अन्तरालपछि उहाँको प्रस्तावलाई स्वीकार गर्दै उहाँका बुवाले नै काठमाडौं पु¥याउनुभयो । काठमाडौं आएपछि झण्डै दुई वर्षसम्म शेर्पाकै कै घरमा काम गरेर बस्नुभयो ।
काठमाडौंमा अरुको घरमा काम गर्नुभन्दा टे«किङ जान पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो उहाँलाई । तर उहाँलाई टे«किङ जाने अवसर मिलेन । पछि जिद्धि गरेरै टे«किङ जान थाल्नुभयो । इमान्दार निरुले टे«किङ गरेको ९ बर्षपछि मात्रै टे«किङ गाइड भएर काम गर्ने अवसर प्राप्त गर्नुभयो । त्यसको पनि धेरै कारणहरु छन् । त्यसबेलासम्म उहाँले कम्तिमा २५ वटा कम्पनिबाट पोर्टर, किचन र कुकको रुपमा टे«किङ गरिसक्नुभएको थियो । पछि उहाँले आफ्नै ट्रेकिङ कम्पनीसमेत स्थापना गर्नुभयो । सुन्यबाट कम्पनी सुरु गरेको छोटै समयमा उहाँले निक्कै सफलता हात पारिसक्नुभएको छ । अहिले उहाँको कम्पनी एडभेन्चर जिइओ टे«क्समा पथप्रदर्शकको रुपमा काम गर्ने मात्रै ३९ जना छन् । आफ्नो कम्पनीमा बार्षिक करिब २ सय हाराहारीमा गु्रपहरु आउने गरेको उहाँले जानकारी दिनुभयो ।
हालसम्म उहाँले अष्ट्रिया, इटली, फ्रान्स, स्वीजरल्याण्ड, जर्मन, डेनमार्कजस्ता युरोपियन देशका साथै थाइल्याण्ड, इन्डिया, भुटान, चाइनालगायतका दर्जन जति देशहरुको भ्रमण गरिसक्नुभएको छ । टे«किङ गर्ने क्रममै २५ पटक त टिबेट पुग्नुभएको छ भने नेपालको पनि अधिकांश जिल्ला पुगिसक्नुभएको छ । सुदुरपश्चिम हुम्ला जुम्लादेखि मेचिका हिमाली क्षेत्रको प्रत्येक गाउँ पुग्नुभएको छ । अझैपनि त्यस क्षेत्रको प्रत्येक टोलमात्रै नभएर प्रत्येक घरको समेत याद छ उहाँलाई । सकारात्मक दृष्टिकोण राखियो भने सबै कुरा राम्रो हुने उहाँको धारणा छ । ‘आफुले थुप्रैखालका समस्याहरुको अनुभव गरेको हुनाले सकेसम्म अरुको दुःखमा साथ दिन मन लाग्छ’ उहाँ भन्नुहुन्छ । आफु बाच्नुमात्रै ठूलो कुरा होइन अरुको पनि भलो हुनुपर्छ भन्ने उहाँ पर्यटन व्यवसायको अलावा समाजसेवामा समेत समर्पित हुनुहुन्छ । हाल उहाँ बासा फाउण्डेसनका प्रमुख, किरात खालिङ राई उत्थान संघका केन्द्रीय सल्लाहकारसमेत हुनुहुन्छ ।
आफनो आम्दानीको केहि हिस्सा सामाजिक कार्यमा लगानी गर्दै आउनुभएको छ । शिक्षा, स्वास्थ्य र गाउँको विकासका लागि आर्थिक सहयोग प्रदान गर्दै आउनुभएको छ । कुराकानीकै क्रममा उहाँले नेपाल पर्यटकीय हिसाबले प्रचुर सम्भावना भएपनि त्यसको उचित सदुपयोग गर्न नसकिएको बताउनुभयो । नयाँ गन्तव्यको पहिचान तथा ग्रामिण पर्यटन प्रवद्र्धनमा जोड दिनु अहिलेको आवश्यकता रहकोमा उहाँको जोड रहेको छ ।
वि.स. २०४२ सालमा जनसरी राईसँग माघी विवाह गर्नुभएका निरु खालिङ राईका दुई छोरा मलिन र किरण अनि एक छोरी सुनिता खालिङ राई छन् । जेठा छोरा मिलन भरखरैमात्र धरानका नविना राईसँग विवहाबन्धनमा बाधिनुभएको छ ।
No comments:
Post a Comment