Saturday, April 5, 2014

स्थानीयलाई राष्ट्रियकरण गर्नु अहिलेको चुनौति

मनोज श्रेष्ठ नेपाल पत्रकार महासंघ, सोलुखुम्बुका नवनिर्वाचित अध्यक्ष हुनुहुन्छ । विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल श्रेष्ठ हालै सम्पन्न महासंघको निर्वाचनबाट अत्याधिक मत ल्याई अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । सोलु एफएमको स्टेसन म्यानेजर भएर काम गरिसक्नुभएका उहाँ हाल शिखर एफएमका स्टेसन म्यानेजरको रुपमा कार्यरत हुनुहुन्छ । व्यवसायीक पत्रकारितालाई बढावा दिनुलाई आफ्नो पहिलो दायित्व ठान्ने उनै श्रेष्ठसँग शिखर पोष्टले गरेको कुराकानीको सम्पादित अंशः

पत्रकार महासंघमा तपाईको जीत खास केका लागि ?
लोकतान्त्रिक अभ्यासको क्रममा एउटा पक्षको जीत र अर्कोपक्षको हार निश्चित छ । तर, मैले यसलाई जित र हारको रुपमा लिएको छैन । एक किसिमले हामी सहमतिको प्रयासमा अगाडि बढ्दा बढ्दै चुनाव नै हुन पुग्यो । एउटा व्यवसायीक पत्रकारहरुलाई अगाडि बढाउने सवालमा र सोलुखुम्बुको पत्रकारितालाई व्यवसायिकता र अझ बढि स्तरीयता प्रदान गर्नका निम्ति साथीहरुले मलाई अलिक बढि विश्वास गर्नुभएको हो भन्ने लाग्छ ।


जिल्लाको पत्रकारिता क्षेत्रबाट सन्तुष्ट हुनुहुन्छ ?
२०६१ सालमा जसरी चाही मुलुकभरि जम्मा ७÷८ वटा रेडियो सुरु भै रहँदाखेरी योङस्टार क्लबले पहल गरेर सोलु एफएमको सुरुवात ग¥यो । त्यत्तिखेरको स्थिति र आजको स्थितिमा आकाश जमिनको फरक छ । खासगरी यो पछिल्लो समयमा सञ्चारप्रतिको मोह बढ्दै जानुको पछाडि राजनीतिक पनि स्वत जोडिएर आउछ । हरेक सञ्चार माध्यममा हे¥यौ भने कुनै न कुनै रुपबाट राजनीतिक व्यक्तिहरुको संलग्नता भएको हामी पाउछौं । यस हिसाबले राजनीतिक रुपमा आफ्नो स्वार्थपुर्ति गर्ने हिसाबले पनि कतिपय साथीहरु रेडियो पत्रिका तिर आवद्ध भएको हो की भन्ने देखिन्छ । सञ्चार माध्यमको संख्यात्मकता बढ्दै जानु एक हिसाबले सकारात्मक रुपमै पनि लिनुपर्छ । संख्यात्मक बृद्धिसँगसँगै गुणात्मकतालाई पनि बढावा दिनु जरुरी छ । र पत्रकारिताको मुल धर्मलाई हामीले अंगीकार गरेर अघि बढ्ने हो भने चाहे जुनसुकै उद्देश्य होस् चाहे राजनीतिक रुपबाट आफ्नो स्वार्थ पुरा गर्न जुन सुकै हिसाबले पनि ति सञ्चार गृहहरु सञ्चालनमा आएको भएपनि पत्रकारिताको धर्मलाई नछाड्ने हो भने सोलुलाई घाटा चाँही हुँदैन ।

व्यवसायीक पत्रकारिताको अभ्यास हुन सकेको छैन भन्न खोज्नुभएको हो ?
महासंघको सवालमा कुरा गर्ने हो भने यो भन्दा अगाडि महासंघ आफै पनि थुप्रै समस्याहरुबाट गुज्रेको थियो । महासंघको तर्फबाट गर्नुपर्ने जतिपनि कामहरु थिए, ती कामहरु गर्न सकिएन । पत्रकारितालाई व्यवसायिकता प्रदान गर्नका निम्ति विगतमा सञ्चारगृहहरुले गरेको पाइदैन । पत्रकारितामै तल्लिन हुनुभएका पत्रकार साथीहरुले आ–आफ्नो क्षेत्रबाट सामान्य पहल गरेको बाहेक संस्थागत हिसाबले त्यसको खासै चासो दिइएको अवस्था छ जस्तो लाग्दैन ।

तपाई आफै पनि शिखर एफएमको स्टेशन म्यानेजर, जिल्लाका मिडियाहरुबीच अस्वस्थ प्रतिस्पर्धा भइरहेको कुरा त स्वीकार्नुहुन्छ ?
पत्रकारितामा लाग्ने कतिपय साथीहरु बुझेर लागेका छन् भने कतिपय नबुझिकन लागेर पत्रकारिताको नम्सबाहिर गएर पत्रकारिता गर्ने गरेको पनि पाइएको छ । जसकारण पत्रकारहरुलाई कुनैबेला नकारात्मक दृष्टिकोणले हेर्ने वातावरण पनि बन्ने गरेको छ । जिल्लाका कतिपय सञ्चार गृहहरु एकदमै व्यवसायीक रुपमा अगाडि बढ्नुपर्छ भन्ने मुल्य मन्यतामा अघि बढिरहेका छन् । सोलुखुम्बुकै पत्रकारहरुलाई अलिक बढि स्थान दिने, सोलुखुम्बुको सवालहरुलाई अगाडि ल्याउने, पत्रकारिताको माध्यमबाटै सोलुखुम्बुको विकास निर्माणलाई अगाडि बढाउनुपर्छ भन्ने धेयका साथ लागिरहेको देखिन्छ भने कतिपय सञ्चार गृहहरुको धेय भनेको मात्रै कमाउ भन्ने पनि देखिन्छ । समग्रमा भन्नुपर्दा पत्रकारितामा व्यवसायीक जमातको अभाव हुँदाखेरी नै यहाँभित्र अस्वस्थ प्रतिस्पर्धा बढेको हो । पत्रकारितालाई जति व्यवसायीकता प्रदान गर्दै जान्छौं आफसेआफ त्यसप्रकारका अस्वस्थ प्रतिस्पर्धाहरु कम हुँदैं जान्छन् भन्ने मेरो विश्लेषण हो । यसतर्फ सबैको ध्यान जाओस् ।
सोलुखुम्बुमा पत्रकारको संख्या चाँही कति छ ?
पत्रकारितामा लाग्ने व्यक्तिहरुको संख्या झण्डै ९० को हाराहारीमा पुग्छ । तर समग्रमा पत्रकारिता गरेरै जीवन धान्ने अथवा पत्रकारितालाई नै मुल पेशा बनाएर काम गर्ने पत्रकारहरुको संख्या चाँही २५ देखि ३० को हाराहारीमा मात्रै रहेको छ । यसपटकको महासंघको चुनावमा सदस्यता नवीकरण गर्ने तथा नयाँ सदस्यता लिएर महासंघमा आबद्ध हुने पत्रकारहरुको संख्या झण्डै ३५ जनाको हाराहारीमा हो । त्यो भन्दा बढि साथीहरु महासंघ बाहिर हुनुहुन्छ जस्तो लाग्छ ।

महासंघको चुनावमा देखिएको राजनीतिक धु्रबीकरणले पत्रकारहरु छिन्नभिन्न देखिन्छन् नि ?

त्यसलाई त्यसरी भन्दा पनि अलिक फरक तरिकाले बुझ्नुपर्छ की भन्ने लाग्छ । जस्तो सोलुखुम्बुमा हामीले भरखरै महासंघको दोस्रो ऐतिहासिक जिल्ला अधिवेशन सम्पन्न ग¥यौ । हामीले पहिलो अधिवेशन र दोस्रो अधिवेशनमा केही समानताहरु र केही भिन्नता रहेको पायौं । पहिलोमा हामी आफैं अलिकति सुरुवातमात्रै गरेका थियौं । त्यही भएर कति प्रक्रियाहरु हामीलाई थाहा थिएन र दोस्रो अधिवेशनसम्म आइपुग्दा हामीलाई चाँही पत्रकार महासंघको विधि प्रक्रियादेखि लिएर धेरै कुराहरु थाहा भयो । महासंघको अहिले चुनाव भएको स्थिति भनौं अथवा सर्वसम्मत बन्न नसकेको स्थितिलाई चाँही राजनीतिसँग जोडेका छन् । मेरो चाही त्यसमा सहमति छैन । केही साथीहरुले म चाही फलानो पार्टीको हुँ, मेरो पक्षमा यतिसिट हुनुपर्छ, मलाई चाही यो पद चाहिन्छ भनेर सिधै राजनीतिक आचरण प्रस्तुत गरेको कुरालाई नकार्न सकिन्न । पूर्व सभासददेखि लिएर अहिलेको जिल्लाका राजनीतिक जिम्मेवार व्यक्ति तथा सभासदहरुमा पनि त्यस्तै देखियो । तर महासंघ यसपटक कुनै राजनीतिक हस्तक्षेपविना सम्पन्न भएको छ । कुनै पार्टी, विचारधारा भन्दा पनि पत्रकारहरुको हकहित र संरक्षणका लागि साथीहरुले हामीलाई निर्वाचित गर्नुभएको हो । हरेक व्यक्ति कुनैन कुनै आस्था, सिद्धान्तसँग नजिक वा टाढाको दृष्टिकोण राख्छ । तर पत्रकारितामा त्यो हुनुहुदैन । 
यस्तो परिस्थितिमा महासंघलाई कसरी अगाडि बढाउनुहुन्छ ?
सोलुमा खासगरी मुलधारमा देखिएको पत्रकारहरुको संगठन भनेको पे्रस युनियन, पे्रस चौतारी र क्रान्तिकरी पत्रकार संघ हो । वर्तमान महासंघको कार्यसमितिमा तीनै ओटा संघमा आस्था राख्ने पत्रकारहरु समेटिएका छन् । त्यस्तै कुनैपनि संगठनको सदस्यता नलिएको वा तीनवटै विचारसँग सहमत नहुने साथीहरुपनि यहाँ हुनुहुन्छ । त्यसकारण अब पक्ष र विपक्ष भन्ने छैन । चुनावको नतिजा घोषणा गर्ने क्रममै पराजित हुने र बाहिर बस्ने साथीहरुदेखि लिएर समितिमा आउने सबै साथीहरुले एकमत भएर अघि बढ्ने प्रतिबद्धता जाहेर गरिसक्नुभएको छ । बाहिर बस्ने साथीहरुले पनि महासंघलाई सही बाटोमा लैजानका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाइसक्नुभएको छ । मलाई आशा छ उहाँहरुले पक्कैपनि सहयोग गर्नुहुन्छ । हामी कार्यसमितिको तर्फबाट महासंघको महत्वपूर्ण निर्णयहरुमा सबै सञ्चारगृहका र सबै विचार समुहका पत्रकारहरुलाई भेला गराएर अघि बढ्ने छौं ।

मनोज श्रेष्ठ नेतृत्वको महासंघले पत्रकारको हकहित र बृद्धिविकासको लागि के गर्छ ?
अहिले चाही हामी लगभग शुन्य स्तरबाट पत्रकार महासंघलाई बढाउनुपर्ने स्थिति छ । मैले विगतमा पत्रकार महासंघमा रहने साथीहरुले कामै गर्नुभएन भनेर दोष दिन खोजेको होइन । अहिलेसम्म पत्रकार महासंघले आफ्नै व्यवस्थापन गर्न सकेको छैन । तथापी, महासंघ सुरुमा आफै व्यवस्थित हुन जरुरी छ । आफै व्यवस्थित हुन सक्यो भने मात्रै त्यसले अरुको हितको कल्पना गर्न सक्छ । हामी सबै भन्दा पहिला महासंघको कार्यलय व्यवस्थपनदेखि आन्तरिक व्यवस्थापनको तयारीमा जुटेका छौं । आगामी २०७१ सालको पहिलो महिनामा महासंघको कार्यलय व्यवस्थापन गरिसक्नेगरी हामीले काम गर्ने योजना बनाएका छौं । महासंघमा हामी निर्वाचित भइसकेपछिको पहिलो बैठकबाट हामीले महासंघको आफ्नै भवन निर्माण गर्नका लागि त्रिवर्षीय योजना अघि बढाउने निर्णय गरेका छौं । निशुल्क जग्गाको व्यवस्था गराएर तीन वर्षभित्र महासंघको भवन बनाउने हाम्रो योजना हो । त्यस्तै अर्को स्थानीय स्तरमा पत्रकारितामा लागेका साथीहरुको लागि पहिलो चरण, दोस्रो चरण र तेस्रो चरण गर्दै आधारभूतदेखि उपल्लो तहसम्मको पत्रकारिता तालिम कार्यक्रमहरु अघि बढाउने योजनामा छौं । सँगसँगै स्थानीय स्तरमा सञ्चालित सञ्चार माध्यमहरुबीच सुमधुर सम्बन्ध कसरी कायम गर्न सकिन्छ, असहमतिहरुको बीचमा समानता कसरी ल्याउन सकिन्छ ? भन्ने कुरालाई ध्यानमा राखेर सञ्चार माध्यम सञ्चालकहरुसँग अन्तक्रियात्मक कार्यक्रमहरुलाई जोड दिनेछौं । पत्रकारितालाई व्यवसायीक रुपमा अगाडि बढाउने साथीहरुको पाश्रिमिकको अवस्था कस्तो छ भन्नेजस्ता कुराहरुलाई हामीले नजिकमा राखेर अघि आफ्नो कार्यक्रमहरु अघि बढाउनछौं ।
जिल्लाको पत्रकारिता विकास गर्न नीतिगत सुधार पनि गर्नुपर्ला नि ?
नीतिगत रुपमा महासंघलाई भनौ या सम्बन्धित सञ्चार संस्थाहरुलाई हामीले भनेको सुझाव मात्र दिने हो । सुझाव दिने काम हामीले सुरु गरिसक्यौ । यसलाई चाही क्रमश अघि बढाउछौं । हामी महासंघको केन्द्रसँगको सम्बन्ध सुमधुर बनाउन चाहान्छौं । त्यो भयो भने मात्रै सोलुमा काम गर्ने पत्रकारहरुको क्षमता अभिबृद्धिका कुराहरुलाई केन्द्र महासंघले पनि ध्यान दिने स्थिति हुन्छ । सञ्चार माध्याम सञ्चालन त भएका छन् तर उनीहरुको सञ्चालन सम्बन्धि थुप्रै सञ्चार माध्याम सम्बधि दीर्घकालिन योजना छैन । यससम्बन्धि सचेतना जगाउन सम्बन्धित सबैलाई घचघचाउने कामलाई पनि प्राथमिकतामा राखेर गर्नेछौं । पत्रकार महासंघको नयाँ सदस्यताको सवालमा अथवा नवीकरणको सवालमा उचित व्यवस्थापन गर्नुपर्ने टड्कारो आवश्यकता छ । जसलाई व्यवस्थित गर्नका लागि हामीले सबै सञ्चार माध्यामहरुबाट नियमित रुपमा तथ्यांक लिने काम सुरुवात गरिसकेका छौं ।

सोलुखुम्बु हरेक हिसाबले सम्भावनायुक्त जिल्ला भएपनि यहाँका सम्भावनाहरुलाई उजागर गर्न सकिएको छैन । यसमा मिडियाको भूमिका के हुन सक्छ ?
दुईटा कुरा छ । जस्तो स्थानीयस्तरमा रहेर स्थानीय मुद्धाहरुलाई स्थानीयस्तरमै उठाउने कुरामा त हामी निक्कै सक्षमतापूर्वक अघि बढिरहेका छौं । तर स्थानीय मुद्धाहरुलाई राष्ट्रियकरण गर्ने सवालमा चाही हामी पछाडि परेको कुरा स्वीकार्नै पर्छ । सोलुखुम्बु जिल्लाको भौगोलिक विकटताले गर्दा महंगीको मार पनि उस्तै छ । यहाँ कार्यरत कतिपय पत्रकार साथीहरुले न्युनतम पारिश्रमिक पनि पाउनुहुन्न । भौगोलिक विकटताकै कारण पनि सबै क्षेत्रको समाचारहरुलाई संकलन गरेर सम्पे्रशन गर्न सम्भव छैन । त्यस्तै सोलुखुम्बुमा रहेर पत्रकारिता गर्ने पत्रकारहरुको केन्द्रसम्मको पहुँच पुगिसकेको अवस्था छैन । यसमा चाही काठमाडौंमा रहेर सोलुखुम्बुलाई माया गर्ने पत्रकार साथीहरु र स्थानीयस्तरमा रहेका स्थानीय पत्रकारहरुबीच आपसी समन्वय हुन सक्यो भने पक्कैपनि यहाँका मुद्धाहरु राष्ट्रिय स्तरसम्म आइपुग्न गाह्रो छैन ।


अन्त्यमा मैले सोध्न छुटाएको भए ?

जसरी तपाईहरु काठमाडौंमा रहेर सोलुखुम्बुलाई माया गरेर पत्रकारिता गरिरहनुभएको छ । तपाई हामी जिल्लामा रहने र केन्द्रमा रहने पत्रकारहरुको बीचमा समन्वयात्मक सम्बन्ध विस्तारको खाँचो टड्कारो छ । त्यो हुन सक्यो भने महासंघदेखि सबै पत्रकारहरुको भलो हुन्छ । अर्को सोलुखुम्बुको इस्युहरुलाई राष्ट्रियकरण गर्ने सवालमा पनि यो एकदमै आवश्यक छ । त्यसको लागि यहाँहरुको सहयोगको खाँचो महसुस गरेको छु । केन्द्रीय स्तरको कार्यक्रमहरु जिल्लासम्म लाने र जिल्लाको पत्रकारहरुलाई क्षमता अभिबृद्धि गर्ने वा सञ्चार माध्यामहरुलाई व्यवस्थित गर्ने सवालमा पनि यहाँहरुको भूमिका महत्वपूर्ण हुनेछ । साना इस्युहरुलाई पनि हाम्रो जिल्लामा राजनीतिकरण गर्ने परम्परा छ । खासगरी एउटा रेडियोले एउटा पत्रिकाले कुनै विषय उडान ग¥यो भने अर्कोले यसलाई खण्डन गर्ने प्रवृत्ति छ । यस किसिमको काममा स्वयं पत्रकार साथीहरु नै जिम्मेवार हुनुजरुरी छ । त्यो सँगसँगै राजनीतिमा लागेका व्यक्तिहरु पनि जिम्मेवार हुनुहुन्छ । यो लोकप्रीय पत्रिकामार्फत म राजनीतिमा लागेका साथीहरुलाई पत्रकारितामा हस्तक्षेप नगर्न र गलत तरिकाले पत्रकारितालाई लैजाने प्रयास नगर्न आग्रह गर्छु । दशौ वर्षदेखि गाउँमा रहेर पत्रकारिता गर्नेहरुलाई हामीले सम्मान प्रदान गर्न सकेको छैनौं । त्यसतर्फ हाम्रो पाइला अघि बढ्नुपर्ने बेला आएको छ ।

No comments: