Wednesday, March 19, 2014

सोलुखुम्बुमा आर्थिक विकासको प्रबल सम्भावना-बैद्य

सोलुखुम्बु, ५ चैत । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरज वैद्यले आर्थिक समृद्धि तथा विकासका लागि आफैँ लागि पर्नुपर्ने बताएका छन् ।
उद्योग वाणिज्य सङ्घ सोलुखुम्बुको भवन शिलान्यास गर्दै अध्यक्ष वैद्यले सोलुखुम्बुमा उत्पादनको प्रशस्त सम्भावना हुँदाहुँदै पनि अन्यत्रबाट खाद्यलगायतका सामग्री ल्याउनु परेको अवस्थाबारे चर्चा गर्दै यहाँ उत्पादनबाट आर्थिकस्तर वृद्धि हुने प्रबल सम्भावना रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकणिर्कारले सोलुखुम्बु  जिल्ला विकट भएको भए पनि यहाँ आयआर्जनको प्रशस्त सम्भावना रहेको भन्दै सम्भावनालाई व्यवहारमा उतार्न सबै मिलेर सडक सञ्जाल विस्तारमा लाग्नुपर्ने उल्लेख गरे ।
प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले सोलुखुम्बुमा पर्यटन, विद्युत् उत्पादनजस्ता प्रशस्त सम्भावना रहेको भए पनि भौगोलिक विकटताका कारण समस्या रहेको बताउँदै  सोलुखुम्बुका व्यापारीहरूलाई लहानमा भन्दा काठमाडौँमा कर तिर्ने व्यवस्था भएमा सहज हुने बताए ।
कार्यक्रममा उद्योग वाणिज्य सङ्घको भवन निर्माणका लागि अध्यक्ष वैद्यले २ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । कार्यक्रममा उद्योग वाणिज्य सङ्घका अध्यक्ष जयप्रसाद राई कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । रासस

No comments: