Monday, February 17, 2014

सगरमाथा आरोहण गर्दा लाग्ने सलामी दस्तुरमा कटौती



काठमाडौ २९ माघ । सरकारले सगरमाथा लगायत अन्य हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुरमा भारी कटौती गरेको छ । पर्वतारोही, नेपाल पर्वतारोहण सङ्घ लगायत सरोकारवाला निकायको अनुरोधमा सरकारले सलामी दस्तुरमा कटौती गरेको हो ।



नयाँ निर्णय अनुसार अब वसन्त ऋतुमा दक्षिणपूर्वी धार बाट सगरमाथा आरोहण गर्न चाहने हरेक विदेशीले ११ हजार अमेरिकी डलर तिर्नुपर्नेछ भने शरद ऋतुमा पाँच हजार पाँच सय र शिशिर र वर्षा ऋतुमा दुई हजार सात सय ५० डलर सलामी स्वरूप सरकारलाई बुझाउनुपर्नेछ ।

पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ अनुसार यस अघि सोही मार्ग भएर वसन्त ऋतुमा सगरमाथा चढ्न चाहने आरोहीले २५ हजार अमेरिकी डलर तिर्नुपर्ने व्यवस्था गरिएको थियो । सरकारले शरद ऋतुमा १२ हजार पाँच सय र शिशिर र वर्षा ऋतुमा छ हजार दुई सय ५० डलर दस्तुर सरकारी कोषमा दाखिला गर्नुपर्ने प्रावधान गरेको थियो ।

नयाँ सलामी दस्तुर आगामी पुस १७ गतेदेखि लागू हुने नेपाल राजपत्रमा आज प्रकाशित सूचनामा जनाइएको छ । आरोहण दलमा १५ जनाभन्दा बढीलाई समावेश गर्न नपाइने व्यवस्था पनि गरिएको छ ।

नयाँ व्यवस्थाअनुसार वसन्त ऋतुमा नियमित मार्गबाट सगरमाथा आरोहण गर्न चाहने प्रत्येक नेपाली नागरिकले अब रु ७५ हजार, शरद ऋतुमा रु ३७ हजार पाँचसय र शिशिर एवम् वर्षा ऋतुमा रु १८ हजार दुईसय ५० सलामी तिर्नुपर्नेछ । यसअघि सबै नेपाली आरोहीले विदेशी सरह अमेरिकी डलरमा सलामी दस्तुर बुझाउनुपथ्र्यो ।

सरकारले मध्यपश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चल विकास क्षेत्रमा रहेका हिमालचुली आरोहण गर्दा लाग्ने सलामी दस्तुर भने पूर्णरूपमा छुट दिएको छ । यो व्यवस्था चालु आर्थिक वर्षको प्रारम्भदेखि नै लागू भएको हो ।

No comments: