‘अकुपाई बालुवाटार’का अभियन्ताहरुलाई मन्त्रिपरिषदका अध्यक्ष खिलराज
रेग्मीले भेट गरी महिला हिंसाका घटनामा आफू संवेदनशील भएको बताएर फर्काएका
छन्।
महिला हिंसाविरुद्ध चेतनाका लागि, महिलामाथि हुने ज्यादती र बलत्कारका
घटनामा सरकारको ध्यानाकर्षण गराउन १०७ दिन निरन्तर अकुपाई बालुवाटार भन्ने
अभियान चलाएका केही अभियन्तालाई सो अभियानको एकवर्षपछि अध्यक्ष रेग्मी
आफैँले भेट्न बोलाएका थिए। भेटमा अध्यक्ष रेग्मीले आफुले तत्काल केही गर्न
नसक्ने बताएको अभियन्ता प्रनिका कोयुले सेतोपाटीसँग भनिन्।
भेटपछि अकुपाई वालुवाटारका अभियन्ताले निकालेको विज्ञप्तिमा
‘मानवअधिकार,शान्ति ,सुरक्षा र महिला हक अधिकारको लागि गरिएको प्रयास
प्रशंसनीय छ। समाज परिवर्तन गर्न अनुसन्धान गर्नुपर्छ,मान्छेको सोचमा
परिवर्तन गर्दै दोषीलाई सजाय दिनुपर्छ’ भनेको उल्लेख छ।
रेग्मीले आफुहरुलाई बोलाएर थप निराश बनाएको प्रनिकाले बताइन्।‘हामीले आफैँ भेट्न खोजेका पनि थिएनौँ। उहाँहरु आफैले बोलाउनुभयो। हाम्रा
कुरा राम्रोसँग राख्न पनि दिनु भएन। आफैँ एकोहोरो बोल्नु भयो र जानुभयो,’
उनले भनिन्, ‘उहाँले महिला हिंसाका घटनाहरुलाई लिएर आफु संवेदनशील भएको त
भन्नु भयो, तर हामीसँगै गएका, पीडितका कुरा भने सुन्नु भएन।’
प्रनिकाका अनुसार रेग्मीले अदालत र प्रहरीका अनुसन्धानमा आफूले केही नबोल्ने बताएका थिए।‘रेग्मीले त यस्ता घटना विदेशमा पनि हुने गरेको समेत भने, त्यस्ता कुरा
भन्न हामीलाई किन बोलाएको होला हामी आफैँ छक्क पर्यौँ,’ प्रनिकाले भनिन्।
राज्यको ध्यानाकर्षण गर्न र अकुपाई वालुवाटार अभियान थालिएको दिनको स्मरण
गर्न भोलि (शुक्रबार) बिहान साढे आठ बजेदेखि प्रधानमन्त्री निवास
वालुवाटारको गेटमा धर्ना दिने भएका छन् ।
No comments:
Post a Comment