Wednesday, October 23, 2013

बैकल्पिक समाधान खोजौं

सम्पादकीय
हिमाल हाम्रो शान हो । नेपाल घुम्ने अधिकांश पर्यटकहरू हाम्रा तिनै हिमालहरूको दृष्यपान गरेर स्वदेश फर्कन्छन् । त्यही हिमालले एक पटक नेपाल भ्रमणमा आएका पर्यटकहरूलाई पटक पटक नेपाल भ्रमण गर्न प्रेरित गरिरहन्छ । तथापी हिमालले हामीलाई धेरै थोक प्रदान गरेको छ । तर हामीले त्यसलाई कतिको सदुपयोग गर्न सक्यौ भन्ने प्रश्न गम्भिर रूपमा उठ्छ । नेपालको ७५ वटा जिल्लामध्ये सोलुखुम्ब यो देशको अदितीय सम्पदाले भरिपूर्ण जिल्ला हो । सोलुखुम्बु जिल्ला धेरै कारणबाट परिचित छ । जसमध्ये यो जिल्लालाई संसारले विश्वको सर्वोच्च शिखर सगरमाथाको जिल्ला भनेर चिन्दछ । यहाँ सगरमाथाको अलावा थुप्रै हिमश्रृंखला पनि अवस्थित रहेका छन् । सोलुखुम्बु हिमालै हिमालको जिल्ला त हुँदै हो त्यसको अलावा विविधतापूर्ण जातजाति, भाषा, धर्म र संस्कार पनि यसको परिचय दिलाउने अर्को आधार हो ।
तर विडम्बनाका साथ भन्नुपर्छ विश्वले ढुकढुकीमा बस्न सफल यो जिल्ला सधै ओझेलमा परिरहेको छ । पर्याप्त पर्यटकीय पूर्वाधारको विकास गर्न सकिएको छैन । राजधानीसँग जोड्ने सिधा माध्यम ४ वटा विमानस्थलन, काठमाडौं–सिधा सदरमुकाम सल्लेरी जोड्ने सडक मार्ग रहेको छ । तर त्यसलाई प्रभावकारी बनाउन सकिएको छैन । घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुनु विमानस्थल र सडक दुबैको नियती हो । जसको नकारात्मक प्रभाव पर्यटकीय सिजनमा बढि देखिने गरेको छ । पर्यटकीय सिजनमा सगरमाथा क्षेत्र (जसलाई खुम्बु क्षेत्र भनिन्छ)मा विभिन्न पर्यटकीय गतिविधिको लागि गएका पर्यटकलाई खाने र बस्नेको व्यवस्थापनमा समस्या हुने गरेको छ । त्यो पनि अपर्याप्त पूर्वाधारकै उपज हो । विशेषतः खुम्बु क्षेत्रको समस्याहरू यातायात अभावसँग जोडिएर आउँछ ।

सोलुखुम्बुको उत्तरीखण्ड खुम्बु क्षेत्रको एक मात्रै निर्विकल्प माध्यम हवाई सेवालाई भरपर्दो बनाउन सकिएको छैन । मौसमका कारण पर्यटकीय हिसावले मुख्य सिजन अक्टोबर र स्प्रिङ सिजनमा यहाँको हवाई सेवा सुचारू गर्न नसक्दा विभिन्न समस्याहरू उत्पन्न हुने गरेको छ । जसको प्रभावले सिंगो मुलुकको पर्यटन मात्रै नभएर अन्तर्राष्ट्रिय जगतमासमेत नकारात्मक सन्देश जाने र देशको छविमा दाग लाग्ने गरेको छ । तसर्थ हवाई सेवालाई थप प्रभावकारी बनाउने र त्यसको अलावा मौसमको कारण उत्पन्न हुने समस्याहरूको उचित व्यवस्थापनका लागि अन्य विकल्पहरूको खोजी गर्नुपर्ने बेला आएको छ । यसप्रति राज्य, पर्यटन व्यवसायी र सरोकारवाला निकायहरू गम्भिर हुन जरूरी भइसकेको छ ।

No comments: