सोलुखुम्बु, भदौ २० । राजश्व छली गरेको अभियोगमा जिल्ला विकास समितिको कार्यालय सोलुखुम्बुका लेखा प्रमुख रुद्र दाहाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गरिएको छ । सुकेपोखरी–जुबु–दिब्दी–ऐसेलुखर्क सडक निर्माण उपभोक्ता समितिले सो मुद्दा दायर गरेको हो ।
दाहाल विरुद्ध समितिले सम्झौता बमोजिम भुक्तानी गर्नुपर्ने रकमबाट अग्रिम करकट्टी नगरेको, अग्रिम करकट्टीको विवरण उल्लेख नगरी स्काभेटर मेसीन प्रयोग गरी भुक्तानी गरेको रकमको भाडा आयकर जिल्ला विकास समितिको आन्तरिक खाता नं. ग/४/३/३०० मा नगद जम्मा गर्न लगाएको र उक्त रकम राजश्व खातामा जम्मा नभएको अभियोग लगाएको छ । यस्तै जिल्ला विकास समितिको आन्तरिक खातामा जम्मा भएकोले उक्त रकम राजश्व खातामा जम्मा भएको कुनै प्रमाण माग्दा समेत दिन नमिल्ने भन्दै फर्काएको जाहेरीमा उल्लेख छ । समितिले सडक निर्माण गर्दा स्काभेटरको भुक्तानी गरेको रकमको आयकर बापत १० प्रतिशत (९७ हजार ३ सय २१ रुपैयाँ) को प्रमाण उपलब्ध गराउन र राजश्व छली चुहावट ऐन बमोजिम सम्बन्धित कर्मचारी तथा संस्थालाई कार्वाही गर्न समेत माग गरेको छ ।
सुकेपोखरी –जुबु –दिब्दी – ऐसेलुखर्क सडक निर्माण उपभोक्ता समिति र जिल्ला विकास समितिको कार्यालय बीच २०६९ साल जेठ २९ गते ४८ लाख ५५ हजार ५ सय ५७ रुपैयाँ लागतमा सोलुखुम्बुको जुबु स्थित सुकेपोखरीदेखि खोटाङको ऐसेलुखर्कसम्मको सडक निर्माण गर्न सम्झौता गरिएको थियो । स्रोत भन्छ ‘स्काभेटर मेसीन प्रयोग गरी निर्माण गरिएका अन्य दर्जनौ सडकहरुबाट समेत जिल्ला विकास समितिले यसैगरी रकम असुलेको र कोष तथा लेखा नियन्त्रक कार्यालय सल्लेरीमा यसको कुनै पनि अभिलेख नभएकाले अन्य सडकहरुमा समेत आवश्यक छानबिन गरी दोषी माथि कार्वाही गरीपाउ’
जिल्ला विकास समितिको कार्यालयले तामाखानी सडक खण्ड, गोली तथा चौलाखर्क सडक खण्ड, तिङला सल्यान सडक खण्ड पत्ताले नेचा सडक खण्डका सडक निर्माण उपभोक्ता समितिसँग समेत अदृश्य रकम लिएको स्रोतको दाबी छ । यस्तै सल्लेरी बासा काँकु सडक खण्ड, फाप्लु बेनी टाक्सिन्दु सडक खण्ड, नेले काँगेल सडक खण्ड र गोरा टाप्टिङ सडक खण्डबाट गरी करीब ४७ लाख रुपैयाँ रकम राजश्व खातामा जम्मा गरेको भन्दै जिल्ला विकास समितिको आन्तरिक खातामा जम्मा गर्न लगाएको र किर्ते कागजात तयार पारी भ्रष्टाचार गर्दै आएको स्रोतको दाबी छ ।
nepalnewssite.com
No comments:
Post a Comment