Tuesday, September 24, 2013

विमानस्थलमा ६० करोडको नतिजा शून्य

पिताम्बर सिग्देल
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार तथा सुधारका लागि ६० करोड खर्च हुँदा पनि परिणाम शून्यजस्तै देखिएको छ। एसियाली विकास बैंक (एडीबी) ले सहयोगस्वरूप उपलब्ध गराएको ६० करोड सकिँदा पनि विमानस्थलको संरचना र प्रणालीमा खासै प्रगति भएको छैन।

धावनमार्ग विस्तार तथा अन्य भौतिक पूर्वाधार निर्माणको जिम्मा पाएका कम्पनीले कामै थालेका छैनन्। एडीबी र नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल संरचना निर्माण तथा विस्तारको ठेक्का स्पेनको कन्ट्रक्टोरा सान्जोसे कम्पनीलाई दिएका छन्। सान्जोसेले तीनवटा नेपाली ठेकेदार कम्पनीलाई अलगअलग कामको जिम्मा दिएको छ। नेपाली निर्माण कम्पनी टुन्डी कन्ट्रक्सनले ‘सहायक ठेकेदार’ का रूपमा प्रमुख कामको जिम्मा पाएको छ भने लुम्बिनी बिल्डर्सलाई प्रयोगशाला बनाउने र प्रेरा निर्माण सेवालाई विमानस्थल विस्तार तथा सुधारका अन्य काम दिने तयारी छ। स्रोतका अनुसार कामको तयारी र परीक्षण भन्दै ६० करोड रुपैयाँ खर्च भइसकेको छ।

विमानस्थल सुधार आयोजनाको एकतले प्रयोगशाला भवन बन्नुबाहेक विस्तार र सुधारका कुनै काम भएका छैनन्। टुन्डी र सान्जोसे मिलेर गर्नुपर्ने काम दुई प्रतिशत मात्रै सम्पन्न भएको छ। ‘धावनमार्गमा एकपछि अर्को समस्या थपिएका छन्। विमानस्थल क्षेत्रका भवनचुहिन थालेका छन्। तर कसैको ध्यान गएको छैन’, प्राधिकरणका एक अधिकारीले भने।

विमानस्थल सुधार आयोजना प्रमुख पुण्यराज शाक्यले मनसुनका कारण कामले गति लिन नसकेको दाबी गरे। ‘सुधारका लागि अध्ययन, अनुसन्धान र विभिन्न परीक्षण भइरहेका छन्। अब कामले तीव्रता पाउला’, उनले भने।

प्रस्तावित योजनाअनुसार ती कम्पनीले एडीबी सहयोगमा विमानस्थलको दक्षिणतर्फ तीन सय मिटर विस्तार गर्नुपर्नेछ। तर अहिलेसम्म त्यहाँ काम सुरु भएको छैन। त्यस्तै विमान पार्किङस्थल, ट्‍याक्सी वे, हेलिप्याड, नयाँ टर्मिनल भवन निर्माण पनि थालिएको छैन। शाक्यका अनुसार यी सबै काम सन् २०१६ मार्चसम्म सम्पन्न गरिसक्नुपर्नेछ।

विमानस्थल विस्तार गुरुयोजनाअनुसार पहिलो चरणको कामका लागि एडीबीले ‘आईसीबी ०१’ परियोजनामार्फत भौतिक निर्माण तथा विस्तार गर्न ऋण र अनुदानमा ६ अर्बभन्दा बढी आर्थिक सहयोग गरेको हो। यही कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय वायुयान पार्किङ क्षेत्र विस्तार गरी ४२ वटा बनाउने योजना छ।

हाल अन्तर्राष्ट्रिय टर्मिनलमा नौ र आन्तरिकमा १५ वटा पार्किङ छन्। अहिलेको अन्तर्राष्ट्रिय टर्मिनललाई आन्तरिक बनाउने र अन्तर्राष्ट्रिय टर्मिनल गल्फ मैदानसम्म विस्तार गर्ने समझदारी छ। ‘खाल्डोमा माटो भर्न धेरै समय लाग्छ, त्यता कसैले ध्यान दिएको छैन’, प्राधिकरणका एक अधिकारीले भने। नयाँ अन्तर्राष्ट्रिय टर्मिनलसँगै भीआईपी भवनसमेत बन्नेछ। त्यस्तै ट्‍याक्सी वे र पार्किङ, ढल, विद्युत् आपूर्ति तथा धावनमार्गमा बत्ती, पानी जडानलगायतको काम गर्नुपर्नेछ।आईसीबी १ का ठेकेदारले धावनमार्गवरिपरि सुरक्षा बार, भवन र टर्मिनल भवनसम्म पुग्ने सडकसमेत बनाउनुपर्नेछ।

आईसीबी ०२ अन्तर्गतको काम स्पेनको इएमटीई सिस्टेमास नामक कम्पनीले पाएको छ। कार्यक्रमअन्तर्गत हवाई क्षमता बढाउने सञ्चार उपकरण तथा प्रविधि जडान गरिनेछ। यसका लागि पौने चार अर्ब रुपैयाँ बजेट छुट्याइएको छ। त्यस्तै स्वचालित एअर ट्राफिक कन्ट्रोल प्रणाली स्थापना गरी प्रविधियुक्त बनाउने योजना पनि छ।
धावनमार्ग भत्किएपछि मर्मतसुधार गर्नुको सट्टा सरकारले ठूला जहाजको अवतरणमा निषेध गरेको छ। यो कदमले अन्तर्राष्ट्रिय जगत्मा नेपालको नकारात्मक सन्देश गएको छ।

विमानस्थल सानो हुँदा घन्टौंसम्म विमानआकाशमै होल्ड गर्नुपर्ने बाध्यता पनि छ। विमानस्थलको अन्तर्राष्ट्रिय उडान तथा अवतरण वार्षिक औसत १५ हजार छ भने १८ लाख ५० हजार यात्रु आवतजावत गरिरहेका छन्। त्यस्तै आन्तरिकतर्फको विमान आवागमन ६४ हजार र यात्रु संख्या करिब १० लाख छ।
annapurna post

No comments: