Thursday, September 12, 2013

दसैंको मुखमा फेरी हवाई भाडा ५ प्रतिसतले बृदि

शिखर पोष्ट डेक्स 
काठमाडौं - निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले दसैंको मुखमा फेरी हवाई भाडा बढाउने भएका छन्। हवाई इन्धनको मूल्य बढेकै दिन वायुसेवा कम्पनीहरूले आगामी आइतबार (भदौ ३०) बाट लागू हुने ५ प्रतिशतले हवाई भाडा बढाउने निर्णय गरेका हुन्। यसअघि साउन ३१ गते पनि साढे ८ प्रतिशतले भाडा बढाएका थिए।
    
नेपाल आयल निगमले मंगलबार साँझ निर्णय गरी बुधबारबाट लागू हुने गरी 'एयर टर्बाइन फ्युल' (हवाई इन्धन) को भाउ प्रतिलिटर ७ रुपैयाँ बढाएर १ सय ३० बाट १ सय ३७ पुर्यारएपछि वायुसेवा सञ्चालकहरूले पनि भाडा बढाउने निर्णय गरेका हुन्।

हवाई इन्धनको भाउ बढेपछि वायुसेवाहरूले 'फ्युल सरचार्ज' शीर्षकमा वृद्धि गर्ने गर्छन्। यो वृद्धि हवाई टिकटमै जोडिएको हुन्छ। वायुसेवा कम्पनीले फ्युल सरचार्ज भन्ने गरे पनि यात्रुले यसलाई वृद्धि भएको भाडाकै रूपमा लिन्छन्। आयल निगमले हवाई इन्धन मूल्यमा प्रतिलिटर ५ प्रतिशतले वृद्धि गरेपछि वायुसेवाहरूले पनि लगभग त्यत्ति नै प्रतिशतसम्म फ्युल सरचार्ज बढाउने निर्णय गरेका हुन्। संघको बुधबारको निर्णय लागू गराउन नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गरिने थापाले जानकारी दिए।

नयाँ दरअनुसार काठमाडौंबाट सबैभन्दा नजिक (करिब १५ मिनेट) हवाई दूरीमा रहेको सिमरा जान २ हजार ८ सय ८० रुपैयाँ लाग्छ भने टाढा (१ घन्टा २० मिनेट) दूरीको धनगढी जान १० हजार ८ सय ६० रुपैयाँ तिर्नुपर्छ। यी सबै भाडा दर करसहित हुन्। सबै भाडा 'नर्मल' हुन्। सिमरा सेक्टरमा ८० र धनगढीका लागि २ सय ७० रुपैयाँ बढाउने निर्णय भएको हो। आगामी शनिबार (भदौ २९) सम्मका लागि भने सिमरा जान २ हजार ८ र धनगढीका लागि १० हजार ५ सय ९० रुपैयाँमै उडान गर्न पाइन्छ।

'आयल निगमले एक महिनाभित्रै दुई–दुई पटक इन्धनको भाउ बढाउँदा लाखौं हवाई यात्रुलाई मर्का परेको छ,' एक वायुसेवाका अधिकारीले भने, 'वायुसेवा कम्पनीको कूल लागतको ४० देखि ५० प्रतिशत हवाई इन्धनमा खर्च हुने गर्छ, अहिलेको वद्धिले थप समस्या परेको छ।' वायुसेवाहरूले माउन्टेन फ्लाइटलाई २ सय ६० रुपैयाँ, भरतपुर ९०, पोखरा १ सय २०, विराटनगर १ सय ६०, जनकपुर १ सय ५, तुम्लिङटार १ सय ११, भैरहवा १ सय ४५, नेपालगन्ज २ सय ५ र भद्रपुरका लागि १ सय ९० रुपैयाँ बढाउने निर्णय गरिएको हो।

अब माउन्टेन फ्लाइटका लागि ९ हजार ६ सय २५, भरतपुर ३ हजार ३ सय ९०, पोखरा ४ हजार ६ सय ७०, विराटनगर ६ हजार ४ सय ९५, जनकपुर ३ हजार ९ सय ६०, तुम्लिङटार ४ हजार ९ सय ८०, भैरहवा ५ हजार ७ सय ६५, नेपालगन्ज ८ हजार ५५ र भद्रपुरका लागि ७ हजार ४ सय रुपैयाँ तिर्नुपर्छ।

No comments: