Wednesday, August 21, 2013

सोलुखुम्बुको पहिरो नियन्त्रण गर्ने नाममा ३३ लाख स्वहाँ

सोलुखुम्बु - जिल्लाका विभिन्न सात स्थानमा काम नै नगरी जल उत्पन्न प्रकोप नियन्त्रण विभागको ३३ लाखभन्दा बढी रकम हिनामिना भएको छ। जिल्लाका चार गाविसमा सातवटा तारबार तथा जलउत्पन्न प्रकोप नियन्त्रणका योजनामा स्थानीयलाई थाहै नदिई सम्बन्धित गाउँ तथा जिल्लाबाहिरका व्यक्तिको उपभोक्ता समिति बनाएर कागजमै काम सकी रकम फरफराक भएको समाचार नागरिक दैनिकमा छापिएको छ।

नेले–२ को जोगारा निमावि पहिरो नियन्त्रणमा ५ लाख २३ हजार ७ सय ५४, मुक्ली– ९ को सिकुखोला पहिरो रोकथाममा १ लाख ९० हजार २ सय १४, मुक्ली– ३ को बर्खुखोला नियन्त्रणमा ९ लाख ४० हजार २ सय ६१, भकान्जे– ९, किन्जा बजार संरक्षणमा ४ लाख ७५ हजार ८ सय २३, सल्यान– ८ र ९ मा पर्ने द्याम्दे पुच्छार ठाडो खोल्सी नियन्त्रणमा ४ लाख ७५ हजार ८ सय २३, चौलाखर्क– ३ को पहिरो नियन्त्रणमा ४ लाख ७५ हजार ९ सय ७७ र नेले– ३ को लंखु खोला नियन्त्रणका साथै तारजाली खरिदमा २ लाख ९५ हजार निकासा भएको र काम सम्पन्न भएको विभागमा अभिलेख छ। सातवटा योजनामा रु.३३ लाख ७६ हजार ९ सय ९१ रुपैयाँ भ्रष्टाचार भएको पुष्टि भएको छ।

‘जिल्लामा धेरै आयोजना सञ्चालन गर्छौं, सोहीअनुरुप सोलुखुम्बुमा पनि गत आवमा योजना सञ्चालन भएका हुन्,’ जलउत्पन्न प्रकोप नियन्त्रण विभागका महानिर्देशक प्रदीप पाण्डेले भने। सबै योजनाको रकम काम सकिएको प्रतिवेदन बनाई असार मसान्तभित्रै रकम निकासा भएर योजना फरफारकसमेत भइसकेको छ। विभागको सोलुखुम्बु हेर्ने डिभिजन कार्यालय जनकपुरबाट बजेट निकासा भए पनि दुईवटा योजनामा आंशिकबाहेक अधिकांश स्थानमा सिन्कोसमेत भाँच्ने काम भएको छैन। जोगारा निमावि पहिरो नियन्त्रण र मुक्ली– ३ को सिकुखोला पहिरो नियन्त्रणमा भने केही काम भएका छन्।

प्रत्येक योजनामा उपभोक्ता समिति गठन गर्दा स्थानीय स्वायत्त शासन ऐनविपरीत सम्बन्धित गाविस तथा जिल्लाबाहिरका व्यक्तिलाई अध्यक्ष राखिएको छ भने अन्य पदाधिकारी तथा सदस्यलाई समितिमा राखिएको समेत थाहा छैन। अधिकांश योजनामा राजनीतिक दलका उच्चस्तरका नेताको संलग्नतामा दस्तखत समेत किर्ते गरिएको वास्तविक उपभोक्ता बताउँछन्। नेले– २ को जोगारा निमावि पहिरो नियन्त्रणको अध्यक्ष धर्मराज सुनुवार, मुक्ली– ९ को सिकुखोला पहिरो रोकथामको अध्यक्ष धर्मराज सुनुवार, मुक्ली– ३ कै बर्खुखोला नियन्त्रणको अध्यक्ष अश्विनबाबु थापा, भकान्जे– ९ को किन्जा बजार संरक्षणको अध्यक्ष मनोज खड्का, सल्यान– ८ र ९ मा पर्ने द्याम्दे पुच्छार ठाडो खोल्सी नियन्त्रणको अध्यक्ष गोमा केसी, चौलाखर्क–३ को पहिरो नियन्त्रण समितिको अध्यक्ष गणेशकुमार खड्का र नेले– ३ को लंखु खोला नियन्त्रण समितिको अध्यक्ष पुरुषोत्तम लुइँटेल छन्। यी आयोजनाका उपभोक्ता समितिमा रहेका गोमा केसी र पुरुषोत्तम लुइँटेल ओखलढुंगाका स्थायी बासिन्दा हुन्। त्यस्तै अश्विनबाबु थापा नेले गाविसका बासिन्दा हुन् भने धर्मराज सुनुवार एकै व्यक्ति दुईवटा समितिको अध्यक्षमा बसेका छन्। गोमा केसी नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसीकी बहिनी हुन्। उपभोक्ता समितिको अध्यक्ष र अन्य पदाधिकारीले भने गोमा केसीले नै सातवटै योजनाको रकम निकासा गराएको बताएका छन्। ‘सबै योजना मैले ल्याएकी हुँ, तिमीहरुको काम सही गर्ने मात्रै हो, सही गरेबापत केही रकम दिउँला,’ केसीको भनाई उद्धृत गर्दै एक उपभोक्ता समितिका अध्यक्षले भने। ‘गाउँमा केही काम पनि भएको छैन, गोमा केसी भन्ने मान्छेलाई हामी चिन्दा पनि चिन्दैनौं, उसैले सबै पैसा लगेको भनेर उपभोक्ता समितिमा राखेका व्यक्तिले भनिरहेका छन्,' चौलाखर्कका अगुवा तथा नेपाली कांग्रेस गाउँ एकाइ समितिका अध्यक्ष श्यामध्वज बस्नेतले भने। 'स्थानीयलाई थाहै नदिई आयोजना आउनु र काम पनि नभएको अवस्थामा रकम निकासा हुनु खोजीको विषय हो,' मुक्लीका अगुवा यमुना काफ्लेले भने। सल्यान गाविसमा पनि कुनै काम नभएको स्थानीय अर्जुन बस्नेत बताउँछन्।

उपभोक्ता समितिका अधिकांश अध्यक्ष गाउँ गएका छैनन् भने केही सम्पर्कबाहिर छन्। बेजिल्लाका उपभोक्ता समिति अध्यक्ष पुरुषोत्तम लुइँटेलले साताभित्रै सबै काम सकिने बताए। विभागको सोलुखुम्बु हेर्ने जल उत्पन्न प्रकोप महाशाखाको शाखा कार्यालय जनकपुरमा भकान्जेको किज्जा जार संरक्षणको कामबाहेक अरु सबै ठाउँको काम सम्पन्न भइसकेको रिपोर्ट गएको शाखा कार्यालयका प्रमुख रत्नेश्वरलाल कर्णले बताए।

No comments: