Tuesday, August 20, 2013

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाजलाई निषेध


काठमाडौं, ४ भदौ । क्षमताभन्दा बढी तौलका विमान उडान र अवतरणले धावनमार्ग भत्केको भन्दै धावनमार्ग भत्कने क्रम बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाज अवतरणमा रोक लगाइएको छ ।  नागरिक उड्डयन प्राधिकरणले वाइड बडीका जहाज अवतरणमा रोक लगाउने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग १९ दिनयता मात्र आठपटक भत्किएको थियो । यसबाट धेरै उडान र अवतरण प्रभावित भएका थिए ।

प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले धावनमार्ग भत्किने गरेकाले कम्तीमा सेप्टेम्बरसम्मका लागि क्षमताभन्दा बढी तौलका जहाज उडान र अवतरण रोकिने जानकारी दिए । प्राधिकरणका अनुसार एयरबसका ए–३३३ र बोइङ–७७७ जहाज त्रिभुवन विमानस्थलको धावनमार्ग क्षमताभन्दा बढी तौलका छन् । यस्ता जहाज नेपाल नल्याउन सम्बन्धित एयरलाइन्सलाई पत्राचार गरिएको पनि सुमनले बताए । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार गरेको पत्रकार सम्मेलनमा महानिर्देशक सुमनले रनवेबारे अध्ययन भइरहेको प्रतिवेदन आएर कार्यान्वयन नभएसम्मका लागि ठूला जहाजको उडान–अवतरण रोकिने जानकारी दिए ।

एसियाली विकास बैंकको ऋण सहयोगमा स्पेन एवाइएसए इन्जिनियरिङ कम्पनीले धावनमार्ग, ट्याक्सी वे तथा पार्किङ क्षेत्रको अवस्थाबारे अध्ययन गरिरहेको छ । सो कम्पनीले अध्ययन प्रतिवेदन सेप्टेम्बरमा दिने र त्यसपछि मात्र थप निर्णयमा पुगिने सुमनको भनाइ छ । त्रिभुवन विमानस्थलमा सन् १९८४ मा १ सय ९६ टनसम्मको विमान उडान–अवतरण गर्न सक्ने क्षमताको धावनमार्ग बनाइएको थियो । तर, अहिले दुई सय ९९ टनसम्मका विमान उडान–अवतरण भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार आयोजनाका प्रमुख पुन्यराज शाक्यले जानकारी दिए । कति क्षमताको रनवेमा कति तौलको विमान उडान तथा अवतरण गर्ने भन्नेबारे अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नियम नबनाएकाले समस्या आएको उनको भनाइ छ ।

तर, नागरिक उड्डयन प्राधिकरणले ठूला जहाज सञ्चालकलाई यसअघि क्षमताभन्दा बढी तौल भएका जहाज नेपाल नल्याउन आग्रह गरेको थिएन । विमानस्थल सुधार आयोजना प्रमुख शाक्यले पनि यसबारे नेपालले कुनै चासो नदेखाएको बताए । तर, ठूला जहाज सञ्चालक आफैँले विचार पुर्‍याउनुपर्ने उनको भनाइ छ ।

No comments: