Thursday, August 1, 2013

नेपाल सरकारको आखाँमा पर्यटन ?

खालिङ डेक्स
          चालु आर्थिक वर्ष २०७०÷०७१ को बजेट भाषणले पर्यटन क्षेत्रलाई खासै उत्साहित तुल्याउन सकेन । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले २०७० असार ३० मा गर्नुभएको बजेट भाषणमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्न खोजिएपनि प्रभावकारी कार्यक्रम छैन ।
त्यसोत पर्यटन सम्बद्ध सरोकारवाला निकाय, पर्यटन व्यवसायीहरुले यसप्रति मौन समर्थन जनाएका छन् ।
बजेटमा हौसिहाल्नुपर्ने र तर्सिहाल्नुपर्ने त्यस्तो खास केही पनि नभएको उनिहरुको टिप्पनी छ । पर्यटनको व्यापक सुदृढिकरण र प्रवद्र्धन गर्न राष्ट्रिय गौरवका आयोजानाका रुपमा पशुपति विकास क्षेत्र, लुम्बिनी विकास क्षेत्र तथा
क्षेत्रीयस्तरका गौतम बुद्ध विमानस्थल र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई निरन्तरता दिइनु यो बजेटको सकारात्मक पक्षको रुपमा लिन सकिन्छ । पर्यटन तथा संस्कृति सम्वद्र्धन गर्न नेपाललाई आकर्षक र सुरक्षित पर्यटन गन्तव्यस्थलको रुपमा विस्तार गर्ने, विमानस्थलहरुको सम्भाव्यता अध्ययन, निर्माण, स्तरोन्नति र जग्गा अधिग्रहणका लागि रु. १ अर्ब ८१ करोड विनियोजन गर्नुका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान सुरक्षा अभिवृद्धि गर्न नयाँ राडार लगायतका अन्य अत्याधुनिक प्रणाली जडान गर्नेलगायत बजेटमा समेटिएको छ । त्यस्तै आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न प्रथम चरणमा नाफामा सञ्चालित सबै सार्वजनिक संस्थानहरु र क तथा ख वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीहरुलाई प्रत्येक वर्ष एक पटकमा सात दिनका लागि नेपालभित्रका पर्यटकीय स्थलहरुमा त्यस्ता संस्थाहरुकै खर्चमा अनिवार्य भ्रमण गर्ने व्यवस्था गरिएको छ ।

पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक स्थलहरु प्यूठान, सुर्खेतको काँक्रेविहार, पाल्पाको भैरवसन, तथा ऋषिकेश, सुनसरीको वराहक्षेत्र, गुल्मीको रेसुंगा, धनुषाधाम, देवघाट र खोटाङकोको हलेसी महादेवको जीर्णोद्वार, संरक्षण र संवद्र्धनका लागि रु. १३ करोड विनियोजन गरिएको छ भने मुस्ताङ जिल्लाको लोमान्थाङलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पूर्वाधार निर्माण कार्यलाई अगाडि बढाउने, ऐतिहासिक, धार्मिक र पुरातात्विक सम्पदाहरु एवं विभिन्न जातजाति र भाषाभाषीहरुको पहिचान झल्किने कला, संस्कृति, सीप र सामग्रीहरुको खोज, संरक्षण एवं प्रवद्र्धन र संग्रहालयहरुको सुदृढिकरणका लागि रु. ४३ करोड बजेट छुट्याइएको छ । बजेटमा आगामी आर्थिक वर्ष अमूर्त सांस्कृतिक सम्पदाहरुको जिल्लागत प्रोफाइल तयारीको कार्य सुरु गरिने, भाषा, साहित्य कला संस्कृतिको संरक्षण, संवद्र्धन एवं प्रवद्र्धनका लागि आगामी आर्थिक वर्षमा थप लगानी गर्ने भनिएको छ ।

विगतमा पर्यटन विकासका लागि यस्ता थुप्रै कार्यक्रमहरु बजेटमा समावेश हुँदाहुँदै पनि कार्यान्वयन हुन सकेन । त्यसैले व्यवसायीहरुले अहिले यस वर्ष पर्यटन क्षेत्रका लागि विनियोजित बजेट कार्यन्वयन हुन्छ की हुदैन भन्ने चिन्ता व्यक्त गरेका छन् । उनिहरुको आशंका भन्छन् ‘यो बजेटमात्रै कार्यन्वयन गरेपनि पर्यटन क्षेत्रले केही राहत महसुस थियो ।’ व्यवसायीहरुले भनेजस्तै बजेटमा समाविष्ट कार्यक्रमलाई सार्थकता तुल्याउनका निम्ति त्यसको कार्यान्वयन पक्षलाई वैज्ञानिक ढंगबाट अगाडि बढाउनु जरुरी देखिन्छ ।

के भन्छन् पर्यटन नेताहरु 

समग्रमा राम्रो छ
आङछिरिङि शेर्पा (पूर्व अध्यक्ष, एनएमए)
धेरै समयपछि आएको यो पूर्ण बजेट आउनुलाई सकारात्मक रुपमा लिनुपर्दछ । यसले व्यवसायी, कर्मचारीमा केहि मात्रामा उत्साह थपेको छ । बजेटमा पुरानै विषय वस्तुलाई निरन्तरता दिइएको छ । त्यत्ति हुँदाहुदै पनि उर्जा, कृषि र बैदेशीक लगानीसँगै पर्यटनलाई पनि प्राथमिकता दिइएको हुनाले यो बजेट महत्वपूर्ण छ । बजेटले पनि विकास निर्माणलाई प्राथमिकता दिएको भए अझ राम्रो हुन्थ्यो । बजेट कस्तो भन्ने कुरासँगै अर्को महत्वपूर्ण भनेको कार्यान्वयन पक्ष हो । तसर्थ विनियोजित बजेट सही ठाउँमा खर्च हुन्छ की हुदैन भन्ने कुरालाई हामीले गम्भिरतापूर्वक रुपमा लिनुपर्दछ । जसको लागि व्यवसायी एक हुनु जरुरी छ ।

सस्तो लोकप्रियताको उपज
हरि धरेल (पूर्व महासविच, टान) 
बजेटबाट पर्यटन व्यवसायीहरु उत्साहित छैन । बजेट सस्तो लोकप्रियताका लागि मात्रै आएको देखिन्छ । पर्यटन क्षेत्रको  मुख्य आधारशिलाका रुपमा रहेका पर्यटकीय सम्पदाहरुको जिर्णोद्वार, पर्वतीय पर्यटनको प्रवद्र्धन÷विकास र पर्यटकीय पूर्वाधार विकासलाई यो बजेटले खासै सम्बोधन गरेको छैन । आजसम्म सरकारले पर्यटन क्षेत्रमा जति बजेट विनियोजन गरेको छ, त्यो जहिले पनि अपुग र जहाँ खर्च गर्नुपर्ने हो त्यहाँ खर्चपनि भएको छैन । अहिलेको सरकारले पनि पर्यटन क्षेत्रमा खास काम गर्नुपर्ने ठाउँमा बजेट नै विनियोजन गरेको छैन ।

बजेट सामान्य
दीपक महत ( पूर्वअध्यक्ष, टान)

    बजेटबाट व्यवसायीहरु विल्कलै उत्साहित छैनन् । अस्थिर राजनीतिका कारण देशनै किस्ताबन्दीमा चलिरहेको बेला चुनावी सरकारले पुरानै कार्यक्रमलाई निरन्तरता दिदै भएपनि समयमै बजेट ल्याउनुलाई भने सकारात्मक रुपमा लिन सकिन्छ । आर्थिक विकासको तीनवटा खम्बामध्ये एक पर्यटनलाई जति प्राथमिकता दिनुपथ्र्यो दिन सकेन ।  यस पटक आवश्यक पूर्वाधार विकासलाई पनि केही लगानी गर्न खोजेको जस्तो देखिन्छ । बजेट आइसकेको अवस्थामा विनियोजित बजेटलाई कार्यान्वयनमा ल्याउनु अहिलेको चुनौति हो । यसमा विशेष ध्यान नदिने हो भने यो जस्तोसुकै बजेट आएपनि त्यसले खासै अर्थ राख्दैन । 

सोचे जस्तो आएन 
महेन्द्रसिंह थापा (अध्यक्ष, टान)
हामीले सोचेको जस्तो बजेट आएन । बजेट त हरेक वर्ष छुटिएकै हुन्छ । तर त्यसलाई सही ठाउँमा लगानी गरियो कि गरिएन भन्ने प्रश्न गम्भिर हुन आउछ । यो सरकारले पर्यटन व्यवसायीको गुनासो सुन्देला भन्ने सोचाई थियो, त्यो भएन । जलस्रोत, कृषि जस्तै पर्यटन पनि प्राथकितामा राखे पनि पर्यटनमा बजेट विनियोजन केही खुम्चिएको गए जस्तो लाग्छ । विमानस्थल निर्माण, क्षमता विस्तार र नयाँ जहाज खरिद जस्ता यावत कुराहरुलाई विशेष रुपमा सम्बोधन गर्नु जरुरी थियो त्यो भएन । 

जे समेटिनुपर्ने त्यो छैन
नवराज दाहाल (पूर्व महासचिव, टान)
परम्परागत पाराकै भएकोले यो बजेटले त्यस्तो उल्लेख्य काम गर्ला जस्तो लाग्दैन । जुन कुरालाई सम्बोधन गर्नुपर्ने हो त्यो छैन । सरकारले पर्यटन क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट निर्माण गर्छ भन्ने हामीले सोचेका थियौं तर त्यस्तो भएन । अर्कोकुरा हामी पर्यटन व्यवसायीहरुले भ्याट, करका विषयलाई बैज्ञानिक ढंगबाट समाधान खोजिन्छ भन्ने सोचिएको थियो त्यसको पनि कुनै सम्बोधन गरिएको छैन । आज कयौ क्षेत्रहरु अथाह सम्भावना भएर पनि प्रवद्र्धन र संवद्र्धन गर्न नसकिरहेको अवस्थामा ती कुराहरुलाई ध्यानमा राखेर बजेट विनियोजन गर्नुपथ्र्यो । सही सदुपयोग होस् भन्नेसिवाय हामीसँग अरु केनै हुन्छ अब ।   


No comments: