
काठमाडौं । सोलुखुम्बु–काठमाण्डौ पत्रकार समाज र आदिवासी जनजाति पत्रकार महासंघ सोलुखुम्बु शाखाका प्रतिनिधीहरुबीच अन्तरक्रिया कार्यक्रम कार्यक्रम सम्पन्न भएको छ । बुधबार (जेठ २९ गते) बिहान काठमाण्डौको चक्रपथस्थित त्रिवेणी क्याफे (फुडल्याण्ड)मा भएको उक्त अन्तरक्रिया कार्यक्रममा सोलुखुम्बु जिल्लाको पत्रकारितामा देखिएका समस्या र त्यसको समाधानको बारेमा छलफल भएको थियो ।
कार्यक्रममा समाजका अध्यक्ष प्रकाश खालिङले सोलुखुम्बुमा विकास पत्रकारिताको आवश्यकता रहेको औल्याउदै पत्रकारिता जगतले सोलुखुम्बु र काठमाडौंबीच सेतुको रुपमा काम गर्न सक्नुपर्ने जिकिर गर्नुभयो । सोलुखुम्बु जिल्लाको सम्भावित स्रोत साधनको उजागर गर्दै जिल्लाको समग्र विकासका लागि समाजको स्थापना गरिएको पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले पत्रकारिताको पेशागत दक्षता अभिबृद्धि र हित संरक्षण, जिल्लाका पत्रकार÷संचारकर्मीहरुलाई संगठित गर्ने र जिल्लाको समग्र विकासमा योगदान पु¥याउने खालका कामहरुमा समाजको अगुवाई हुनुपर्ने सुझाव दिएका थिए । महासंघका अध्यक्ष एवं उज्यालो ९० नेटवर्कमा आवद्ध रेडियो पत्रकार पि.टि.लोप्चनले समाजको स्थापनाको सह्राना गर्दै आगामी दिनमा समाजलाई सोलुखुम्बु र काठमाडौंको एउटा बहस गर्ने थलोको रुपमा स्थापित गर्नुपर्ने सुझाव दिनुभयो । किरात राई पत्रकार संघ सोलुखुम्बुका अध्यक्ष बुद्धबीर बाहिङले भौगोलिक विकटताका कारण सोलुखुम्बु जिल्लाको पत्रकारिता क्षेत्रले विभिन्न समस्या झेल्नु परेको बताउँदै जिल्लाको समाचार राष्ट्रिय बहसको रुपमा ल्याउन सक्नु अहिलेको चुनौति भएको धारणा राख्नुभयो ।
त्यस्तै सामुदायिक रेडियो सोलु एफ.एम. १०१.२ मेगाहर्जमा क्रियाशिल एवं बिबिसिका सोलुखुम्बु प्रतिनीधी संचारकर्मी सुजता तामाङले समाजले सोलुखुम्बुको समाचार काठमाडौंसम्म र काठमाडौंको समाचार सोलुखुम्बुसम्म सहज रुपमा आदन प्रदान गर्ने संयन्त्रको रुपमा काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा संञ्चारकर्मी डि.बि. खालिङ, मेनुकला राईलगायतले आआफ्नो विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विभिन्न मिडियामा आवद्ध पत्रकार संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सोलुखुम्बुबाट राजधानी आई पत्रकारिता पेशा अंगाल्दै आएका र अध्ययन अध्ययपन गर्दै आएका व्यक्तिहरुलाई संगठित गर्दै पत्रकारितालाई मर्यादित र व्यवसायिक बनाउने उद्देश्यले गत बैशाखमा समाजको स्थापना गरिएको थियो ।
No comments:
Post a Comment