Sunday, May 12, 2013

हिमाल आरोही बढाउन रोयल्टी मिनाहा गर्ने तयारी

काठमाडौं, बैशाख २७ । सगरमाथा हिरक जयन्तीको अवसर पारि सरकारले ओझेलमा परेका हिमाल आरोहण गर्नेहरुसँग रोयल्टी नलिने भएको छ । ओझेलमा परिरहेका हिमालहरुमा पर्यटक आकषिर्त गरेर पर्यटकीय गन्तव्यस्थल बनाउन सरकारले रोयल्टी मिनाहा गर्ने तयारी गरेको हो । रोयल्टी मिनाहा गर्ने प्रस्ताव पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले अर्थमन्त्रालयलाई पठाइसकेको सचिव सुशील घिमिरले बताउनुभयो ।

शुक्रबारदेखि राजधानीमा सुरु भएको पाँचौ राष्ट्रिय पर्यटन मेलाको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले अर्थमन्त्रालयले सकरात्मक जवाफ फर्काउनेमा विश्वस्त रहेको बताउनुभयो । अर्थमन्त्रालयले सहमति दिएमा पर्यटन मन्त्रालयले मन्त्रीपरिषदबाट पारित गराई कार्यान्वयनमा ल्याउने उहाँको भनाई थियो । जबसम्म ओझेलमा परेका हिमाल आरोहण गर्न पर्यटक आकषिर्त हुँदैनन तबसम्म रोयल्टी नलिने सरकारको तयारी छ ।

६० वर्षमा ४ गन्तव्यस्थल

नेपालमा ५०/६० वर्षको अन्तरालमा जम्मा ४ वटामात्र प्रमुख पर्यटकीय गन्तव्य स्थल बनाउन सकिएको बताउँदै सचिव घिमिरले देशका कुना-काप्चासम्म पर्यटक पुग्न सक्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय काठमाडौं, पोखरा, लुम्विनी, सौरहा र सगरमाथा क्षेत्रमात्र पर्यटकहरुका लागि प्रमुख गन्तव्य स्थल बन्दै आएको छ । पर्यटन मेलाले नयाँ-नयाँ गन्तव्यको पहिचान गरि प्रबर्द्धन गर्न सहयोग पुर्‍याउने उहाँले विश्वास व्यक्त गर्नुभयो । पर्यटन व्यवसायीहरुले नयाँ-नयाँ ठाउँहरुको टुर प्याकेज बनाएर बेच्नुपर्ने बताउँदै उहाँले पर्यटन क्षेत्रको पूर्वाधार विकासमा सरकार लागेको बताउनुभयो ।

पर्यटन तथा नागरिक उड्यायन मन्त्री रामकृष्ण श्रेष्ठले मेलाको उद्घाटन गर्दै मुलुकको विकास पर्यटन विकासमा अडिएको ठोकुवा गर्नुभयो । उहाँले पर्यटन विकास गर्न त्रिभुवन विमानस्थलको स्तरोन्नती गर्दै राजधानी बाहिरका प्रमुख शहरहरुमा क्षेत्रीय विमान स्थल निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । सरकारले २ वटा विमान किन्न बैना पठाइसकेको जानकारी दिँदै उहाँलै २ वर्षभित्रमा ती जहाज नेपाल आइसक्ने जानकारी दिनुभयो ।

पर्यटकीय स्थलहरुको संरक्षण हुन सकेन

नेपालमा पर्यटकीय स्थलहरुको पहिचान गरि संरक्षण गर्न नसक्दा पर्यटकीय स्थलहरु लोप हुँदै जान थालेको उहाँको गुनासो थियो । कुन ठाउँमा मोटर बाटो लैजाने, कुन ठाउँमा एयरपोर्ट बनाउने र कुन ठाउँलाई ट्रेकिङको लागि छोडिदिने भन्ने विषयमा सरोकारवाला पक्ष नै अन्यौलमा रहेको उहाँको भनाई थियो ।

मेलामा विभिन्न जिल्लाका पर्यटकीय सम्भवना भएका स्थलहरुको प्रचार-प्रसार तथा प्रबर्द्धन गर्ने काम भईरहेको छ । झण्डै ५० वटा जिल्लाहरुको सहभागिता रहेको मेलाको मूख्य उद्देश्य लुकेर रहेका पर्यटकीय गन्तव्य स्थलको पहिचान गरि प्रबर्द्धन गर्नुरहेको छ । मेलाले पर्यटन विकासमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

No comments: