Friday, May 3, 2013

समावेशी महिला आरोही टोलीले चार महादेशका चार हिमाल चढे

 सात महादेशको सातैवटा उच्च हिमाल चढ्ने अभियानअन्तर्गत समावेशी महिला आरोही टोलीले पछिल्लो पटक अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमाञ्जरोको सफल आरोहण गरेको छ । यससँगै टोलीले सगरमाथासहित चार महादेशका सबैभन्दा अग्ला हिमालहरुकोे सफलतापूर्वक आरोहण गरेको छ ।  
    सन् २००८ मा विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८मि) आरोहण गरेर आफ्नो यात्रा सुरु गरेको टोलीले त्यसपछि क्रमश सन् २०१० मा अस्ट्रेलियाको सबैभन्दा अग्लो हिमाल  कोस्सिआस्ज (२२२८ मि), सन् २०१० मै युरोपको सबैभन्दा अग्लो हिमाल एलब्रस (२६४२ मि) र २०१३ मा अफ्रिकाको किलिमाञ्जरो हिमाल (५८९५मि) सफलतापूर्वक आरोहण गरेको छ ।
विभिन्न जाति, क्षेत्रको प्रतिनिधित्व गरिरहेको यो टोलीले अब ३ बटा महादेशका उच्च हिमालको आरोहण गर्न बाँकी छ । किलिमञ्जरो हिमालका आरोहण सँगसँगै टोलीले नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण सङ्घ (एनएमए), पन्चकन्या ग्रुप र एनआरएन लगायतका संस्थासँग सहकार्य गरेर पहिलो पटक अफ्रिकाको दासएस सलाम र जोहन्नसवर्गमा नेपालको प्रवद्र्धनात्मक कार्यक्रमको समेत आयोजना गरेका थियो ।  नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत सुभाष निरौलाले बोर्ड स्थापनाको  १४ वर्षको ईतिहासमा पहिलो पटक अफ्रिकामा प्रचारमूलक कार्यक्रम  गरेको भन्दै यसको फिडब्याक हेरेर आगामी दिनमा प्रचार प्रसारलाई निरन्तरता दिदै जाने बताउनुभयो ।
टोलीेले सन् २०१४ फेब्रुअरीमा साउथ अफ्रिकाको अकन्कजुवा हिमाल चढ्ने तयारी गरिरहेको छ । शैली बस्नेत नेतृत्वको आरोही टोलीमा आशाकुमारी सिंह, चुन्नु श्रेष्ठ, पुजना आचार्य, निमाडोमा  शेर्पा, माया गुरुङ र पेमादीकी शेर्पा रहेका छन् ।

No comments: