प्रकाश खालिङ, चैत्र १७ । पर्वतारोहीद्वय तेन्जिङनोर्गे शेर्पा र सर एड्मन्ड हिलरीले विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक पाइला टेकेको ६० वर्ष पुगेको अवसर पारेर मनाउन लागिएको सगरमाथा हीरक जयन्तीका लागि प्रस्तावित बजेटको आधा पनि आउने सम्भावना देखिँदैन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हीरक जयन्तीका लागि तीन करोड रुपैयाँको बजेट प्रस्ताव गरे पनि अर्थ मन्त्रालयले एक करोड पच्चीस लाख रुपैयाँको बजेट मन्त्री परिषद्मा पेश गर्ने भएपछि आवश्यक बजेट आउने सम्भावना क्षीण बनेको हो । पर्यटन मन्त्रालयले अर्थ मन्त्रालयलाई प्रस्ताव गरेको तीन करोड रुपैयाँ बजेटअन्तर्गत हीरक जयन्ती सफल पार्नका लागि लोगो निर्माण गर्ने, स्कुल, कलेजहरुमा पर्वतारोहण सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, कला प्रर्दशनी गर्ने, विश्वभरका आरोहीहरुलाई अभिनन्दनका लागि आवश्यक सामाग्री जुटाउने, विदेशी कुटनीति प्रमुखहरुलाई खुम्बु क्षेत्रको भ्रमण गराउने, हिमाल र हिमाली क्षेत्रमा सरसफाइ कार्यक्रम गर्ने, आरोहीद्वय तेन्जिङनोर्गे शेर्पा र सर एड्मन्ड हिलरीको परिवारलाई नेपालमा बोलाई सम्मान गर्ने, पर्यटन पत्रकारलाई प्रचारात्मक भ्रमण गराउने, विश्व प्रसिद्ध हिमाल आरोही तथा अन्य व्यक्तिलाई नेपालमा निमन्त्रणा गरी विश्वमाझ प्रचार प्रसार गर्ने र डायमन्ड जुब्ली म्याराथुन जस्ता विभिन्न कार्यक्रम समेटिएका छन् ।
अर्थले मन्त्रीपरिषदमा उक्त बजेट पेश गर्ने जनाए पनि कति बजेट दिन्छ भन्ने कुरा प्रतिक्षाकै विषय बनेको छ । तसर्थ, अहिले सरकारले कार्यक्रम सञ्चालनका लागि पुग्दो बजेट दिने या नदिने भन्ने विषयमा टुंगो नलागेसम्म कार्यक्रमको रुपरेखाको बारेमा स्पष्ट हुने अवस्था देखिँदैन । हीरक जयन्ती कार्यक्रमका संयोजक तथा पर्यटन उद्योग महाशाखाका प्रमुख मोहनकृष्ण सापकोटाले सरकारबाट बजेट पास भइसकेपछि कार्यक्रमको थपघट गर्ने जानकारी दिनुभयो । उद्घाटन सत्र २९ मे दिन काठमाण्डाँैमा हुने तथा अन्य कार्यक्रमलाई आवश्यकताअनुसार अगाडि बढाउने योजना तयार पारिएको पनि उहाँले बताउनुभयो । उहाँले कार्यक्रमहरु सफल पार्नका लागि सम्पूर्ण पर्यटन व्यवसायीहरुलाई सक्दो सहयोग गर्न आग्रहसमेत गर्नुभयो ।
आरोहीद्वय नेपाली नागरिक तेन्जिङनोर्गे शेर्पा र न्युजिल्याण्डका नागरिक सर एडमण्ड हिलरीले सन् १९५३ मे २९ तारिख जेठ १५गते) को बिहान ठीक ११ः१५ बजे चुचुरोमा पाइला राखेका थिए । सोही दिनको सम्झनामा हरेक वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रुपमा देशभित्र र बाहिर विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरु अयोजना गर्न लागिएको हो । विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये सगरमाथालगायत आठ वटा हिमालहरु नेपालमै रहेका छन् । नेपाल घुम्न आउने जम्मा पर्यटकमध्ये ४० प्रतिशत पर्यटक पदयात्रा र पर्वतारोहण क्षेत्रका लागि आउने गरेका छन् । पछिल्लो समयमा सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमान कायम गर्नेको संख्या तीब्र रुपमा बढिरहेको छ । हरेक वर्षमा करिब ३ सयभन्दा बढिले फरकफरक कीर्तिमान कायम गर्दै आएका छन् । हालसम्म झण्डै ५ हजार देशी तथा विदेशी पर्वतारोहीहरुले सगरमाथाको सफल आरोहण गरेर विभिन्न कीर्तिमान कायम गरिसकेको तथ्याङ्कले देखाएको छ । सगरमाथा सोलुखुम्बु जिल्लाको खुम्जुङग गाविसमा अवस्थित रहेको छ । ८ हजार ८४८ मीटर (२९,०२८फीट) उच्चाइ रहेको सगरमाथालाई तिब्बती भाषामा चोमोलुङ्गमा भनिन्छ । सगरमाथालाई सन १८६५मा कर्णेल सर जोर्ज एभरेस्टको नाममा माउन्ट एभरेस्ट नामकरण गरिएको थियो । सन् १९६०मा इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम सगरमाथा राखेका थिए ।
No comments:
Post a Comment