Monday, March 11, 2013

पश्चिमा संस्कृति र नेपाली मौलिक संस्कृतिको संगमस्थल ठमेल

ठमेल पर्यटकीय हिसाबले त महत्वपूर्ण हुँदै हो, त्यत्तिमात्रै नभएर ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । तसर्थ, पश्चिमा संस्कृति र नेपाली मौलिक संस्कृतिको संगमस्थल भनेर पनि चिनिन्छ ठमेललाई । 

प्रकाश खालिङ काठमाडौं, फागुन १०
ठमेलको चर्चा धेरै हुन्छ, त्यो अन्तर्राष्ट्रियस्तरमै किन नहोस् । नेपालको पर्यटन व्यवसाय भन्नेबित्तिकै ठमेलको नाम जहिले पनि अग्रपंतिमा आउँछ । नेपाल र नेपालीलाई चिनाउने नगर ठमेललाई पर्यटक आकर्षणको केन्द्रबिन्दु पनि भनिन्छ । नेपाल आएकामध्ये ८० प्रतिशत पर्यटक ठमेल पुग्ने गरेको विभिन्न तथ्याङ्कहरुबाट प्रष्ट हुन्छ । ठमेलको अवस्थाले नेपालप्रतिको अन्तर्राष्ट्रिय पर्यटन दृष्टिकोणमा सहजै परिवर्तन ल्याउन सक्छ । हजारौं व्यवसायीले प्रत्यक्ष वा अप्रत्यक्षरुपमा कारोबार गर्ने यो क्षेत्रमा पर्यटकले नेपाल र नेपालीसँग सम्बन्धित सबै विषयको जानकारी प्राप्त गर्ने थलोको रुपमा पनि चिन्ने गरेका छन् ।  ठमेल पर्यटकीय हिसाबले त महत्वपूर्ण हुँदै हो, त्यत्तिमात्रै नभएर ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । तसर्थ, पश्चिमा संस्कृति र नेपाली मौलिक संस्कृतिको संगमस्थल भनेर पनि चिनिन्छ ठमेललाई । ठमेल नेपाली कच्चापदार्थको उत्पादन तथा सांस्कृतिक महत्व झल्काउने उपभोग्य वस्तु विनिमय गर्ने स्थान पनि हो । पछिल्लो समयमा यसलाई सांस्कृतिक तथा नेपाली उत्पादनको बजारका रुपमा नेपाली परिचय झल्काउने स्थलको रुपमा विकास गर्ने प्रयास भइरहेको छ ।  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरणसँगै यौन तथा विभिन्न अनैतिक क्रियाकलाप गर्ने ठाउँको रुपमा पनि प्रयोग गरिएको हुनाले ठमेलले बद्नामी पनि खेप्नुपरेको तीतो यथार्थलाई टाढा राख्न सकिन्न । त्यस्ता खालका  क्रियाकलापहरुलाई रोक्ने प्रयासहरु नगरिएका होइनन् । कुनै न कुनै रुपबाट ठमेलप्रति मान्छेको दृष्टिकोणमा परिवर्तन ल्याउने प्रयास भए पनि यसलाई पूर्णरुपमा निर्मूल पार्न भने सकिएको अवस्था छैन । ठमेललाई वास्तविक ठमेल बनाउनका निम्ति समग्र ठमेलका व्यवसायी, घरधनी, सरोकारवाला निकायबीच समन्वयात्मक सम्बन्ध हुन जरुरी छ । ठमेलमा शान्ति सुरक्षाको उचित व्यवस्था, फोहर व्यवस्थापन, अनैतिक क्रियाकलापलाई निराकरण, पर्यटनमैत्री वातावरण निर्माण तथा समय र परिस्थितिअनुरुप ठमेलको विस्तार र विकासका लागि आवश्यक नीतिनियम तर्जुमा गर्नु अहिलेको आवश्यकता हो ।  फर्केर हेर्दा विभिन्न आरोह अवरोह पार गर्दै ठमेल आजको अवस्थामा आइपुगेको हो । कुनैबेला एउटा सामान्य गाउँबस्तीकै रुपमा रहेको ठमेल विभिन्न कारणले गर्दा अहिले जनजिब्रोमा झुण्डिएको छ । नेवारी भाषा (नेपाल भाषा) को थ वहिलको अपभ्रंश भई ठमेल नाम रहन गएको थियो । नेवारी भाषामा थ वहिल भनेको पुरानो बिहार भन्ने हुन्छ । जानकारहरुका अनुसार ठमेलको नाम सञ्चयकोष भवन अगाडिबाट अमृत साइन्स क्याम्पस जाने क्षेत्र (जसलाई भगवान बहालले चिनिन्छ) मा रहेको पुरानो विक्रमसिंह महाविहारमा आधारित रहेको छ । अहिले पनि विक्रमसिंह महाविहारमा सुन र चाँदीको अक्षरबाट लेखिएका मञ्जुश्रीकालीन स्वर्णलिखित दस्तावेज छन् । त्यसको संरक्षण र संवद्र्धनका लागि भगवान वहाल गुठीले काम गरे पनि प्रभावकारीरुपमा ऐतिहासिक पहिचानको खोजी, संरक्षण र प्रवद्र्धनको काम भएको पाइँदैन । ठमेल क्षेत्रमा भगवान बहालसहित विभिन्न सात वटा बहालहरु छन् । तिनीहरुको पनि छुट्टाछुट्टै ऐतिहासिक तथा धार्मिक महत्व रहेको छ । इतिहासलाई हेर्दा १९६८ देखि ठमेलमा पर्यटकको आवतजावत सुरु भएको थियो । ठमेलको पहिलो प्रवर्तकको रुपमा कर्ण शाक्यलाई लिन सकिन्छ । कुनै समयमा कर्ण शाक्यले सामान्य होटेलबाट सुरु गरेको ठमेलको पर्यटन व्यवसाय गर्नेहरुको संख्या अहिले आएर सयको होइन हजारमा गन्ती गर्नुपर्ने हुन्छ । ठमेल र पर्यटन अन्तरसम्बन्धित हुनुको पछाडि थुप्रै कारणहरु छन् ।
  ठमेलको क्षमता
  ठमेलमा अहिले विभिन्न स्तरका होटेल, रेस्टुरेन्ट, टे«किङ, ट्राभल, राफ्टिङ, मसाज, हाइकिङ, प्याराग्लाइडिङ, ह्यान्डीक्रयाफ्ट र अन्य विभिन्न पर्यटकीय गतिविधि सञ्चालन भइरहेका छन् । तथ्याङ्कअनुसार हाल करिब ३ हजार ३ सय वटा विभिन्न व्यवसाय ठमेलमा सञ्चालित छन्् । एक वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ठमेलमा ९ सय घरधनी र २ हजार ५ सय ७२ व्यवसायी संलग्न छन् । यहाँ २ सयभन्दा बढी होटेल, त्यत्ति नै संख्यामा रेस्टुरेन्ट र ट्राभल कम्पनी, डेढ सयभन्दा बढी ट्रेकिङ कम्पनी, १ सय निर्यातक, ६० कार्गो, ५० भन्दा बढी ¥याफ्टिङ कम्पनीलगायत अन्य विभिन्न कम्पनीहरु रहेका छन् । तथ्याङ्कअनुसार यहाँ ह्यान्डिक्रयाफ्ट (कार्पेट, पश्मिना, ज्वेलरी, मूर्ति, नेपाली कागज, नान्कालगायत) को व्यवसाय गर्नेहरुको संख्या सबैभन्दा बढी देखिन्छ । दिन दुई गुणा रात चार गुणाले बढेको टे«किङ, ट्राभल, राफ्टिङलगायतका कम्पनी स्थापनाको संख्यात्मक वृद्धिसँगसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकलक्षित फरक प्रकारका सपिङ सेन्टरहरु प्रशस्तै मात्रामा खुलेका छन् । यता रात्रिकालीन (साँझ पाँच बजेदेखि सुरु हुने) व्यावसायिक कम्पनीहरु पनि अहिले कम छैनन् । पपबार, डान्सबार, ल्यापब्यान, डिस्कोथेक, लञ्चबारलगायत करिब ५० वटा रात्रिकालीन व्यवसाय अहिले सञ्चालनमा रहेका छन् । सुरक्षालगायत विभिन्न कारणले गर्दा अहिले ती व्यवसाय सञ्चालको लागि सीमित अवधि तोकिएको छ । व्यवसायीहरुको तीव्रमागअनुसार पछिल्लोपटक निश्चित आचारसंहिता बनाएर २४सैं घण्टा व्यवसाय सञ्चालन गर्ने प्रयास पनि भइरहेको छ । ठमेलले अरु क्षेत्रमा जतिको पहुँच राख्न सकेको छ त्यत्तिकै रुपमा बैंक तथा वित्त क्षेत्रमा पनि पहुँच राख्दछ । क, ख, ग, घ वर्गको १५ वटाभन्दा बढी बैंकहरुको शाखा यहाँ राखिएको छ । त्यस्तै यहाँ ६ वटा सहकारी संस्था र एक वटा फाइनान्स रहेको छ । त्यसैगरी ४९ वटा मनी ट्रान्सफर (वैदेशिक मुद्रा सटही काउन्टर) ठमेलमै रहेका छन् । यो संख्यात्मक वृद्धिदर अझै जारी छ ।
  ठमेलको सुरक्षा अवस्था 
  ठमेलमा बाक्लो बस्ती भएको कारण त्यसै पनि खतरामुक्त राख्न सकिन्न । कुनै पनि बेला यहाँ असामान्य घटना नघटोस् भन्ने हेतुले केही प्रयासहरु गरिएको छन् । त्यो पूर्ण भने पटक्कै होइनन् । ठमेललाई सुरक्षित राख्न परिषद्ले तत्कालका लागि त्रिदेवी मार्ग, सात घुम्ती, काठमाडौं गेस्ट हाउस, नर्सिङ चोक र जेपी रोडलगायतका विभिन्न ठाउँमा सीसीटीभी जडान गरिएको छ । ठमेल क्षेत्रभर ५० सीसीटीभी जडान गर्ने योजना बनाएको थियो तर त्यो पूरा हुन सकेको छैन । प्रहरी प्रशासनसँग मिलेर सुरक्षार्थ विभिन्न कामहरु भए । ठमेलमा अहिलेसम्म पहिचान भएका ९ वटा नाकाहरु छन् । यहाँ पर्यटनमार्ग, चिवहाल मार्ग, मस्र्याङ्दी मार्ग, ज्याठामार्गलगायतका ११ वटा विशेष सडक मार्गहरु पनि छन् । जसमध्ये सवारीसाधनका लागि ज्याठा मार्गबाहेक सबै मार्गहरु वान वे  (एकद्वार) हुन् । ट्राफिक समस्या समाधानका लागि सबै मार्गलाई वान वे बनाइएको हो ।
    परिषद्मा राणा र थपलिया भिड्दै 
  काठमाडौं । ठमेल पर्यटन विकास परिषद् (टीटीडिसी)को नयाँ कार्यसमितिका लागि प्रकाश नर्सिङ राना र रामशरण थपलियाको प्यानल भिड्दैछन् । आज (शुक्रबार) सम्पन्न हुन लागेको परिषद्को निर्वाचनका लागि दुवै प्यानलले आफ्नो पक्षमा जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।  राणा प्यानलको प्रथम उपाध्यक्षमा राजन शाक्य, द्वितीय उपाध्यक्षमा समीर गुरुङ, महासचिवमा राजुमान ढंगोल, सचिवमा सुनिल शर्मा र कोषाध्यक्षमा गम्भीर बज्राचार्यले उमेद्वार दिएका छन् भने कार्यकारिणी सदस्यहरुमा गोपाल गुरुङ, विरुमान प्रजापती, कुन्साङ्ग दोर्जे लामा, छवि शिवाकोटी, अनिल गुरुङ, न्हुच्छे महर्जन, सुनिल गुरुङ र विशालकुमार रहेका छन् । त्यस्तै प्रतिद्वन्द्वी थपलिया प्यानलको प्रथम उपाध्यक्षमा गोविन्दप्रसाद पन्थ, द्वितीय उपाध्यक्षमा समीर गुरुङ, महासचिवमा महेशमानसिंह ढंगोल, सचिवमा अर्जुन बन र कोषाध्यक्षमा रामकुमार लामा रहेका छन् । त्यसैगरी कार्यकारिणी सदस्यहरुमा ईश्वरीप्रसाद भण्डारी, गिता गुरुङ, हरि ढकाल, कुस्माखर नेपाल (दीपक), अनिल प्रसाद अमात्य, टासी गुरुङ, कमल भण्डारी र दीपककुमार केसी रहेका छन् । दुवै प्यानलले ठमेलको विकास गर्नेभन्दा छुट्टाछुट्टै घोषणा पत्रसमेत सार्वजनिक गरिसकेका छन् । आफ्नो पक्कड कायम राख्नका लागि दुवै पक्षले केही दिनयता दौडधुपलाई तीव्र पारेका थिए । जसले गर्दा ठमेलमा एक प्रकारको चहलपहल बढेको छ । ठमेलका अधिकांश व्यावसायीले समग्र ठमेललाई व्यवस्थित, मर्यादित बनाउनका लागि एक ढिक्का पार्न सक्ने नेतृत्व आउनुपर्ने बताएका छन् । परिषद्को भोटर्स संख्या १२३ रहेको छ ।

  पुरानो एजेन्डा निरन्तरता दि“दै नया“ काम गर्ने
प्रकाश नर्सिड्ड राणा  उम्मेद्वार (अध्यक्ष)-

राणा प्यानलले ठमेलको सवालमा विगतको नेतृत्वले उठाएको एजेन्डाहरुलाई निरन्तरता दिँदै ठमेलको लागि नयाँ कार्यहरु गर्ने १५ बुँदामा आफ्नो योजना तथा प्रतिबद्धता सार्वजनिक गरेको छ । ठमेल आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको आवतजावत हुने भएकाले यस क्षेत्रको प्रवद्र्धन र व्यवसायीहरुबीच समन्वयात्मक भूमिका खेल्ने, ठमेलमा रहेका व्यवसायहरुलाई व्यवस्थित बनाउन सम्बन्धित निकायसँग समन्वय गरी न्यूनतमस्तरको नीतिनिर्माण गर्ने तथा घरधनी तथा व्यवसायीहरुको हकहितको लागि सहजकर्ताको भूमिका खेल्दै सम्बन्धित निकायसँग समन्वय गरि सहजताको वातावरण निर्माण गर्ने, ठमेलको क्षेत्रविस्तार गर्नेलगायतका नयाँ एजेन्डाहरु आफ्नो घोषणा पत्रमा उल्लेख छ ।
सदस्य संख्या बढाउने तथा पैदलमार्ग खोल्ने रामशरण थपलिया उम्मेद्वार (अध्यक्ष)
थपलिया प्यानलले आफ्नो घोषणापत्रमार्फत ९ वटा बुँदामा आफ्नो योजना तथा प्रतिबद्धता सार्वजनिक गरेको छ । घोषणापत्रअनुसार ठमेल पर्यटन विकास परिषद्को सदस्य संख्या बढाएर २ हजार पु¥याउने, ठमेलको आकार विस्तार गर्ने, पर्यटकको समस्यालाई मध्यनजर गर्दै ठमेल–हनुढोका, हनुमान ढोका–ठमेल र ठमेल–स्वयम्भु, स्वयम्भु–ठमेल पुरात्वातिक पैदलमार्ग बनाउने बनाउने, ठमेल प्रवेश गर्ने पर्यटकका लागि सूचनापार्टी तथा नक्साको व्यवस्था गर्ने, व्यवसायी, घरधनी र सरोकारवाला निकायबीचको सम्बन्ध सुमधुर बनाउनेलगायत विभिन्न एजेन्डाहरु रहेका छन् । 

 
परिषद् हिजोदेखि आजसम्म 
ठमेल पर्यटन विकास परिषद्  (टीटीडीसी) अहिले २३ वर्षको तन्नेरी अवस्थामा रहेको छ । ठमेलमा देखिएको तत्कालीन र दीर्घकालीन समस्याहरुको समाधान गर्ने उद्देश्यका साथ वि.स.ं २०४७ सालमा परिषद् (तत्कालीन ठमेल पर्यटन विकास समिति)को स्थापना भएको थियो । त्यत्तिखेर गणेशबहादुर पाण्डेको अध्यक्षतामा ९ सदस्यीय कार्य समितिबाट संस्था स्थापना भएको थियो । उक्त कार्य समितिमा अहिलेका तेजेन्द्रनाथ श्रेष्ठ प्रवक्ताको रुपमा रहेका थिए । हालसम्म पाण्डेसहित तेजेन्द्रनाथ श्रेष्ठ, अनिल जोशी, स्व. नाम्गेल लामा र सुरेन्द्रकुमार श्रेष्ठसहित पाँच जनाले परिषद्को नेतृत्व सम्हालिसकेका छन् । पाण्डे र श्रेष्ठ परिषद्मा ३÷३ चोटी अध्यक्ष भइसकेका छन् । ठमेल पर्यटन विकास समिति, बोर्ड हुँदै परिषद् भएको हो । यसबीचमा थुप्रै आरोह अवरोह तथा विभिन्न उत्तारचढावहरु पार गर्दै आएको छ ।   ठमेलमा जतिजति जनघनत्व बढ्दै गयो त्यत्तिकै मात्रामा व्यावसायिक तथा सामाजिक संघसंस्थाहरुको स्थापना भएको पाइन्छ । यहाँ कुनै न कुनै हिसाबले आफ्नो पेशा र व्यवसायका साथै समाज सेवाको लागि भन्दै संस्था, क्लबहरुको स्थापना भएका छन् । ठमेलमा मसाज व्यवसायी संघ, रात्रिकालीन व्यवसायी संघ जस्ता विभिन्न व्यावसायिक संघसंस्थाहरु खडा गरिएका छन् । प्राप्त जानकारीअनुसार समाज सेवाको लागि भनेर खोलिएका किसान क्लब, चिबहाल क्लब, बीबीएट क्लब, मैत्री परिवार क्लब, स्वेत गणेश क्लब, पहेलो ताराक्लब, लैनचौर क्लब, पिस क्लब, छ्वास अजिम्ब क्लब, ठमेल युवा संघ, सामुदायिक सेवा समाजलगायत झण्डै १३ वटा संघसंस्थाहरु छन् । परिषद्ले ती संस्थाहरुसँग सहकार्य गरेर आफ्नो कामकारबाहीलाई अघि बढाउँदै आएको छ ।  परिषद्मा तेजेन्द्रनाथ श्रेष्ठ नेतृत्वको कार्यसमितिले तुलनात्मकरुपमा केही राम्रा कामहरु गरेको छ । परिषद्को पहल एवं यहाँको सरकारी तथा गैरसरकारी निकाय, व्यवसायी र  घरधनीहरुबीचको सहकार्यमा सडक र सकड बत्ती व्यवस्थापन राख्ने, ढल निकास र खानेपानीको व्यवस्थापन गर्ने, घरधनी–घरधनी र व्यवसायी–व्यवसायीबीच सम्बन्ध सुधारका लागि विभिन्न अन्तरक्रिया कार्यक्रम गर्ने, शान्ति सुरक्षा व्यवस्थापनको लागि सीसीटीभी राख्ने, यौनजन्य क्रियाकलापलाई निरुत्साहित पार्नका लागि केही राम्रा कामहरुको थालनी भएको छ ।  यौनजन्य क्रियाकलापको कारण ठमेलको बद्नाम भइरहेको कुरालाई मध्यनजर गर्दै आचारसंहिता बनाएर त्यसलाई नियन्त्रण गर्ने, अनुगमण गर्ने काम भयो । यसबीचमा ठमेललाई चौबीसै घन्टा सञ्चालनमा ल्याउने योजनाअनुरुप प्रयासहरु पनि भए । तर पनि केही एजेन्डालाई पूर्णता भने दिन सकेन ।  परिषद्ले ठमेललाई कायापलट गर्न चार प्रमुख कामलाई आफ्नो मुख्य प्राथमिकता राखेको थियो । कार्यसमितिको प्राथमिकताअन्तर्गत शान्ति सुरक्षा, यातायात र ट्राफिक व्यवस्थापन, फोहोर व्यवस्थापन तथा सडक, खानेपानी, ढल र बिजुलीबत्ती व्यवस्थापन सुधारलगायत थिए । तीमध्ये ठमेलको शान्ति सुरक्षाको लागि ट्राफिक र सवारीसाधन पार्किङको दीर्घकालीन व्यवस्था गरिएको छैन भने फोहोर व्यवस्थापन, ध्वनि प्रदूषण नियन्त्रण, ठमेलको नक्सांकन, पर्यटन सूचना केन्द्र स्थापनालगायतका कार्यहरुलाई पूर्णता दिन सकिएन ।   

No comments: