Sunday, March 10, 2013

एयरबसद्वारा निगमसमक्ष विमानको नया“ मूल्य प्रस्ताव

फागुन २३,


  युरोपको एयरबस कम्पनीले नेपाल वायुसेवा निगमलाई सन् २००९ को सम्झौताअनुसारको मूल्यमा विमान उपलब्ध गराउन नसक्ने जानकारी गराएको छ । निगमका अधिकारीसँग बुधबार काठमाडौंमा भएको वार्तामा एयरबसका निर्देशक शील शुक्लको टोलीले लागत मूल्यवृद्धि भएको भन्दै विमान खरिद गर्ने भए त्यतिबेलाको मूल्यभन्दाप्रति विमान ५० करोड रुपैयाँभन्दा बढी तिर्नुपर्ने प्रस्ताव गरेका छन् । 
  शुक्लसहितको दुई सदस्यीय एयरबसका वार्ताकार मंगलबार काठमाडौं आएका हुन् । केही दिनअघि निगमले वार्ताका लागि एयरबसलाई पत्राचार गरेको थियो । एयरबसको प्रस्ताव मान्ने हो भने सरकारले दुईवटा न्यारो बडीका विमान खरिद गर्न सन् २००९ को मूल्य भन्दा एक अर्ब बढी रुपैयाँ थप गर्नुपर्ने छ । जुन मूल्य सरकारले गरेको अनुमानभन्दा धेरै बढी हो । सन् २००९ मा एयरबसले न्यारोवडीको विमान त्यतिबेलाको डलरको मूल्य अनुसार करिब तीन अर्ब ४० करोड अर्थात ४१ दशमलव २८९ मिलियन डलरको मूल्यमा दिन प्रस्ताव गरेको थियो । 
  एयरबसका वार्ताकार काठमाडौं आएको जानकारी निगमले पर्यटन मन्त्री पोष्टबहादुर बोगटीलाई समेत दिएको छैन । ‘निगमको टोली काठमाडौं आएको मलाई जानकारी छैन’, पर्यटन मन्त्री बोगटीले भन्नुभयो, ‘एयरबसको वार्ता टोली आउने त कुरा भएको थियो, वार्ता सकेपछि मलाई जानकारी गराउने होलान् ।’ निगमले एयरबससँग वार्ता गरेको बारेमा निगम सञ्चालक समितिका सदस्य एवं अर्थ मन्त्रालयका सहसचिव टंकमणि शर्माले पनि अनभिज्ञता जनाउनु भयो । ‘एयरबसका प्रतिनिधि आउने त कुरा थियो’, सहसचिव शर्माले भन्नुभयो, ‘वार्ता भएको मलाई जानकारी छैन ।’ उहाँका अनुसार सञ्चालक समितिले वार्ता गर्ने अधिकार दिए पनि एयरबससँग एमओयू गर्ने अधिकार भने दिएको छैन । 
  विमान खरिद गर्न निगमलाई आवश्यक स्वतन्त्रता प्रदान गरिएको भन्दै मन्त्री बोगटीले आफूहरुले सञ्चालक समितिले भनेअनुसार नै निर्णय गरिदिएको समेत जानकारी दिनुभयो । अत्यन्तै गूपचूपमा वार्ता गरेर शुक्लको टोली बिहीबार नै फ्रान्स फर्कँदै छ । निगम सञ्चालक समितिले भने एयरबसले पुरानै मूल्यमा विमान दिने जानकारी दिएपछि केही साता अघि बसेको मन्त्रिपरिषद्को बैठकले विमान खरिद गर्न विभिन्न बैंकमा जमानी बसिदिने र दुईवटै न्यारो बडीका विमान एयरबसबाटै खरिद गर्ने निर्णय गरेको थियो । 
  एयरबसले नयाँ मूल्य प्रस्ताव गरेपछि निगमले मन्त्रीलाई तत्कालै जानकारी गराउनुपर्नेमा निगमका अधिकारीहरुले मन्त्री बोगटीलाई औपचारिक जानकारी दिएका छैनन् । निगमको तर्फबाट गणेश ठाकुरको टोलीले एयरबसको टोलीसँग वार्ता गरेको थियो । ठाकुरले भन्नुभयो, ‘एयरबससँग वार्ता जारी छ, ठोस निर्णय भएको छैन ।’ निगमका अर्का अधिकारीले भने राजनीतिक दलका नेताहरुले समेत वार्ता गरेर निकास निकाल्न नसकेको बेलामा निगमले एक चरणको वार्ताबाटै निकास निकाल्न नसक्ने जानकारी दिए । ‘ठूला नेताहरुले त वार्ता गरेर निर्णय गर्न सकेका छैनन्, निगमका कर्मचारीले गरेको वार्ता कसरी चाँडो निष्कर्षमा पुग्छ र’, ती अधिकारीले भने । 
  निगमले लागत मूल्य केही करोड मात्र वृद्धि भएको भन्दै मन्त्री बोगटीलाई मन्त्रिपरिषद्बाट निर्णय गराउन सहमत गराएको थियो । वार्तालगायतका कुनै पनि कुरामा निगमले मन्त्रीलाई खासै वास्ता गरेको छैन । निगमका अधिकांश उच्च तहका कर्मचारीहरु भने वर्तमान सञ्चालक समितिले विमान खरिदको निर्णय गर्न नसक्ने बताउँदै आएका छन् । एयरबस कम्पनी र निगमबीच वार्ता मिलेमा ए–३२०–२०० को न्यारोबडीका दुईवटा विमान निगमले ल्याउने छ । नेपाल वायुसेवा निगमले २०६५ चैत २५ गते सार्वजनिक सूचना जारी गरी वाइड र न्यारो एक÷एकवटा विमान खरिदका लागि टेन्डर आह्वान गरेको थियो । टेन्डरमा फ्रान्सको एयरबस कम्पनी छानिएपछि २०६६ साल कात्तिक २० गते सात लाख पचास हजार अर्थात् करिब साढे पाँच करोड रुपैयाँ बैना पठाएको थियो । 
  निगमले एयरबस कम्पनीलाई बैना रकम भुक्तानी गरिसकेपछि सार्वजनिक लेखा समितिले २०६६ साल पुस १३ गते उक्त टेन्डर प्रक्रिया रद्द गर्न निर्देशन दिएपछि विमान खरिद प्रक्रिया अवरुद्ध भएको हो । लेखा समितिको उक्त निर्णय गलत भएको र आफैं कार्यकारी बन्न खोजेको जस्तो देखिएको फैसला सर्वोच्च अदालतले गरेको लामो समयपछि सरकारले फेरि एयरबसकै विमान खरिद गर्ने निर्णय गरेको थियो । नेवानिले नोभेम्बर २००९ मा बैना रकम पठाएको ठीक दुई महिनापछि एयरबस कम्पनीले उत्पादन गर्ने सबै मोडेलको विमानहरुको मूल्य ५ दशमलव ८ प्रतिशतले बढाएको थियो । 
  निगमसँग हाल रहेको दुईवटा विमान बोइङ–७५७ ले ६ मुलुकका ६ सहरमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेको छ । उक्त विमानहरु झन्डै २५ वर्ष पुरानो भइसकेको कारण बेलाबेलामा बिग्रिने गरेको छ । अन्तर्राष्ट्रिय उडानहरु विश्वसनीय तथा नियमित हुन नसक्नुको प्रमुख कारण विमान पुरानो भई यान्त्रिक समस्याहरु आइरहने र मर्मत तथा सम्भार कार्य गरिरहनुपर्ने मात्र नभई विमान पर्याप्त नभएका कारण रहेको पनि निगमले बताउँदै आएको छ ।  

No comments: