Sunday, March 10, 2013

‘टुरिजम भिजन २०२०’ अभियान अलपत्र


कर्णाली र सिस्नेका लागि जम्मा दुई लाख बजेट विनियोजन    
  प्रकाश खालिङ काठमाडौं, फागुन १७
  दीर्घकालीन पर्यटन विकासको अवधारणाअनुरुप प्रत्येक वर्ष एकएक वटा नयाँ गन्तव्यको पहिचान तथा प्रवद्र्धन गर्ने प्रमुख उद्देश्यका साथ नेपाल सरकारले घोषणा गरेको ‘टुरिजम भिजन २०२०’ अभियान अलपत्र परेको छ । बजेट अभावले ठोस योजना तथा कार्यक्रम तयार पार्न नसकेपछि अभियान नै संकटमा परेको हो ।
  सन् २०२० सम्ममा वार्षिक पर्यटक आगमन संख्या २० लाख पु¥याउने लक्ष्यका साथ सरकारले सो अभियान घोषणा गरेको थियो । अभियानअन्तर्गत सन् २०१३ मा कर्णाली पर्यटन वर्ष र सिस्ने जलजला ढोरपाटन पर्यटन वर्ष मनाउने कार्यक्रम रहेको छ । जसको लागि संस्कृति, पर्यटन तथा  नागरिक उड्डयन मन्त्रालयले ३०÷३० लाख रुपैयाँको बजेट प्रस्ताव गरे पनि न्यूनतम बजेटसमेत विनियोजन नभएपछि अभियान सञ्चालन गर्ने कि नगर्ने भन्ने विषयमा अझै अन्यौल कायम रहेको छ । उक्त अभियानको लागि जम्मा १÷१ लाख रुपैयाँ मात्र बजेट छुटाइएकोले अभियान सञ्चालन गर्ने या नगर्ने भन्ने विषयमा ठोस निर्णय गर्न नसकिएको पर्यटन मन्त्रालयले जनाएको छ । 
  पर्यटन मन्त्रालयका प्रवक्ता बालकृष्ण घिमिरेले दुई कार्यक्रमको लागि ३०÷३० लाख मागेको उल्लेख गर्दै भन्नुभयो–‘कार्यक्रमको लागि जम्मा एक–एक लाखको बजेट छुट्याइएको छ । एउटा गोष्ठी सञ्चालन गर्न पनि नपुग्ने बजेट विनियोजन भएकोले समस्या उत्पन्न भएको छ ।’ उहाँले थप बजेट माग गर्नुबाहेक मन्त्रालयसँग अरु विकल्प नरहेको बताउनुभयो । बजेट अभावकै कारण पर्यटन मन्त्रालयले कार्यक्रम गर्ने कि नगर्ने, गर्दा कस्तो खालको कार्यक्रम गर्ने भन्ने छलफल गरे पनि निचोड निकाल्न सकेको छैन । ‘त्यत्ति बजेटले के कार्यक्रम गर्ने ? कार्यक्रम गर्दा स्थानीयको कुटाई खाइन्छ कि भन्ने डर छ– मन्त्रालयका एक अधिकारीले भने– अहिले अभियान सञ्चालन गर्ने कि नगर्ने भन्ने छलफल भइरहेको छ ।
  सन् २०२० सम्म टुरिजम भिजनअन्तर्गत सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्ष, सन् २०१३ लाई कर्णाली पर्यटन वर्ष, सन् २०१४ लाई विदेह मिथिला र सहलेस पर्यटन वर्ष, सन् २०१५ लाई विराट मेची पहाडी पर्यटन वर्ष, सन् २०१६ लाई रेसुङ्गा पोखरा अन्नपूर्ण वर्ष, सन् २०१७ लाई सिम्रौनगढ पर्यटन वर्ष, सन् २०१८ लाई अरुण सगरमाथा पर्यटन वर्ष, सन् २०१९ लाई चिसापानी खप्तड पर्यटन वर्ष र सन् २०२० लाई आन्तरिक भ्रमण तथा नागरिक उड्डयन वर्ष घोषणा गरिएको छ । अभियानअन्तर्गत घोषित कार्यक्रम एकपछि अर्काे गर्दै असफल हुन थालेपछि पर्यटन मन्त्रालयलाई अप्ठेरो परेको छ । 
  टुरिजम भिजनअन्तर्गत हरेक वर्ष छुट्टाछुट्टै स्थानमा पर्यटन वर्षको आयोजना गर्ने र त्यसको माध्यमबाट नयाँ पर्यटकीय गन्तव्यको खोजी र पूर्वाधारको विकासमा केन्द्रित हुने तथा अभियानलाई कार्यान्वयनमा ल्याउनका लागि निजी क्षेत्रसँगको छलफलपछि ठोस रणनीति ल्याइने सरकारले बताएको थियो । तर पर्यटन व्यवसायीहरु यसबारे बेखबर छन् । उनीहरुले सरकारले यसको कुनै पहल नगरेको बताएका छन् । उनीहरुले सरकारको टुरिजम भिजनलाई बेमौसमको बाजाको संज्ञा दिएका छन् । टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्वाध्यक्ष दीपक महतले तयारी बिना अभियान घोषणा गरिएकोले यसले खासै उपलब्धि दिन नसक्ने ठोकुवा गर्नुभयो । सरकारले अघिल्लो वर्ष सन् २०२० सम्मलाई लक्षित गरेर ‘टुरिजम भिजन २०२०’ को घोषणा गरेको थियो । खड्गबहादुरविश्वकर्मा पर्यटन मन्त्री हुँदा तयार पारिएको उक्त कार्यक्रम लोकेन्द्र विष्टको मन्त्रीत्वकालमा पर्यटन वर्ष २०११ को समापन र लुम्बिनी भ्रमण वर्ष २०१२ को उद्घाटनसँगै यो अभियानको औपचारिक घोषणा गरिएको थियो । भिजन २०२० अन्तर्गत पहिलो कार्यक्रमको रुपमा लुम्बिनी भ्रमण वर्ष २०१२ सञ्चालन गरिएको थियो । तर लुम्बिनी भ्रमण वर्षको लक्षित कार्यक्रम पनि सन्तोषजनक हुन सकेन । सो अभियानको लागि १३ करोड रुपैयाँ माग गरिए पनि सरकारले डेढ करोड रुपैयाँ मात्रै दिएको थियो ।  अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन प्रवद्र्धनात्मक कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गर्न नसक्दा अपेक्षाकृत पर्यटक भिœयाउन नसकिएको निजी क्षेत्रले बताउँदै आएक छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको लागि पर्याप्त जहाज किन्नु, अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माण, द्रूतमार्ग बनाउनु, पदयात्रा क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्नु तथा नेपाल पर्यटन बोर्डलगायतका पर्यटनसँग सम्बन्धित निकायलाई मजबुद्ध पार्न सकिएको खण्डमा मात्रै अभियान सफल सावित हुने उनीहरुको ठम्याइ छ ।      

No comments: