Sunday, December 30, 2012

चाईनिज जहाज निगमको लागि हर्ष न विस्मात !


प्रकाश खालिङ
काठमाडौं, पुस १५ 
राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमका लागि ६ वटा चाइनिज जहाज खरिद्को लागि अघि बढाईएको प्रक्रियामा जहाजको मुल्य तथा प्राविधिक दुबै पक्षमा विश्वास गर्ने ठाउँ कम देखिएको छ । अन्तराष्ट्रिय मापदण्डहरु पूरा नगरि जहाज किन्न लागिएको तथा जहाजको मुल्य अन्तराष्ट्रिय बजार भाउँको तुलनामा निकै महंगो हुने पर्न गएको कारण सो प्रक्रियाको विश्वासनीयता माथि प्रश्न उठेको हो ।  

गत कात्तिक १७ मा नेपाल सरकारले चीनसँग ३ अर्ब रुपियाँ  बढीमा एकैपल्ट छ वटा जहाज किन्ने निर्णय गरेको थियो । निगमका उच्च अधिकारीहरु र चिनियाँ जहाज निर्माता कम्पनी एभिक होल्डिङसका उच्च अधिकारीहरुबीचको दुईपक्षीय वार्तापछि सरकारले सो निर्णय गरेको थियो । जम्मा छ वटा जहाजमध्ये एक वटा एमए ६० र एक वटा वाई १२ ई मोडेलको जहाज जहाज अनुदानमा दिने र एक वटा एमए ६० र तीन वटा वाई १२ई मोडलको जहाज किन्नुपर्ने शर्तमा सहमति गरिएको थियो । दुईपक्षीय सम्झौताअनुसार लगभग दुई वर्षभित्र छ वटा जहाज आइसक्ने गरि सहमति भएको थियो । चार महिनाभित्र चीनले अनुदानमा दिने एउटा एमए–६० र एउटा वाई १२–ई जहाज काठमाडांै आइपुग्ने र ती दुई जहाज आएको छ महिनाभित्र पुनः एक–एकवटा एमए–६० र वाई १२–ई र त्यसको आठ महिनाभित्र बाँकी दुई वाई १२–ई जहाज आउनेछन् । सो जहाज किन्ने निर्णय भएपछि मंसिर १४ मा व्यापारिक सम्झौतासमेत भएको थियो । 

तर निगमको लागि ल्याउन लागिएको दुईटै मोडलको जहाज नेपालमा कति उपयुक्त छ भन्ने कमजोर देखिन्छ । हवाई विज्ञहरुका अनुसार चिनियाँ कम्पनीका जहाजमा बेफाइदा बढी छन् । एमए ६० जहाजको लागि युरोपियन एभिएशन सेप्टी (इएएसए) र फेडेरल एभिएशन एडमिनिस्टे«सन (एफएए) सर्टिफिकेशन लिनुपर्ने अन्तराष्ट्रिय मापदण्ड भएपनि त्यो छैन । सो जहाजले युरोप र अमेरिकाबाहेक चीन, दक्षिण–पूर्वी एसियाका केही देश तथा अफ्रिकाका केही देशमा मात्र उडान मान्याता पाएको छ । जसले गर्दा पहिलो समस्या त्यहाँनेर उब्जिएको छ । 
चिनियाँ हार्बिन कम्पनीको वाइ–१२–ई मोडेलका जहाज औसतमा ठिकै भनिएपनि अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले यो जहाजको सुरक्षाप्रति चिन्ता व्यक्त गरेको छ । यसैको वाइ–१२–टु मोडेलका जहाज विगतमा नेपाल एयरवेज, यती एयरलाइन्स र फ्लाइट केयर एभिएसनले ल्याएर उडाए पनि दुर्घटना बढी भएका थिए ।
यद्यपी, नेपाली वायुसेवा कम्पनीसँग रहेका एटिआर र जेटस्ट्रिम जहाजसँग यी दुई मोडेलका चिनियाँ जहाजले प्रतिस्पर्धा गर्न कुनैपनि हालतमा सक्दैनन् भन्ने पुष्टि गरेको छ । शाहीकालमा नेपाली सेनाका लागि चीनको एमए–६० मोडेलका दुईटा जहाज किन्न सरकारले तिरेको ४० करोड रुपैयाँ फिर्ता भएको छैन । चीनले त्यही जहाज दिने सम्भावना रहेको बताइएको छ । ती जहाज उच्च तापक्रममा उडाउन समस्या देखिएको छ । युरोपेली युनियनले ती मोडेलका जहाजलाई हालसम्म प्रमाणित गरेको छैन । त्यसैले सो मापदण्ड पुरा नगरि ल्याइएको जहाज उडान सुरक्षामा खेलवाड सावित हुन्छ । अल्पविकसित केही देशले मात्र त्यस्ता जहाज लिएका छन् । 
खरिद् गर्न लागिएको चाइनिज जहाजको मुल्य निर्धारणमा पनि त्यस्तै समस्या देखिन्छ । एमए ६० मोडेल जहाजको मुल्य १३ मिलियन (१ करोड ३० लाख) डलर पर्ने जनाइएको छ । जबकी सोही जहाजको मुल्य अन्तराष्ट्रिय बजारमा १० मिलियन डलर पर्दछ । अन्तर्राष्ट्रिय बजार र सो मुल्यमा मुल्यमा झण्डै ३ मिलियन (३० लाख) डलरको अन्तर देखिन्छ । 
अर्को वाई–१२ ई जहाजको मुल्य पनि त्यस्तै महंगो नै छ । अन्तराष्ट्रिय बजारमा २ मिलियन (२० लाख) डलर पर्ने सो जहाज ३.७ मिलियन (साढे ३० लाख भन्दा बढि) डलर पर्ने बताइएको छ । सोहि आधारमा वाई १२ मोडल चाइनिज जहाज पनि अन्तराष्ट्रिय बजारको भन्दा १.७ मिलियन डलर महंगो पर्न जान्छ । कुनैपनि राष्ट्रले जहाज खरिद गर्दा अन्तराष्ट्रिय मापदण्डलाई आधार मान्नुपर्दछ । तर नेपालले जहाज किन्दा अन्तराष्ट्रिय बजार मुल्य र अरु मापदण्ड पूरा गर्नुपर्छ की पर्दैन ? यो सबैको चासोको विषय बनेको छ । 
यसैबीच, नेपाल नागरिक उडडयन प्राधिकरणका नायब महानिर्देशक तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक रतीशचन्द्रलाल सुमनको नेतृत्वको एक टोली सोमबार (आज) नेपालमा चिनियाँ जहाज उडानयोग्य (एयर वदिर्नेस) छ छैन भन्ने अध्ययनको लागि चीन जादै छ । चाइनिज जहाजहरु नेपालमा उडानयोग्य रहेको प्रमाणित गर्न जहाज खरिदको लागि वित्तीय व्यवस्थाको टुंगो नलाग्दै टोली चीन जान लागेको हो । उडडयन मन्त्रालयको निर्देशनअनुसार टोली चीन पठाइएको बुझिएको छ । पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले टोलीले चीन पुगेर चिनियाँ जहाजको निर्माण प्रक्रिया, ”टाइप अफ सटिफिर्केट” लगायत सबै अध्ययन गर्ने बताउनुभयो । उहाँका अनुसार सो टोलीले जहाजबारे सम्पूर्ण अध्ययन गर्ने र आवश्यक परेको खण्डमा कम्पनीसँग थप सम्झौता पनि गर्न सक्नेछन् । 
तर चिनियाँ जहाज यहाँ उपयुक्त छ भन्ने आधार के ?, त्यसले कति यात्रु र कार्गो बोक्न सक्छ ? उडान–अवतरणमा धावनमार्ग कत्रो चाहिन्छलगायतका विषय अन्योलमै रहेको बेला टोली चीन जानुले अर्को समस्या उत्पन्न गराइदिएको छ । यो निगमका तत्कालीन अध्यक्ष सुगतरत्न कंसाकार युरोपेली जहाज निर्माता कम्पनी एयरबसलाई दुईवटा जहाज किन्न बैना पठाउँनको घटनासँग ठयाक्कै मेल खाएको छ । एयरबसलाई बैना पठाउँदा कंसाकारसहित जेल जानुपरेको थियो । तर अहिले क्याविनेटबाटै निर्णय गरेर विभिन्न मापदण्डहरुको विपरित जहाज खरिद प्रक्रिया अघि बढाउन खोजिएको छ । 

No comments: