प्रकाश खालिङ काठमाडौं, कात्तिक २०
विदेशीहरुले कहिले उचाईको विषयलाई लिएर त कहिले सिमानाको विषयलाई लिएर सगरमाथाको अस्मिता लुट्ने हर्कत गरिरहेका छन् । यसैबीच, विदेशीहरुको अर्को चर्तिकला सार्वजनिक भएको छ । विभिन्न प्रोजेक्टको नाममा सगरमाथा क्षेत्रमा शंकास्पद स्वचालित क्यामेरा तथा अत्याधुनिक उपकरण जडान गरेको रहस्य हालैमात्र सार्वजनिक भएको हो । राज्यको आँखा छल्दै विभिन्न बहानामा विदेशीहरुले यस क्षेत्रमा स्वचालित क्यामेरा जडान गर्नुको पछाडि विभिन्न कारणहरु हुन सक्छन् । क्यामेरा राख्नुको उद्देश्य सगरमाथा क्षेत्रको संवेदनशीले विषयको बारेमा प्रत्यक्ष जानकारी राख्ने हुन सक्छ ।
सोलुखुम्बु जिल्लास्थित पर्यटकीय हिसावले महत्वपूर्ण मानिने सगरमाथा क्षेत्रमा पर्ने नेपालकै सबैभन्दा लामो ग्लेसियर ङोजोम्बा ग्लेसियर, विश्वकै जोखिमपूर्ण तालको रुपमा रहेको इम्जाताल, लबुचे, कालोपत्थर, एउटै नामका पाँच वटा ताल अवस्थित रहेको गोक्योताल, खुम्बु ग्लेसियरलगायतका ठाउँमा उनिहरुले स्वचालित क्यामेरा जडान गरेको पाइएको छ ।
सगरमाथा क्षेत्रमा पर्ने गोक्यो ताल र ङोजोम्बा ग्लेसियरलाई लक्षित गरी अमेरीकाको युनिभसिर्टी अफ कोलोराडो नामक संस्थाले विभिन्न ठाउँमा स्वचालित क्यामेरा जडान गरेको छ । हिमनदी अनुसन्धान परियोजनाको नाममा उक्त विश्वविद्यालयले गोक्यो ताल र आसपासका विभिन्न क्षेत्रमा चार वटा स्वचालित क्यामेरा जडान गरेको छ । राज्यको आँखा छल्दै विश्वविद्यालयले नेपालको गोप्य र सुरक्षित भूगोलको अवस्थाबारे प्रत्यक्ष रुपमा अध्ययन अवलोकन गरिरहेको छ ।
त्यस्तै सोही क्षेत्रमा पर्ने इम्जा हिमतालमा पनि जापानी नागरिकहरुले अवैध तरिकाबाट क्यामेरा जडान गरेको पाइएको छ । समुद्री सतहबाट करिब ५ हजार १० मिटरको उचाईमा रहेको इम्जा हिमतालमा उनिहरुले स्वचालित क्यामेरा जडान गरी तालको चलायमान अवस्थाबारे प्रत्यक्ष अवलोकन गरिरहेका छन् । जडित क्यामेराको सहायताले ग्लेसियर पग्लने दर भूउपग्रह (सेटलाइट) मार्फत जापानमै बसेर उनिहरुले हेरिरहेको हुन सक्ने अनुमान लगाउन सकिन्छ । त्यहि ठाउँमा जापानीहरुले क्यामेराको साथमा साइरनसमेत जडान गरेका छन् । ठूलो आवाजमा पहिरो जाँदा, तालमा ठूलो आवाज आउने गरी केही चीज बज्रिदा उक्त साइरन् बज्ने गरेको पर्वतारोहीहरुको भनाइ छ । यो त एउटा प्रतिनिधि उदाहरणमात्रै हो । नेपालभरी यस्ता धन्दा सञ्चालन गर्नेहरुको ठूलो जमात नै लागि परेको देखिन्छ ।
संवेदनशीले क्षेत्र तथा निकुञ्जभित्र सामान्य भिडियो खिच्नका लागिसमेत सम्बन्धित निकायसँग अनुमति लिनुपर्ने हुन्छ । तर विदेशीहरुले विभिन्न ठाउँमा निर्वाद रुपमा जडान गरिएका क्यामेराहरुबारे यस क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे अनविज्ञ छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले सञ्चालन गरेको पिरामिड अन्तरराष्ट्रिय प्रयोगशाला तथा अवलोकन केन्द्रबाहेक अरु अनुसन्धानका लागि राखिएका यस्ता क्यामेराबारे कुनै पनि जानकारी नभएको निकुञ्जको भनाइ छ ।
पर्यटकको रुपमा नेपाल आएका विदेशी नागरिकहरुले यस्तो मनपरि रुपमा विभिन्न क्रियाकलापहरु गरिरहँदा राज्य भने बेखबर बनेको छ । सरकारी तथा गैरसरकारी संस्थाले अनुसन्धानका नाममा जडान गर्ने गरेका त्यस्ता अत्याधुनिक उपकरणहरु स्थानीयको सल्लाह र नेपाल सरकारको सम्बन्धित मन्त्रालय तथा विभागबाट स्वीकृति लिएर मात्र जडान गर्नुपर्ने हो । तर यस क्षेत्रमा जडान गरिएका ती उपकरणहरु के कुन प्रयोजनको लागि, कसले, कहिलेदेखि र कसरी जडान ग¥यो भन्ने कुरा न राज्यको कुनै निकायलाई जानकारी छ नत निजी क्षेत्र तथा स्थानीयलाई नै । यद्यपी, यो विषय थप रहस्यमय बन्दै गइरहेको छ ।
नेपाली भूमिको संवेदनशील क्षेत्रमा विदेशीहरुले गिद्धेनजर गाडेको धेरै भइसक्यो । तथापी विदेशीहरुको हर्कत यो नै पहिलो भने विल्कुलै होइन । स्मरण रहोस् केहि महिनाअघिमात्र विदेशीहरुकै सक्रियतामा सगरमाथाको शिखरबाट ढुंगा ल्याएर कोबोल नामक घडि बनाउने र विश्वकै सबैभन्दा महंगो भन्दै धन्दा सञ्चालन गरिएको थियो । चौतर्फि विरोधपछि विदेशीहरुको उक्त कुकार्य त रोकियो तर फेरी पनि कुनै न कुनै बाहानामा हाम्रो देशमा रहेका सम्पदाहरु लुट्न उनिहरुको दुसप्रयास जारी रहेको पछिल्लो घटनाले पुष्टि गरेको छ । यस्तो अवस्थामा राज्य पक्ष गम्भिर नहुनुले समग्र नेपाल र नेपालीको लागि दुर्भाग्य हो ।
विदेशीहरुले यसरी सम्बन्धित निकायहरुलाई थाहै नदिई क्यामेरा जडान गर्नुले नेपालको राष्ट्रिय स्वाभिमानमाथि त गम्भिर प्रहार भएको छ नै राष्ट्रिय सुरक्षा व्यवस्थाकोसमेत धज्जि उडाएको छ । उच्च हिमाली क्षेत्रका विभिन्न ठाउँमा यस्ता अत्याधिुनिक उपकरणहरु जडान भएको रहस्य एकमाथि अर्को हुँदै सार्वजनिक हुन थालेपछि पछिल्लोपटक सरकारले एउटा टोली त्यसतर्फ पठाएको छ । ती क्यामेरा जफत गर्न लागि भनेर पठाइएको उक्त टोलीले के गर्ला ? के सरकारले एउटा टोली पठाएर क्यामेरा जफत गरेकै भरमा यस्तो क्रियाकलाप रोकिन्छ ? यो गम्भिर प्रश्न उब्जिन्छ । सरकारले टोली त पठायो तर दुरगामी दृष्टीकोण राख्न सकेन । सरकारले पठाएको टोलीले क्यामेरा जफत गर्नुले ठूलो महत्व राख्दैन । बरु त्यस्ता अवैध क्रियाकलाप गर्नेहरुको गीरोहलाई कानुनी दायरामा ल्याएर आगामी दिनहरुमा यस्तो घटना दोहोरिन नदिनेतर्फ सचेत भएर लाग्नु राज्यको दायित्व हुन आउँछ । सरकारले पर्यटनलाई आर्थिक मेरुदण्डको रुपमा लिएको बताइरहँदा यस्ता समस्याहरुको दीर्घकालिन समाधान नखोज्ने हो भने भविष्यमा गम्भिर परिणाम भोग्नुसिबाय अरु विकल्प हुने छैन ।
No comments:
Post a Comment