Saturday, September 15, 2012

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष शाही राजीनामा
काठमाडौं, भदौं २६
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गर्ने पक्का भएपछि नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मनरुप शाही ‘नेप्च्युन’ले आफ्नो पदबाट राजीनामा दिएका छन् । अख्तियारले सक्कली प्रमाणपत्र बुझाउन दिएको समयसीमा सकिँदा पनि नसकेपछि आत्मसमर्पणको शैलीमा शाहीले राजीनामा दिएका हुन् । शाहीले राजीनामा नदिएको भए अख्यिारले यसै साता पक्राउ गर्ने तयारी गरेको थियो ।
अख्तियारले शाहीलाई एक महिनाभित्र आफ्नो सक्कली प्रमाणपत्र बुझाउन दिएको निर्देशन आइतबार सकिएको थियो । शाहीले कार्यालय समय सकिन लाग्दा सोमबार साँझ मात्र पर्यटन मन्त्रालयमा राजीनामा दर्ता गराएका थिए । राजीनामा दिएपछि शाहीले मंगलबार बिहानै निगमका केही उच्च अधिकारीलाई भेटेर आफू काममा फर्कन नसक्ने अवस्थामा पुगेको बताएका थिए । शाहीले आफ्नो राजिनामा दिएपछि निगमको महाप्रबन्धक र कार्यकारी अध्यक्ष गरि दुईवटा पद एकैचोट खाली भएको छ ।
अख्तियारले अध्यक्ष शाहीलाई आफ्नो शैक्षिक योग्यताको सक्कल प्रमाण पत्र बुझाउन निर्देशन दिएको थियो । तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गबहादुर विश्वकर्माले शाहीलाई कार्यकारी अध्यक्ष पदमा नियुक्त गरेलगत्तै उनको शैक्षिक योग्यतामाथी प्रश्न उठेको थियो । अहिले शाहीको नाममा शैक्षिक योग्यताको सक्कल प्रमाणपत्र देखाउन नसकेको, करारमा नियुक्त गरिएका कर्मचारीहरुलाई ननिकालेको, मन्त्रिपरिषदबाट पास भइसकेको दुई वटा जहाज खरिदसम्बन्धि निर्णयलाई सञ्चालक समितिबाट पास गराउन नसकेको आरोप लाग्दै आएको छ ।  
पर्यटन मन्त्रालयका एक उच्च अधिकारीले दिएको जानकारीअनुसार शाहीले आफ्नो राजिनामा पत्रमा भने पर्यटन मन्त्रालयले आफ्नो हरेक कामकारबाहीमा असहयोग गरेको, निगमका जहाजहरु निजी वायुसेवा कम्पनीलाई दिनुपर्ने दबाव दिने गरेकोलगायत विभिन्न कारणले गर्दा राजिनामा दिएको उल्लेख गरिएको छ । निगम सञ्चालक समितिका सदस्यहरुले साथ नदिएको उनको गुनासो रहेको पनि राजिनामा पत्रमा उल्लेख गरिएको स्रोतको दाबी छ । तत्कालीन पर्यटन मन्त्री लोकेन्द्र विष्ट मगरको पालामा निगमका लागि आठवटा चाइनिज जहाज खरिद तथा दुईवटा न्यारोबडि जहाज खरिद गर्ने प्रक्रिया अन्यौलग्रस्त अवस्थामै रहेको छ । ती दुबैको प्रक्रियाको थालनी गरिए पनि कार्यन्वयन हुन सकेन । शाहीको कार्यकालको समिक्षा गर्दै निगम कर्मचारी युनियनका पदाधिकारीहरुले शाहीको कार्यकालमा निगमको आन्तरिक द्वन्द्व भने केहि रुपमा भए पनि मत्थर भएको बताए ।
अख्तियारले शाहीलाई मंगलबार नै पक्राउ गर्ने तयारी गरेको थियो । स्रोतका अनुसार शाहीलाई गिरफ्तार गर्ने बारेमा मंगलबार बिहान अख्तियारको बैठक बसे पनि राजीनामा दिएको हल्ला चलपछि तत्काल पक्राउ नगर्ने र निगरानी बढाउने निर्णय भएको थियो । ‘शाहीलाई शैक्षिक योग्यताको प्रमाणपत्र बुझाउन दिएको समय सकिएपछि उनलाई कसरी कारबाही चलाउने भन्ने बारेमा छलफल चल्दै गर्दा उनले राजीनामा दिएको हल्ला चलेको छ’, अख्तियारका प्रवक्ता इश्वरीप्रसाद पौडेलले भन्नुभयो–‘यदि उहाँले (मनरुप शाहीले) राजिनामा दिनुभएको हो भने हामी चाडैनै बैठक बसेर निर्णय गर्छौंै र होइन भने पनि एकदुईदिनभित्रै कानुनी कारबाही अघि बढाउछौं ।’ कार्यकारी अध्यक्ष शाहीले अचानक राजिनामा दिएपछि निगमका कामकारबाही थप अन्यौलग्रस्त बनेको छ । जहाज नभएर टाट पल्टिएको निगम फेरी अर्को चंगुलमा फसेको छ ।
यसैबीच, निगमअन्तर्गतका तीन वटा कर्मचारी संगठनहरुले अध्यक्ष शाहीको राजिनामापछि अर्को विकल्पको बारेमा छलफल सुरु गरेका छन् । उनीहरुले सरकारलाई तत्काल कार्यकारी अध्यक्ष नियुक्तिका लागि दबाब दिने तयारी गरेका छन् । जहाज खरिद नगरे निगम तत्कालै टाट पल्टने भन्दै कर्मचारीहरुले यस बारेमा जानकारलाई नियुक्त गर्न सरकारसँग माग गरेका छन् । सरकारले संस्थानको प्रमुख र सदस्यहरु संस्थान निर्देशन बोर्डबाट नियुक्ति गर्ने व्यवस्था गरे पनि उक्त व्यवस्थाले निगमको काम नसल्टने भन्दै उनीहरुले विशेष परिस्थितिमा सरकारले तत्कालै निर्णय गरेर निगममा कार्यकारी अध्यक्ष नियुक्ति गर्नुपर्ने अडान लिएका छन् । एक कर्मचारीले भने–‘विशेष परिस्थिति आएको कारण निगमलाई बचाउन अब खुला विज्ञापन होइन, योग्य र अनुभवीलाई नियुक्ति गर्नुपर्छ ।’
माओवादीनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष पोषक ज्ञवालीले निगमको अवस्था कमजोर भएको बेला फेरी अर्को दुर्घटनाबाट बचाउनुपर्ने बेला आएको बताउँदै अबको कार्यकारी अध्यक्ष जो आए पनि सक्षम र निगमप्रति इमान्दारिता भएकोलाई ल्याउनुपर्नेमा जोड दिनुभयो । नेकपा एमाले निकटको नेवानी कर्मचारी युनियनका अध्यक्ष राजकुमार श्रेष्ठले अबको विकल्पबारे व्यक्ति नै किटान गरेर छलफल नभए पनि सामान्य रुपमा मानसिकता तयार भइसकेको बताउनुभयो । निगमलाई कस्तो मान्छेको खाचो छ भन्ने कुरा त सबैलाई थाहै छ’ अध्यक्ष श्रेष्ठले निगमका पूर्वकार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारप्रति लक्षित गर्दै भन्नुभयो–‘जसले आफ्नो जिउँज्यान, जेलनेलको कुनै पर्वाह नगरिकन निगमको लागि लडे उहाँहरु जस्तो मान्छे जै निगममा ल्याउनुपर्छ ।’ निगमलाई विमान ल्याउने बारेमा निर्णय गर्दा कंसाकार जेलसमेत पर्नुभएको थियो । तर, सर्वोच्च अदालतलेसमेत जहाज खरिद प्रक्रियामा कुनै त्रुटी नभएको भन्दै कंसाकारलाई सफाइ दिएको छ । विशेष अदालतले पनि कंसाकारलाई सफाई दिएपछि अख्तियार सर्वोच्च पुगेको थियो । यदि संस्थान निर्देशन बोर्डबाट विज्ञापन गर्ने हो भने कंसाकार आउने सम्भावना छैन । किनकि कंसाकारको उमेर ५८ वर्ष भन्दा माथि पुगिसकेको छ । संस्थान निर्देशन बोर्ड बाहेक मन्त्रिपरिषद्ले बनाउने समितिले विज्ञापन गर्दा भने ६५ वर्ष उमेर नपुगेकाले प्रतिस्पर्धा गर्न पाउने छन् ।
कांगे्रस निकटका नेपाल वायुसेवा निगम कर्मचारी संघ अध्यक्ष तारणी दाहालले कमजोर संस्थामा कमजोर प्रमुख हुँदा गम्भिर समस्या हुने बताउदै आगामी कार्यकारी अध्यक्ष विचार गरेर क्षमतावान नियुक्त गर्नुपर्नेमा जोड दिनुभयो । मंगलबार आफुहरुबीच सुगतरत्न कंसाकारको नाम लिएर छलफल भए पनि निर्णय भने नभएको बताउनुभयो । अध्यक्षको माग गर्दै कर्मचारीहरुले बुधबारदेखि नै सरकारलाई दबाब दिने भएका छन् । ‘निगम जहाज बिहीन छ’, दाहालले भन्नुभयो–‘तत्काल अध्यक्ष नियुक्ति गर्न दबाब दिने छौं ।’



No comments: