काठमाडौं । सन् २०१२ को छैटौं महिनासम्ममा हवाई मार्ग हुँदै नेपाल भ्रमण गर्न आउने पर्यटकको संख्या ३ लाख ३२ हजार ४७२ पुगेको तथ्याङ्क सार्वजनिक भएको छ । यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ दशमलव ५ प्रतिशतले बढी हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअन्तर्गतको अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो । तथ्याङ्कअनुसार २०१२ को जुलाइसम्म दक्षिण एसिया (सार्क) मुलुकहरुबाट नेपाल आउने पर्यटकको संख्या ३६ दशमलव ६ प्रतिशतले वृद्धि भएर १ लाख २५ हजार ६९९ पुगेको छ । सन् २०११ को सोही अवधिमा १ लाख ९९६ मात्र थियो । सार्कबाहेकका मुलुकहरुबाट ६४ हजार १४२ पर्यटक नेपाल भित्रिए । यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९ दशमलव ३ प्रतिशत बढी हो । त्यसैगरी युरोपियन मुलुकहरुबाट आउने पर्यटक पनि बढेको तथ्याङ्कले देखाएको छ । अघिल्लो वर्षको तुलनामा २३ दशमलव ७ प्रतिशतले वृद्धि भएर ७८ हजार ८२८ पुगेको छ भने अमेरिकाबाट आउने पर्यटकको संख्यामा पनि ८ दशमलव ७ प्रतिशतले वृद्धि भई २८ हजार ४३२ पुगेको छ । सन् २०११को छैटौं महिनाअवधिमा जम्मा २ लाख ८० हजार ५७५ जनाले मात्रै नेपाल घुमेका थिए । यो तथ्याङ्क एक हिसाबले सकारात्मक भए पनि चित्तबुझ्दो भने छैन ।
नेपाल घुम्न आउने पर्यटकको संख्यात्मक वृद्धि सन् २००९ देखि निरन्तररुपमा वृद्धि भइरहेको तथ्याङ्कले देखाएको छ । एक वर्षमा १० लाख पर्यटक भिœयाउने महत्वकांक्षी लक्ष्यका साथ नेपाल पर्यटन वर्ष सन् २०११ मनाइएको थियो । लक्षित संख्या पूरा हुन नसके पनि त्यस अवधिमा नेपाल आउने पर्यटकको संख्या काट्टकुट्ट जम्मा आठ लाख पुगेको निचोड निकालिएको थियो । दश लाख पु¥याउने भनिए पनि लक्षित संख्या नपुगेपछि निकायहरुले पर्यटकको संख्यात्मक वृद्धि नै महत्वपूर्ण ठान्न नहुने प्रतिक्रियासमेत दिए । उनीहरुले आगामी वर्षहरुमा यसले सकारात्मक प्रभाव पार्ने समीक्षा पनि गरेका थिए । यद्यपि पछिल्लो छैटौं महिनाको तथ्याङ्कलाई पर्यटन वर्षको प्रभाव देखिन थालेको समेत अभिव्यक्ति दिन थालेका छन् तर पर्यटकको यो वृद्धिदर पहिलेकै निरन्तरता मात्रै भएको अधिकांशको बुझाइ छ । पर्यटन बजारमा धेरैले भन्छन्– ‘यो त पहलेकै निरन्तरता मात्र हो । नभए खै हाम्रो व्यवसायमा कुनै फरक आएको छैन ।’ हालै मुख्य सचिवमा नियुक्त हुनुभएका लिलामणि पौडेलले पनि पर्यटकको संख्यात्मक वृद्धिले मात्र देशको विकास हुन नसक्ने भन्दै उनीहरुको बसाई लम्ब्याएर बढी आम्दानी गर्नुपर्ने बताउनुभएको थियो । यसर्थ आगामी दिनहरुमा पर्यटकको संख्यामा बढोत्तरी गर्दै आवश्यक नीतिनियम अवलम्बन गर्नुपर्ने जरुरी देखिन्छ । नयाँ निर्वाचन हुने या नहुने अन्यौलताले समग्र पर्यटन उद्योगमा नकारात्मक प्रभाव पारेको छ । पर्यटन वर्षको निरन्तरतास्वरुप अहिले लुम्बिनी भ्रमण वर्ष २०१२ जारी छ तर यो अभियानले पनि नेपाली पर्यटनमा खासै उत्साह जगाउन सकेको छैन । कहिले बजेटको अभाव त कहिले व्यवस्थापन अभावले लुम्बिनी भ्रमण वर्ष ओझेलमा पार्दै आएको छ । पर्यटकको संख्यात्मक वृद्धिलाई नै मुख्य प्राथमिकतामा राखिएको यो अभियानले जति पर्यटक भिœयाउनुपर्ने थियो त्यो देखिँदैन । यसैबीच २० लाख पर्यटक नेपाल भिœयाएर नेपाली पर्यटनमा उलटपुलट ल्याउने लक्ष्यका साथ टुरिजम भिजन २०२० को घोषणा गरिएको छ । देशको राजनीतिक अवस्था यस्तै रहिरहने हो भने कुनै पनि हालतमा यो अभियान सफल नहुने जानकारहरु बताउँछन् । राजनीतिक अस्तव्यस्तता रहिरहने र बन्द, हडतालजस्ता क्रियाकलाप दोहो¥याइरहने हो भने यो अभियान नाम मात्रको हुने उनीहरुको भनाइ छ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) का प्रथम उपाध्यक्ष मधुसूदन आचार्य भन्नुहुन्छ–‘यस्तै बन्द हडताललाई निरन्तरता दिँदै जाने हो भने भिजन २०२० अभियानले अवलम्बन गरेको लक्ष्य पूरा हुन २०२१, २२ हुँदै पछि सर्दै जाने निश्चित छ ।’ पर्यटन उद्योग क्षेत्रमा महत्वपूर्ण भूमिका रहेको नेपाल टुरिष्ट भेइकल एसोसिएसनका संस्थापक अध्यक्ष साङगे लामा जति सुकै अभियानहरु मनाए पनि पर्यटकबाट हुने आम्दानीमा खासै वृद्धि हुन नसकेको बताउनुहुन्छ
जुलाईमा ९ प्रतिशत वृद्धि
पर्यटन अफसिजन जुलाई महिनामा अघिल्लो वर्षको सोही महिनाको तुलनामा ९ दशमलव २ प्रतिशत बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यस महिनामा ३८ हजार ३५३ जना पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । जबकि अघिल्लो वर्षको सोही महिनामा ३५ हजार २१२ मात्र नेपाल आएका थिए । दक्षिण एसियाबाट आउने पर्यटकको संख्या १८ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ । भारत र पाकिस्तानबाट क्रमशः २४.३ र २७.१ प्रतिशत पर्यटक वृद्धि भएको छ भने बंगलादेश र श्रीलंकाबाट ३४.२ र ४४.६ प्रतिशतले वृद्धि भएको तथ्याङ्क छ । त्यस्तै दक्षिण एसियाबाहेकका मुलुकहरुबाट नेपाल आउने पर्यटकको संख्या पनि अघिल्लो वर्षको सोही महिनाको तुलनामा ८.५ प्रतिशतले बढेको छ । तथ्याङ्कअनुसार चीनबाट २७.२, जापनबाट २८.४, मलेसियाबाट १९.४, सिंगापुरबाट २३.२, दक्षिण कोरियाबाट ९.१ र थाइल्याण्डबाट ५८ प्रतिशत बढी पर्यटक भित्रिए । युरोपियन मुलुकहरुबाट पनि ५ प्रतिशत बढी पर्यटकले नेपाल भ्रमण गरे । डेनमार्क, जर्मनी, फ्रान्स, नेदरल्याण्ड, स्पेन, युके, इटाली र बेलजियमबाट आउने पर्यटकको संख्या क्रमशः ३५ं१, ४३.७, ७.८, ५.१, ३.५, ५.६, १४.९ र २.१ प्रतिशत बढी पर्यटक नेपाल आएका छन् ।
प्रकाश खालिङ

No comments:
Post a Comment