काठमाडौं, असार ३ । नेपाली आकाशमा हुने गरेको हवाई दुर्घटना न्यूनीकरणका लागि सबै पक्ष सचेत रहनुपर्ने बताइएको छ । नेपाल वायुसेवा सञ्चालक संघले आइतबार राजधानीमा आयोजित अन्तक्र्रिया कार्यक्रममा सो कुरा बताइएको हो ।
संघका अध्यक्ष क्या. रामेश्वर थापाले हवाई दुर्घटना रोक्नका लागि सबै पक्षको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले नेपाली हवाई सुरक्षाको गम्भीरतालाई ध्यानमा राख्दै हवाई दुर्घटना न्यूनीकरणका लागि पहल थालिएको पनि बताउनुभयो । नेपालजस्तो विकसोन्मुख देशमा हवाई क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउँदै उहाँले हवाई सुरक्षाको सम्बन्धमा सबै पक्ष संवेदनशील हुनुपर्ने आवश्यकता औंलाउनुभयो । अहिलेको अवस्थामा नेपालका लागि एभिएसन अपरिहार्य वस्तुको रुपमा रहेको छ’, अध्यक्ष थापाले भन्नुभयो–‘हवाई दुर्घटना न्यूनीकरणको लागि प्रविधि र जनशक्तिको विकास गर्नुपर्ने आवश्यकता रहेको छ ।’
एक अर्को प्रसंगमा अध्यक्ष थापाले हवाई क्षेत्रमा एक्सिडेन्ट र इन्सिडेन्टको पहिचान हुन नसक्दा नकारात्मक सन्देश गएको र त्यसले नेपाली हवाई क्षेत्रमा गम्भीर असर परेको बताउनुभयो । ‘नेपालमा हवाई क्षेत्रको अवस्था एकदमै चुनौतीपूर्ण भए पनि अहिले यस क्षेत्रको इक्वीप्मेन्ट र मेनपावरलगायतको हरे क्षेत्रमा हामी सुरक्षित रहेको छौं ’ उहाँको दाबी थियो ।
संघका महासचिव सुमन पाण्डेले मनसुनको समयमा हरेक गन्तव्यस्थलको सत्यतथ्य जानकारी लिनका लागि हरेक सम्बन्धित ठाउँहरुमा आवश्यकताअनुसार सीसी क्यमेरा राख्ने तथा कम्युनिकेसन सेन्टर खोल्नका लागि पहलकदमी अघि बढाइएको जानकारी दिनुभयो । सञ्चारगृहसँगको सम्बन्ध अझ सुदृढ गरी हवाई क्षेत्रको बारेमा सकारात्मक समाचार प्रवहा गर्नका लागि सम्बन्धित मन्त्रालयसँग सहकार्य गरेर निकट भविष्यमै एभिएसन रिसर्च सेन्टर खोल्ने तयारी भइरहेको जानकारी पनि उहाँले दिनुभयो । मनसुनको समयमा मौसम बिग्रने र यस अवधिमा बढी हवाई दुर्घटना हुने भएका कारणहरुबारे हरेक एयरलाइन्स कम्पनीहरुमा जानकारीमूलक तालिम कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको संघले जनाएको छ ।
No comments:
Post a Comment