काठमाडौं, असार २१ । सोलुखुम्बुको गार्मामा अवस्थित अन्तर्राष्ट्रिय पर्वतीय प्रशिक्षण केन्द्रीय कार्यालय परिसरमा बिहीबारदेखि तीन दिने पर्वतीय पर्यटन तथा वातावरण तालिम सञ्चालन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्वतीय प्रशिक्षण प्रतिष्ठान विकास समितिको आयोजनामा सो तालिम सञ्चालन गरिएको हो ।
कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानकी कार्यकारी निर्देशक लाक्पाफुटी शेर्पाले पर्वतीय पर्यटनसम्बन्धी आवश्यक दक्ष जनशक्ति तयार पार्न पर्यटनसँग सम्बन्धित आधारभूत तालिम सञ्चालन गरी पर्वतीय प्रशिक्षण केन्द्रको स्थापना र महत्वका बारेमा नेपालमा पर्यटकहरु आउनाका कारण, यातायात, आवास, सूचना, फोहोरमैला व्यवस्थापनको सुविधा, स्वास्थ्य उपचारसम्बन्धी व्यवस्था, खानेपानीको सुविधा, मनोरञ्जन सुविधा, सञ्चारको सुविधा, ऊर्जाको सुविधा, अतिथि सत्कार, बजार व्यवस्थापन गर्दै नेपालमा पर्यटन प्रवद्र्धन गर्न तालिम सञ्चालन गरिएको बताउनुभयो ।
जिल्लास्थित विभिन्न क्षेत्रका विज्ञहरुबाट ३५ जना प्रशिक्षार्थीहरु सहभागी भएको कार्यक्रम संयोजक दावा तेन्जी लामाले जानकारी दिनुभयो । संयोजक लामाका अनुसार स्थानीय सञ्चारमाध्यममार्फत १५ दिन अगाडिदेखि आवेदनको माग गरिएकोमा ५९ जनाले आवेदन दिएको र त्यसमध्येबाट समावेशी ढंगबाट प्रशिक्षार्थी छनोट गरिएको छ ।
सरकारको प्रत्यक्ष लगानीमा अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण केन्द्रको स्थापना गर्नका लागि गार्मामा पूर्वाधार निर्माण भइरहेको अवस्थामा सो क्षेत्रको पर्यटनको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले, नेपालको अन्तर्राष्ट्रिय तालिम केन्द्रको रुपमा प्रवद्र्धन गर्ने र पर्वतारोहण विश्वविद्यालयको रुपमा समेत विकास गरी सोलुखुम्बुलगायत अन्य क्षेत्रलाई पनि पर्यटकीय गन्तव्यको रुपमा चिनाउने लक्ष्य राखिएको छ । दोर्जी लामा शेर्पा, बच्चुनारायण श्रेष्ठ र क्यानोनिङकी डोमी शेर्पा प्रशिक्षकको रुपमा काठमाडौंबाट गार्मा पुग्नुभएको छ ।
उच्च हिमाली, तल्लो हिमाली, उच्च लेकाली, तल्लो लेकाली, अर्धशितोष्ण गरी पाँच प्रकारको हावापानी सोलुखुम्बु जिल्लामा पाइन्छ । नेपालमा रहेको ८ हजार मिटरभन्दा माथिका १४ हिमालमध्ये सर्वोच्च शिखरसहित ८ वटा सोलुखुम्बु जिल्लामै अवस्थित छन् । यद्यपि यहाँको दृष्यपान गर्न वार्षिक हजारौंको संख्यामा आन्तरिक तथा वाह्य पर्यटकहरु पुग्ने गरेको तथ्याङ्क छ ।
सोलु र खुम्बु गरी दुई क्षेत्रको समिश्रणबाट सोलुखुम्बु जिल्ला बनेको छ । जिल्लाको उत्तरी क्षेत्रलाई खुम्बु र दक्षिणी भेगलाई सोलु भनेर चिनिन्छ ।
खुम्बु क्षेत्रमा सगरमाथालगायत अनगिन्ती हिमश्रृंखलाहरु अवस्थित रहेकाले पर्यटकीय दृष्टिकोणले देशकै प्राथमिकतामा परेको छ तर सोलु भने पर्यटकीय हिसाबले ओझेल अवस्थामै रहेको छ । सदरमुकाम नजिक रहेको रातनाङ्गे भ्युटावार, धार्मिक पर्यटकीय क्षेत्र झ्यासा गुम्बा, जिमी राई उत्थान संघद्वारा निर्माणाधीन किँरात संग्रहालय, विभिन्न गुम्बाहरु तथा विभिन्न प्राकृतिक सौन्दर्यहरु दक्षिणी भेगको पर्यटकीय सम्भावनाहरु हुन् ।
No comments:
Post a Comment