सोलुखुम्बु समाचारदाता-गोरखापत्र
सोलुखुम्बु, फागुन २६ गते। 'पहुनाको स्वागत सत्कार, नेपालीको संस्कार' भन्ने नाराका साथ सोलुखुम्बु पर्यटन क्षेत्रको स्थलगत अध्ययन र अनुसन्धानका लागि सोलुखुम्बु पदयात्रा २०६८ नाम दिइएको पत्रकारहरूको एक टोली सदरमुकाम सल्लेरी आई पुगेको छ।
पर्यटन पत्रकार सङ्घ -जाट) नेपालको आयोजना तथा पर्वतीय प्रतिष्ठान नेपालको सहआयोजनामा आएको टोलीले सोलुखुम्बुको माथिल्लो खुम्बु क्षेत्रबाहेकका पर्यटकीय क्षेत्रहरूको पहिचान गरी त्यसको प्रचार-प्रसार गरी समानुपातिक पर्यटन विकासका लागि भ्रमणमा निस्केको पदयात्रा टोलीका संयोजक प्रकाश खालिङले बताउनुभयो।
यसै क्रममा शुक्रबार भएको छलफल कार्यक्रममा पर्यटनका क्षेत्रको विस्तार तथा विकासका लागि भएको छलफलमा सभासद आङ दावा शेर्पाले नेपालको दुई छिमेकी मुलुक भारत र चीनका पर्यटकहरूलाई सोलुखुम्बुमा भित्राउन सकिने बताउनुभएको छ। उहाँले चीनको तिब्बत हुँदै सोलुखुम्बुको सीमा क्षेत्र नाङ्पाला नाकाबाट चिनियाँ पर्यटकहरूलाई सोलुखुम्बुमा भित्र्याउन सकिने र सडक यातायातले जोडिएसँगै भारतीय पर्यटकहरूलाई पनि जिल्लामा भित्र्याउन सकिने विचार राख्नुभयो। सांस्कृतिक तथा धार्मिक पर्यटनका हिसाबले पनि सोलुखुम्बु उत्तिकै सम्भाव्य रहेको जिल्ला भएको उहाँले बताउनुभयो।
सोही कार्यक्रममा अर्का सभासद गोकर्ण राईले यहाँका खोलानालाहरूमा र्याˆटिङ तथा प्याराग्लाइडिङ र रक क्लाइम्बिङको समेत सम्भावना भएको बताउनुभयो। अन्तक्रिर्यामा विभिन्न रानजीतिक दलका प्रमुखहरूले पर्यटन रोयल्टीको रकम रोकेर सरकारले सोलुखुम्बुमाथि अन्याय गरेको बताएका छन् भने सरकारलाई दबाब दिनसमेत सञ्चार माध्यामहरूलाई अनुरोध गरेका छन्। उनीहरूले जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रको बारेमा जानकारी गराएका थिए।
कार्यक्रममा स्थानीय विकास अधिकारी चिरञ्जीवी तिम्सिनाले तीन वर्षदेखि लगातार पर्यटन रोयल्टीको रकम रोक्का हुँदा विकास निर्माण प्रभावित भएको जानकारी गराउनुभयो। उहाँले पर्यटन रोयल्टीबापत जिल्लाले पाएको रोयल्टीको हिस्साको २५ प्रतिशत जिल्लाको पर्यटन क्षेत्रमै खर्च गर्ने निर्णय भएको पनि जानकारी गराउनुभयो।
पत्रकारिताको माध्यमबाट जिल्लाको दक्षिणी क्षेत्रको पर्यटकीयस्थलको पहिचान तथा प्रचारप्रसार गरी विश्व पर्यटन बजारसम्म पुर्याई जिल्लाको दक्षिणी भू-भागमा समेत कसरी पर्यटन विस्तार गर्न सकिन्छ भन्ने उद्देश्यले पर्यटन पत्रकार सङ्घको टोली सोलुखुम्बु आई पुगेको हो।
No comments:
Post a Comment