Tuesday, August 23, 2011

सोलुखुम्बुको हेवा-ताते बाटो निर्माण बिरुद्ध नयाँ आन्दोलन


हेवा–ताते बाटो निर्माण बिरुद्ध गठित संघर्ष समितिले थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजानिक गरेको छ । संघर्ष समितिले सोमबार सल्लेरीमा पत्रकार सम्मेलन गरी समस्या समाधानका लागि जिल्लास्तरमा रहेका राजनीतिक दल तथा स्थानिय प्रशासनवाट कुनै पहल नभएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजानिक गरेको हो ।
समितिले राजनीतिक दल तथा स्थानीय सरोकारवाला सरकारी कार्यालयहरुले एकले अर्कोलाई जिम्मेवारी हस्तान्तरण गर्दै पन्छन खोजेको आरोप लगाउँदै भदौ १० गतेबाट शुरु हुने गरी आन्दोलनका कार्यक्रम सार्वजानिक गरिएको केन्द्रिय संघर्ष समितिका अध्यक्ष गंगाबहादुर थापाले बताए ।
सर्वदलीय बैठकको निर्णयलाई पर्खने र बैठकले समेत समस्या समाधान नभए आन्दोलनका कार्यक्रम शुरु गर्ने बताएकाछन् । समितिले समस्या समाधान नभएमा खुम्बु क्षेत्रमा निर्यात हुने सबै प्रकारका मासुजन्य पदार्थ तथा काठ, ग्यास, जस्तापाता लगायत्का बिभिन्न निर्माण सामाग्रीहरुमा रोक लगाउने, बाटो निर्माण कार्य पुनः सुचारु भएमा रोक्ने कोशिस गर्ने, टाक्सिन्दुको नुनथलादेखि घोडा, जोक्पे र खच्चडवाट सामान ढुवानी रोक्ने जनाएको छ ।
त्यस्तै चिनियाँ दुताबासको कार्यालयमा ज्ञापन पत्र बुझाउँदै नयाँ बाटो खेलेपछि हुन सक्ने सम्भावित आपराधिक घटनाका बिषयमा सचेत गराउने समेत समितिले आन्दोलनका कार्यक्रममा राखेको छ । बिबादित बाटो संचालनमा आएमा तिब्बती शरनार्थीहरुलाई आवतजावतमा सहज हुने तथा हातहतियार ओसारपसारमा समेत सहयोग पुग्ने आशंका समेत संघर्ष समितिले लगाएको छ ।
संघर्ष समितिले भावी दिनमा आन्दोलनका कार्यक्रमले पार्न सक्ने कुनै पनि किसिमका घटना तथा दुर्घटनाको जिम्मेवारी नेपाल सरकार लगायत् जिम्मेवार राजनीतिक दलहरुले लिनुपर्ने समेत जनाएको छ ।
उनीहरुले पहिलो चरणको आन्दोलनका कार्यक्रमलाई दबाउन खोजिए दोश्रो चरणमा थप शसक्त आन्दोलनका कार्यक्रम गर्ने चेतावनी समेत दिएका छन् । उनीहरुले जिल्ला स्तरीय राजनीतिक दलका नेताहरुलाई पीडित क्षेत्रमा रहेका गाउँमा प्रबेश निषेध तथा सांगठानिक गतिबिधिहरु समेत संचालन गर्न नदिने निर्णय गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै बोल्दै नेपाली कांग्रेस, महासमिति सदस्य रामबहादुर बस्नेतले बाटो निर्माणमा सम्बन्धमा देखिएको बिबाद समाधानमा दलहरु उदासिन देखिएको भन्दै नेपाली कांग्रेसले चाँडै यस बिषयमा स्पष्ट धारणा बनाउने बताए । उनले हेवा–ताते बाटो निर्माणले आन्दोलनरत पीडित स्थानियबासीहरुको रोजिरोटी खोसिने भन्दै निर्माण कार्य रोकिनु पर्ने आशय ब्यक्त गर्दै वहाँले जिल्लास्थित जिम्मेवार दलहरुले यस बिषयमा अलोकतान्त्रिक काम गरेको समेत दाबी गरे
नेकपा एमालेका उपाध्यक्ष मानबीर राईले एमालेले बाटो निर्माणमा देखिएको बिबादका बिषमया आफ्नो पार्टीले स्पष्ट धारणा सार्वजनिक गरिसकेको भन्दै समाधनका लागि कानुनि बैधता खोज्नु पर्नेमा जोड दिए ।
नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय समितिका उपाध्यक्ष नरेन्द्र थापामगरले बिकास र जनता कहिल्यै बिपरित हुन नहुने बताए । जल, जमिन र जंगललाई जोगाउने दायित्व सबैको भएको भन्दै उनले बाटोले पु¥याउने फाईदा र बेफाईदाका बिषयमा मुल्याङ्कन हुनु पर्ने आवश्यक्ता औल्याए ।
निर्माणाधिन हेवा–ताते बाटोले सोलुखुम्बुको टाक्सिन्दु, जुभिङ, चौरिखर्क गाविसका अधिकांश स्थानीय बासिन्दाको रोजिरोटी खोसिने तथा बन जंगलको अत्याधिक बिनास हुने भन्दै स्थानीय बासिन्दा संघर्ष समिति बनाई आन्दोलनमा रहेकाछन् । बाटो छोटो हुने तथा पर्यटनमा सकारात्मक प्रभाव पर्ने भन्दै निर्माण पक्ष भने निर्माण कार्य रोकिन नहुनेमा अडिक रहेकाछन् ।
दलका प्रमुख नेताहरु उपस्थित नभए पछि आइतबार बस्ने भनिएको सर्वदलीय बैठक स्थगित भएको थियो । दलका नेताहरुको उदासिनताका कारण समस्या समाधान हुन नसकेको आरोप संघर्ष समितिले लगाउँदै आएको छ ।

No comments: