Tuesday, September 6, 2011

नेपाल एयरलाइन्सको जहाजभित्र दिनभरीको मुसाको चर्तिकला

प्रकाश खालिङ, काठमाडौं, भदौ २० । ‘विमान उडाउन तयारी अवस्थामा थियो, भित्रको खाना राख्ने बाकसबाट एउटा सानो मुसा फुत्त निस्केर कता भाग्यो कता ।’ सोमबार सय ३३ यात्रु बोकेर बैंकक उडानको लागि ठिक्क परेको नेपाल वायुसेवा निगमको बोइङ ७५७ नाइन एन(एसीबी)मा घटेको अनौठो घटनाबारे निगमका इन्जिनियरिङ डाइरेक्टर मुकुन्द जोशीले यसरी सुनाउनुभयो ।
बिहान नौ बजे उडाउन लागेको जहाजमा मुसा पसे थियो । त्यसपछि सुरुभएको उक्त घटनाले सोमबार पूर्णरुपमा जहाज ग्राउण्डेड गरिएको थियो । जहाजभित्र एउटा मुसा पसेपछि सेडयुअलअनुसार सोमबारको बैंककको उडानसमेत रद्द गर्नुप¥यो । उडान रद्ध भएपछि सबै यात्रुहरु थाइ एयरवेजबाट बैंकक उडान गरिएको थियो ।
‘जहाजको खाना राख्ने वाकस खोल्दा मुसा उफ्रिएर कता गयो पत्तो भएन । त्यसैले बैंककको उडान नै रोकेर मुसाको खोजी गरेका हौंै; उहाँले आर्थिक दैनिकसँग भन्नुभयो–‘मुसा पनि सानो रहेछ उफ्रिएर बाहिर गयो की जहाजको क्याविनभित्र छि¥यो भन्ने पत्ता नलागेपछि उडान रद्ध गर्नुको विकल्प थिएन ।’ यो समाचार तयार हुदाँसम्म मुसा कहाँ गयो भन्ने अत्तोपत्तो छैन ।
विमान क्याप्टेन रवीन्द्रकुमार शेरचन र युवराजकुमार भट्टराईले उडाउन लागेको सो जहाजमा मुसा पसेपछि इन्जिनियरिङको टिम दिनभर डिउटी नै बसेर खोजी गरेको हो । ढोका खोलिएको हुनाले मुसा बाहिर भाग्यो की क्याविनभित्र छि¥यो भन्ने थहाँ नभएको बताइएको छ । जहाजलाई ह्यांगरमा राखेर २÷२ घण्टाको फरकमा खोजी गर्दा पनि मुसा नभेटिएपछि सबै कर्मचारीहरुमा तनावै–तनावमा उत्पन्न भएको थियो । जोशीका अनुसार खोजीको क्रममा मुसा मार्नेविष प्रयोग गर्न नपाइने भएकोले पासो पनि थापिएको थियो । 
सोमबार ग्राउन्डेड जहाज निगमको हाल सञ्चालनमा रहेको एउटै मात्र अन्तराष्ट्रिय उडानको गर्ने जहाज हो । सोही जहाज बैंककबाट फर्किपछि राती ११ बजेको लागि मलेसियाको क्वालालम्पुरको सेडयुल थियो । मुसा नभेटिए पनि क्वालालम्पुर उडान भने नरोकिने जोशीले जानकारी दिनुभयो ।
दुईमध्ये निगमको अर्को बोइङ मर्मत गर्न तीन हप्ताका लागि इजरायल पठाइएको छ ।  यसअघि गत साउन ३१ मा  स्वीडेनको स्टकहोमबाट अमेरिकाको सिकागो जान लागेको जहाजमा पनि मुसा देखिएपछि  एसएएस एयरलाइन्सको विमान उडान करिब ३६ घण्टासम्म अवरोध भएको थियो । 

No comments: